

मंशीर ११,
सुर्खेत: दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत विभिन्न खेलका प्रतिस्पर्धा जारी रहँदा तेस्रो दिनसम्म बाग्मती प्रदेश पदक तालिकाको शीर्ष स्थानमा पुगेको छ । मंसिर ८ गतेदेखि सुरु भएका खेलमा पौडी, फुटबल, क्रिकेट, बास्केटबल, टेनिस, जिम्न्यास्टिकलगायतका विधामा प्रतिस्पर्धा भएका छन् ।
मंसिर ११ गतेसम्मको विवरणअनुसार बागमती प्रदेशले १२ स्वर्ण, ७ रजत र ७ कांस्य गरी २६ पदक जितेको छ । एनआरएनएले ९ स्वर्ण, ३ रजत र ३ कांस्य गरी १५ पदक जित्दै दोस्रो स्थानमा छ । त्रिभुवन आर्मी क्लबले ६ स्वर्ण, १० रजत र १३ कांस्य गरी २९ पदक जितेको छ । कुल पदक संख्यामा सबैभन्दा अगाडि रहे पनि स्वर्ण पदक कम भएकाले आर्मी तेस्रो स्थानमा छ ।
नेपाल प्रहरीले ४ स्वर्ण, ११ रजत र १२ कांस्य गरी २७ पदक जितेको छ । कोशी प्रदेशले दुई स्वर्ण तथा सुदूरपश्चिमले एक स्वर्ण जितेका छन् । तेस्रो दिनसम्म एपीएफ, गण्डकी, कर्णाली, लुम्बिनी र मधेस प्रदेशले पदक जित्न सकेका छैनन् ।
प्रतियोगितामा पौडीमा सबैभन्दा बढी चर्चा राष्ट्रिय कीर्तिमानको भएको छ । तीन दिनमा पौडीमा ११ वटा राष्ट्रिय कीर्तिमान सुधारिएका छन् । बाग्मतीका अभिव प्रधानले पुरुषतर्फ विभिन्न विधामा कीर्तिमानसहित स्वर्ण जितेका छन् । उनको व्यक्तिगत स्वर्ण संख्या नौ पुगेको छ ।

एनआरएनएकी १५ वर्षीया लिली बोहराले पनि पौडीमा उत्कृष्ट प्रदर्शन गरेकी छन् । उनले ४०० मिटर व्यक्तिगत मिड्ले, ८०० मिटर फ्रिस्टाइल, १ हजार ५०० मिटर फ्रिस्टाइल र २०० मिटर व्यक्तिगत मिड्लेमा स्वर्ण जितेकी छन् । उनको स्वर्ण संख्या पाँच पुगेको छ ।
कोशीका विकास कुमालले पुरुष ५० र २०० मिटर ब्रेस्टस्ट्रोकमा राष्ट्रिय कीर्तिमानसहित स्वर्ण जितेका छन् । नेपाली सेनाकी ओलम्पियन दुयाना लामाले पनि महिला १०० मिटर बटरफ्लाई, २०० मिटर ब्रेस्टस्ट्रोक र ४ गुणा २०० मिटर फ्रिस्टाइल रिलेमा स्वर्ण जितेकी छन् ।
पुरुष फुटबलमा आयोजक कर्णाली प्रदेशको प्रदर्शन भने कमजोर देखिएको छ । पहिलो दिन नेपाल पुलिस क्लबले कर्णालीलाई पराजित गरेको थियो । दोस्रो दिन गण्डकीले कर्णालीलाई ५–० गोलले हराएपछि आयोजक टोली समूह चरणबाटै बाहिरिएको छ । यसैगरी नेपाली सेनाले लुम्बिनीलाई ३–० गोलले पराजित गरेको थियो भने कोशी र बागमतीबीचको खेल २–२ गोलको बराबरीमा सकिएको थियो । एपीएफले मधेसलाई ३–१ गोलले हराएको थियो ।

पुरुष क्रिकेटमा त्रिभुवन आर्मी क्लबले गण्डकीलाई ६७ रनले पराजित गरेको छ । आर्मीले पहिले ब्याटिङ गर्दै नौ विकेटको क्षतिमा १७७ रन बनाएको थियो । जवाफमा गण्डकी ११० रनमै समेटियो । अर्को खेलमा आयोजक कर्णालीले सुदूरपश्चिमलाई ६ विकेटले हराएको छ । सुदूरपश्चिमले दिएको १२८ रनको लक्ष्य कर्णालीले १३.३ ओभरमा चार विकेट गुमाएर पूरा गरेको थियो । कर्णालीका विपिन रावलले ३५ बलमा ६० रन बनाएका थिए ।
महिला क्रिकेटमा पहिलो दिन नेपाली सेनाले कोशीलाई ६ विकेटले र एपीएफले लुम्बिनीलाई १५८ रनले पराजित गरेका थिए । दोस्रो दिन बागमतीले सुदूरपश्चिमलाई सात विकेटले तथा कोशीले कर्णालीलाई ४९ रनले हराएका थिए । तेस्रो दिन मधेसले लुम्बिनीलाई पाँच विकेटले पराजित गरेको थियो ।
महिला बास्केटबलमा ५×५ र ३×३ गरी दुई विधामा प्रतिस्पर्धा भइरहेको छ । ५×५ मा एपीएफ, सुदूरपश्चिम, नेपाल पुलिस, बागमती, गण्डकी र नेपाली सेनाले विभिन्न खेलमा जित निकालेका छन् । ३×३ मा पनि नेपाली सेना, बागमती, एपीएफ, कर्णाली, सुदूरपश्चिम र नेपाल प्रहरीले जित हासिल गरेका छन् । दुवै विधामा क्वार्टरफाइनल चरणका लागि टोली छनोट भएका छन् ।
जिम्न्यास्टिकमा महिलातर्फ ४२ र पुरुषतर्फ ४८ गरी ९० खेलाडी सहभागी छन् । टेनिस प्रतियोगिता बर्दियाको गुलरियामा सञ्चालन भइरहेको छ । मंसिर ११ गतेदेखि बक्सिङ, फुल कन्ट्याक्ट कराँते र शारीरिक सुगठनका प्रतिस्पर्धा पनि सुरु हुने तालिका रहेको छ ।
दशौँ राष्ट्रिय खेलकुदमा सात प्रदेश, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र एनआरएनए गरी ११ टोली सहभागी छन् । प्रतियोगितामा ३२ खेलका ३८४ इभेन्ट समावेश छन् । औपचारिक उद्घाटन मंसिर १६ गते वीरेन्द्रनगरमा हुने कार्यक्रम छ । केही खेल भने उद्घाटनअघि नै सुरु भएका छन् ।