डोल्पा कारागारबाट आठ कैदी फरार प्रकरणः स्वतन्त्र छानबिन समिति गठन गर्न प्रमुख दलहरुको माग

साझा कर्णाली | २०८३ कार्तिक १७ गते सोमवार

 


कात्तिक १६,
डोल्पाः जिल्ला सदरमुकाम दुनैस्थित जिल्ला कारागारबाट सुरुङ खनेर आठ जना कैदीबन्दी फरार भएको घटनाप्रति जिल्लाका तीन प्रमुख राजनीतिक दलले गम्भीर ध्यानाकर्षण जनाएका छन् । घटनाको निष्पक्ष छानबिन गर्न माथिल्लो तहबाट स्वतन्त्र र शक्तिशाली छानबिन समिति गठन गर्न उनीहरुले माग गरेका छन् ।

नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टी जिल्ला नेतृत्वले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै कारागारबाट कैदीबन्दी फरार हुनुले जिल्लाको सुरक्षा व्यवस्थामाथि गम्भीर प्रश्न उठाएको बताएका छन् । चौबीसै घण्टा नेपाल प्रहरीको प्रत्यक्ष सुरक्षा घेरामा रहने कारागारबाट बन्द कोठामा रहेका कैदीबन्दी सुरुङ खनेर भाग्न सफल हुनुले सुरक्षा व्यवस्थाको कमजोरी र सम्भावित लापरबाही उजागर गरेको उनीहरुको भनाइ छ ।

विभिन्न अपराधमा सजाय काटिरहेका कैदीबन्दीहरु सुरुङ खनेर भाग्न सफल हुनु सामान्य घटना नभएको उल्लेख गर्दै दलहरुले कारागारको सुरक्षा व्यवस्थापन, नियमित निगरानी र जिम्मेवार निकायको भूमिकामाथि छानबिन हुनुपर्ने जनाएका छन् । उनीहरूले फरार कैदीबन्दीहरू पुनः समाजमा अपराधमा संलग्न हुन सक्ने जोखिम रहेकाले तत्काल खोजी गरी पक्राउ गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन् ।

संयुक्त विज्ञप्तिमा घटनाको सत्यतथ्य छानबिन गरी दोषी देखिएकालाई आवश्यक कारबाही गर्न तथा जिल्लाको शान्ति सुरक्षामा खेलबाड नगरी मजबुत र भरोसायोग्य सुरक्षा व्यवस्था मिलाउन माग गरिएको छ । विज्ञप्तिमा नेपाली कांग्रेसका बबि किशोर गुरुङ, नेकपा एमालेका लंकबहादुर रोकाया र नेकपा माओवादी केन्द्रका हिक्मतबहादुर शाहीले हस्ताक्षर गरेका छन् ।यसैबीच, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) डोल्पाले पनि घटनाबारे प्रमुख जिल्ला अधिकारीको ध्यानाकर्षण गराएको छ ।

पार्टीले ध्यानाकर्षण पत्र बुझाउँदै फरार कैदीबन्दीको खोजीलाई पहिलो प्राथमिकता दिन र घटनाको निष्पक्ष छानबिन गर्न माग गरेको छ । रास्वपाले गल्ती जहाँबाट भएको भए पनि जवाफदेहिता हुनुपर्ने उल्लेख गर्दै आरोप–प्रत्यारोपभन्दा पहिले फरार कैदीबन्दीको खोजी र जिल्लाको सुरक्षा सुनिश्चित गर्नुपर्ने जनाएको छ । नियमित अनुगमन र सुरक्षा व्यवस्थामा कमजोरी थियो कि थिएन भन्ने विषय निष्पक्ष छानबिनबाट स्पष्ट हुनुपर्ने उसको माग छ ।

पार्टीले जिल्ला प्रशासन तथा प्रहरी कार्यालयलाई घटनाको निष्पक्ष छानबिन गरी भविष्यमा यस्ता घटना दोहोरिन नदिन आवश्यक सुधार गर्न आग्रह गरेको छ । साथै फरार व्यक्तिबाट जिल्लावासीमा कुनै अप्रिय घटना हुन सक्ने जोखिमलाई ध्यानमा राख्दै सुरक्षा निकायलाई विशेष सतर्कता अपनाउन पनि आग्रह गरेको छ ।