

कात्तिक २२,
सुर्खेत: फूलको सुगन्धसँगै भविष्यको सपना फुलाइरहेका छन्, सुर्खेतका समीर खत्री । तिहार आउँदा मात्रै फूलको माग बढ्ने र बजारमा फूलको कारोबार हुने सामान्य बुझाइभन्दा फरक उनको दैनिकी छ । उनका लागि फूलखेती कुनै चाडपर्वको मौसमी व्यवसाय होइन, वर्षैभरि चल्ने व्यावसायिक कर्म हो । भेरीगंगा नगरपालिका–११ रामघाटस्थित आफ्नै कृषि फार्ममा फुलेका फूललाई उनले नेपालका विभिन्न सहर हुँदै दुबईको बजारसम्म पुर्याएका छन् ।
भेरीगंगा नगरपालिका-६, नक्कलेका समीरले अहिले रामघाटमा करिब २४ रोपनी क्षेत्रफलमा फूलखेती गरिरहेका छन् । उनी आफूले मात्रै फूल उत्पादन गर्ने काममा सीमित छैनन् । विभिन्न स्थानका किसानलाई प्राविधिक सहयोग गर्दै सामूहिक उत्पादनमा पनि जोडिएका छन् । अन्य किसानसँगको सहकार्यमा करिब २०० रोपनी क्षेत्रफलमा फूल उत्पादनका लागि समन्वय र सहजीकरण गर्दै आएका छन् ।
कृषि विषयमा बीएस्सी एजी अध्ययन गरेका समीरका लागि फूलखेती केवल आम्दानीको माध्यम मात्रै होइन, कृषि पेसाप्रतिको सामाजिक दृष्टिकोण बदल्ने प्रयास पनि हो । कृषि पढेका युवाले पनि आफ्नै क्षेत्रमा राम्रो काम गर्न, सम्मान कमाउन र आर्थिक रूपमा सफल हुन सक्छन् भन्ने सन्देश दिन उनी चाहन्छन् । कृषि पेसालाई कम आँक्ने प्रवृत्तिलाई चिर्दै यसैबाट सम्भावना र सफलता हासिल गर्न सकिन्छ भन्ने उदाहरण बन्ने उनको प्रयास छ ।
उनको फूलखेतीको विशेषता तिहारलाई मात्रै लक्षित गरेर उत्पादन गर्नु होइन । तिहारमा फूलको माग र कारोबार बढी हुने भए पनि उनी वर्षभरि नै फूल उत्पादन गरिरहेका छन् । फूलको बजार तिहारमा मात्रै सीमित नरहेको र नियमित उत्पादन गर्न सके व्यवसायलाई निरन्तरता दिन सकिने उनको बुझाइ छ ।

यस वर्ष उनले फूलको थोक मूल्य प्रतिकिलो ३०० रुपैयाँ र उपभोक्तालाई प्रत्यक्ष बिक्री गर्दा ५०० रुपैयाँ निर्धारण गरेका छन् । बजारमा माग बढेको भन्दै मूल्य मनपरी बढाउने पक्षमा उनी छैनन् । किसान, व्यापारी र उपभोक्ता सबैलाई ध्यानमा राखेर मूल्य निर्धारण गरेको समिरको भनाइ छ । ‘मूल्य धेरै बढाउँदा उपभोक्तालाई समस्या हुन्छ । त्यस्तो अवस्थामा भारतबाट फूल आउन सक्छ र त्यसले यहाँका किसानलाई नै असर गर्छ,’ उनी भन्छन् । त्यसैले मूल्यलाई सन्तुलित राखेर स्थानीय उत्पादनको बजार जोगाउनुपर्ने उनको धारणा छ ।
समीरले उत्पादन गरेका फूल सुर्खेतमा मात्रै खपत हुँदैनन्, नेपालका पुर्वी क्षेत्रका विभिन्न ठाउँमा झापा, मोरङ, धरान, इटहरी, वीरगन्ज, पोखरा र काठमाडौंसम्म उनका फूल पुग्ने गरेका छन् । स्थानीय बजारमा पनि बिक्री राम्रो रहेको उनी बताउँछन् । यसैबीच करिब ७०० किलो फूल दुबईको सजिलो बजारसम्म पुगेको उनले बताएका छन् । यसले स्थानीय स्तरमा गरिएको फूलखेतीको बजार सम्भावना देशभित्र मात्रै सीमित नरहेको भन्दै उनले माग धान्नै मुस्किल भएको बताए ।
फूलखेतीमा प्रविधिको प्रयोग र उत्पादन व्यवस्थापनमा पनि उनी आफैँ दक्ष छन् । त्यसैले प्राविधिक पक्षमा धेरै सहयोग लिनुपर्ने अवस्था नरहेको उनको भनाइ छ । यद्यपि कृषि शाखा तथा कृषि कार्यालयबाट प्रत्यक्ष र अप्रत्यक्ष रूपमा आर्थिक तथा प्राविधिक सहयोग प्राप्त भइरहेको उनले बताए ।
उत्पादनमा अहिले ठूलो समस्या नरहे पनि बजार व्यवस्थापन भने चुनौतीपूर्ण रहेको समीरको अनुभव छ । फूलको मूल्य सधैँ एकनासको हुँदैन । कहिले माग बढ्ने त कहिले घट्ने भएकाले मूल्यमा उतारचढाव भइरहन्छ । उत्पादन गर्न सकिए पनि बजारको अवस्था अनुमान गर्न कठिन हुने उनको भनाइ छ ।
व्यावसायिक कृषि गर्न चाहने युवालाई समीर अरूले गरेको देखेर मात्रै व्यवसाय सुरु नगर्न सुझाव दिन्छन् । आफूलाई कुन काममा रुचि छ, के गर्न मन पर्छ र कुन क्षेत्रमा काम गर्न सकिन्छ भन्ने पहिचान गर्नुपर्ने उनको भनाइ छ । ‘व्यवसाय सुरु गर्नुअघि त्यसबारे राम्रोसँग बुझ्नुपर्छ । अनुभवी किसान र व्यवसायीसँग कुरा गरेर जानकारी लिनुपर्छ । तयारीबिना अरूको देखासिकीमा लाग्दा समस्या हुन सक्छ,’ उनी भन्छन् ।
कृषि पढाइलाई व्यवहारमा उतार्दै आफ्नै ठाउँमा उद्यम गरिरहेका समीरको प्रयासले युवाका लागि सम्भावनाको अर्को बाटो देखाएको छ । रोजगारी खोज्दै विदेशिनुपर्ने बाध्यताबीच आफ्नै माटोमा श्रम, सीप र लगानी गर्न सके व्यावसायिक सफलता हासिल गर्न सकिन्छ भन्ने सन्देश उनको फूलखेतीले दिइरहेको छ ।