सुरक्षित शौचालय र स्वच्छताबारे मोतिपुरमा जनचेतना, १७ घरधुरीलाई सामग्री वितरण

साझा कर्णाली | २०८३ मङ्सिर ५ गते शुक्रवार

मंसिर ०४,

डोल्पा : ठूलीभेरी नगरपालिका–९ मोतिपुरमा विभिन्न जनचेतनामूलक तथा सरसफाइसम्बन्धी कार्यक्रम आयोजना गरी विश्व शौचालय दिवस–२०२६ मनाइएको छ। “सुरक्षित शौचालय, समान भविष्य” (Safe Toilets. Equal Future.) भन्ने मूल नाराका साथ बिहीबार बिश्व सौचालय दिवस मनाइएको हो।

बिश्व सौचालय दिवस कार्यक्रममा मोतिपुरस्थित दलित बस्तीका १७ घरधुरीलाई शौचालय सरसफाइका आवश्यक सामग्री वितरण गरिएको वास संयोजक तिलक आरसिले जानकारी दिए। आरसिका अनुसार ठूलीभेरी नगरपालिका खानेपानी, सरसफाइ तथा स्वच्छता (वास) शाखाको आयोजनामा नयाँ शौचालय निर्माण तथा पुराना शौचालयको सुधार र स्तरोन्नतिका लागि आवश्यक प्यान सेट समेत हस्तान्तरण गरिएको बताए ।

कार्यक्रमअन्तर्गत स्थानीय बस्तीमा रहेका शौचालयहरूको स्थलगत अनुगमन तथा निरीक्षण गर्नुका साथै टोल सरसफाइ र सुरक्षित शौचालय प्रयोगसम्बन्धी जनचेतनामूलक अभिमुखीकरण सञ्चालन गरिएको थियो। वास शाखाका कर्मचारीहरूले शौचालयको नियमित प्रयोग, उचित सरसफाइ, व्यक्तिगत स्वच्छता तथा वातावरणीय स्वच्छता कायम राख्नुपर्ने विषयमा स्थानीय बासिन्दालाई जानकारी गराएका थिए।

दिवसमा विशेषगरी विपन्न तथा पछाडि पारिएका समुदायमा सुरक्षित शौचालयको पहुँच विस्तार गर्नुका साथै सरसफाइ तथा स्वच्छतासम्बन्धी व्यवहारमा सकारात्मक परिवर्तन ल्याउन सहयोग पुग्ने अपेक्षा गरिएको ठुलीभेरी नगरपालिकाका नगर प्रमुख श्वर्ण कुमार बुढाले बताए।  खुला दिसामुक्त अवस्थालाई दिगो बनाउँदै सबै नागरिकलाई समान रूपमा आधारभूत सरसफाइ सेवाको पहुँच सुनिश्चित गर्न कार्यक्रम प्रभावकारी हुने आयोजकको विश्वास छ।

सुरक्षित शौचालय सुविधा मात्र नभई मानव मर्यादा, स्वास्थ्य र समानताको आधारसमेत हो। सुरक्षित शौचालय, स्वस्थ समुदाय र समान भविष्य निर्माणका लागि स्थानीय तह, समुदाय र नागरिकबीच निरन्तर सहकार्य आवश्यक रहेको नगर प्रमुख बुढाले बताए।

कार्यक्रमको अध्यक्षता ठूलीभेरी नगरपालिकाका नगरप्रमुख श्वबर्ण कुमार बुढाले गर्नुभएको थियो। कार्यक्रममा ठूलीभेरी नगरपालिका–९ का कार्यवाहक वडा अध्यक्ष विशेष अतिथिका रूपमा सहभागी हुनुभएको थियो। कार्यक्रममा स्थानीय जनप्रतिनिधि, बस्तीका नागरिक, लाभग्राही घरधुरी तथा वास शाखाका कर्मचारीहरूको सक्रिय सहभागिता रहेको थियो।