
मंसिर १०,
डोल्पा : ‘मेरो शरीर, मेरो स्वास्थ्य, मेरो अधिकार’ भन्ने मूल नारासहित डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–१, कोट बगरमा पहिलोपटक यौन तथा प्रजनन स्वास्थ्य तथा अधिकार मेला–२०८३ सम्पन्न भएको छ।
किशोरी सशक्तीकरण परियोजनाअन्तर्गत कर्णाली एकीकृत विकास तथा अनुसन्धान केन्द्र (किर्डाक) नेपाल, डोल्पाको आयोजनामा मेला सम्पन्न भएको हो। किशोरकिशोरीलाई यौन तथा प्रजनन स्वास्थ्य, अधिकार, बालविवाह, महिनावारी स्वच्छता, पोषण तथा लैङ्गिक विभेदका विषयमा सचेत गराउने उद्देश्यले आयोजना गरिएको मेलामा विद्यार्थी, शिक्षक, अभिभावक, जनप्रतिनिधि तथा विभिन्न सरोकारवाला निकायका प्रतिनिधिको उल्लेख्य सहभागिता रहेको थियो।

किर्डाक नेपालकी केन्द्रीय अध्यक्ष सम्झनाकुमारी मल्लको अध्यक्षतामा सम्पन्न कार्यक्रममा साझेदार दातृ संस्था जर्मनीका नागरिक जोन्स प्रमुख अतिथिका रूपमा सहभागी थिए। कार्यक्रममा किर्डाक नेपालका कार्यकारी निर्देशक गोविन्दबहादुर शाही, महासचिव अर्जुन हिराचन, प्लान इन्टरनेसनल नेपाल काठमाडौंकी भूमिका श्रेष्ठ, सुर्खेतका सन्तोष पुलामी, किर्डाक नेपाल डोल्पाका प्रमुख सुरेन्द्र ढकाललगायतको उपस्थिति थियो।
मेलामा त्रिपुरासुन्दरी नगरपालिकाका १४ र ठूलीभेरी नगरपालिकाका ५ गरी १९ विद्यालयका शिक्षक, विद्यालय व्यवस्थापन समितिका प्रतिनिधि, वडाध्यक्ष तथा कक्षा ६ देखि १० सम्म अध्ययनरत २५० भन्दा बढी विद्यार्थी सहभागी भएका थिए। पहिलोपटक आयोजना गरिएको मेलामा अभिभावकको समेत बाक्लो उपस्थिति रहेको थियो।

मेलाको अवसरमा बालविवाह अन्त्य, शिक्षा, स्वास्थ्य, पोषण तथा प्रजनन स्वास्थ्य अधिकारसम्बन्धी सन्देश प्रवाह गर्न विद्यार्थीले विभिन्न सचेतनामूलक नारासहित कोट बगर बजारमा प्रभातफेरी गरेका थिए।
‘बालविवाह रोकौँ, समृद्ध समाज निर्माण गरौँ’, ‘पढ्ने–लेख्ने उमेरमा विवाह होइन, शिक्षित बनौँ’, ‘आफ्नो स्वास्थ्य आफैँ चिनौँ, सुरक्षित भविष्य सुनिश्चित गरौँ’, ‘महिनावारीमा पोषणयुक्त खाना खाऔँ, स्वस्थ जीवन बिताऔँ’ र ‘बालविवाह होइन, शिक्षा र अवसर रोजौँ’ लगायतका नारासहित विद्यार्थीले बजार परिक्रमा गरेका थिए।

मेलामा सहभागी विभिन्न विद्यालयका किशोरकिशोरीले यौन शिक्षा, किशोरावस्थाको स्वास्थ्य, प्रजनन स्वास्थ्य तथा अधिकारसम्बन्धी कथा, कविता, निबन्ध, सडक नाटक तथा सन्देशमूलक नृत्य प्रस्तुत गरेका थिए।
विद्यार्थीले आफ्ना कला, सीप र प्रतिभामार्फत बालविवाह, महिनावारी स्वच्छता, किशोरावस्थाको स्वास्थ्य, लैङ्गिक विभेद तथा प्रजनन अधिकारका सवाललाई सिर्जनात्मक ढङ्गले प्रस्तुत गरेका थिए। उनीहरूको प्रस्तुतीले मेलालाई मनोरञ्जनात्मक मात्र नभई सचेतनामूलक र सन्देशमूलकसमेत बनाएको थियो।
कार्यक्रमका प्रमुख अतिथि जोन्सले विभिन्न विद्यालयका किशोरकिशोरीले प्रस्तुत गरेका कथा, कविता, नृत्य तथा सडक नाटक अवलोकन गर्न पाउँदा आफू निकै खुसी भएको बताए।
विद्यार्थीले आफ्नो प्रतिभा र कलामार्फत यौन शिक्षा, स्वास्थ्य तथा प्रजनन अधिकारजस्ता संवेदनशील एवं महत्त्वपूर्ण विषयमा समाजलाई दिएको सन्देश प्रशंसनीय रहेको उल्लेख गर्दै उनले यस्ता अभियानले सामाजिक रूपान्तरणमा महत्त्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरे।

किर्डाक नेपालकी केन्द्रीय अध्यक्ष सम्झनाकुमारी मल्लले संस्थाले सन् २०११ देखि विभिन्न क्षेत्रमा काम गर्दै आएको बताइन्। डोल्पामा प्लान इन्टरनेसनल नेपालसँग पुनः सहकार्य गरी किशोरकिशोरी सशक्तीकरण परियोजना सञ्चालन गरिएको जानकारी दिँदै उनले परियोजनाले समाजमा विद्यमान अन्धविश्वास, कुरीति तथा हिंसाबाट किशोरकिशोरीलाई जोगाउन सहयोग पुर्याउने बताइन्।
किशोरकिशोरीले ढुक्कसँग आफ्ना समस्या र मनका कुरा राख्न सक्ने वातावरण निर्माण गर्ने, सामाजिक अन्धविश्वास तथा कुरीति चिर्ने, उनीहरूको आवाजलाई प्रस्फुटित गर्ने र अधिकारसम्बन्धी सचेतना अभिवृद्धि गर्ने उद्देश्यले परियोजना सञ्चालन गरिएको अध्यक्ष मल्लले स्पष्ट पारिन्।
अभियानमा डोल्पाली अभिभावक, स्थानीय सरकार तथा अन्य सरोकारवाला निकायबाट प्राप्त सहयोगप्रति आभार व्यक्त गर्दै उनले आगामी दिनमा अझ प्रभावकारी रूपमा अभियान अघि बढाउन थप सहयोग र सहकार्यको अपेक्षा गरिन्।

किर्डाक नेपालका कार्यकारी निर्देशक गोविन्दबहादुर शाहीले संस्थाले विगतदेखि स्वास्थ्य, मानवअधिकार संरक्षण तथा कर्णालीको समग्र पूर्वाधार विकासका क्षेत्रमा विभिन्न अभियान सञ्चालन गर्दै आएको बताए।
ग्रामीण क्षेत्रमा अझै पनि चेतनाको अभाव र यौन शिक्षाको कमीका कारण धेरै किशोरकिशोरी आफ्नो स्वास्थ्य तथा अधिकारबारे पर्याप्त जानकारीबाट वञ्चित हुने गरेको उनले बताए। यौन तथा प्रजनन स्वास्थ्यसम्बन्धी ज्ञानको कमीका कारण आमा तथा नवजात शिशुले गर्भावस्था, सुत्केरी तथा जन्मका क्रममा अकालमै ज्यान गुमाउनुपर्ने अवस्था सिर्जना हुनु गम्भीर विषय भएको उनको भनाइ थियो।

यौन तथा प्रजनन स्वास्थ्य मानव जीवनको प्राकृतिक प्रक्रिया तथा सृष्टि सञ्चालनको महत्त्वपूर्ण चक्र भए पनि समाजमा यसलाई अझै पनि लाज, घृणा तथा हिंसासँग जोडेर हेर्ने प्रवृत्ति रहेको उनले बताए। यस्तो सामाजिक सोच र कलङ्क चिर्न विद्यालयदेखि समुदायको तल्लो तहसम्म यौन शिक्षा, प्रजनन स्वास्थ्य तथा अधिकारसम्बन्धी सचेतनामूलक अभियान सञ्चालन गर्न आवश्यक रहेको निर्देशक शाहीले जोड दिए।
प्रत्येक किशोरकिशोरीलाई आफ्नो स्वास्थ्य, शरीर र अधिकारबारे सचेत बनाउनुका साथै आमा तथा नवजात शिशुले सुत्केरी र जन्मका क्रममा अकालमै ज्यान गुमाउनुपर्ने अवस्थाको अन्त्य गर्नु अभियानको प्रमुख उद्देश्य रहेको उनले स्पष्ट पारे।
जर्मन सहयोग तथा प्लान इन्टरनेसनल नेपालको साझेदारीमा सञ्चालित किशोरी सशक्तीकरण परियोजनाअन्तर्गत आयोजना गरिएको मेलाले बालविवाह न्यूनीकरण, यौन तथा प्रजनन स्वास्थ्य शिक्षा, किशोरकिशोरीको अधिकार र सामाजिक कुरीति अन्त्यका सवाललाई विद्यालय तथा समुदायस्तरसम्म पुर्याउने लक्ष्य राखेको आयोजकले जनाएको छ।
कार्यक्रममा सामाजिक तथा सांस्कृतिक क्षेत्रमा योगदान पुर्याउँदै आएका विभिन्न मठमन्दिरका ६ जना धामीलाई सम्मान गरिएको थियो। त्यसैगरी मेलामा सक्रिय सहभागिता जनाउने १९ वटै विद्यालयलाई सम्मानपत्र प्रदान गरिएको थियो।

डोल्पामा पहिलोपटक आयोजना गरिएको यौन तथा प्रजनन स्वास्थ्य तथा अधिकार मेलाले किशोरकिशोरीका स्वास्थ्य, शिक्षा, अधिकार र सुरक्षित भविष्यसँग जोडिएका सवाललाई सार्वजनिक बहसमा ल्याउनुका साथै अभिभावक तथा समुदायलाई समेत सचेत गराउने प्रभावकारी माध्यम बनेको आयोजकको भनाइ छ।
मेलामा विद्यार्थीको सक्रिय सहभागिता, सिर्जनात्मक प्रस्तुति तथा अभिभावकको उल्लेख्य उपस्थितिले बालविवाह अन्त्य, यौन तथा प्रजनन स्वास्थ्यबारे खुला संवाद र किशोरकिशोरीको अधिकार सुनिश्चित गर्न समुदायस्तरमा थप अभियानको आवश्यकता रहेको सन्देश दिएको छ।
