डोल्पामा १२औँ उद्योग दिवस : स्थानीय उत्पादनको बजारीकरणदेखि अनुदान वितरणसम्म उठ्यो प्रश्न

जैतुन अनलाइन | २०८३ मङ्सिर १० गते बुधवार

मंसिर ०९,

डोल्पा :‘औद्योगिक वातावरण सुधार, दिगो अर्थतन्त्रको आधार’ भन्ने मूल नारासहित डोल्पामा १२औँ उद्योग दिवस मनाइएको छ। उद्योग उपभोक्ता हित संरक्षण कार्यालय डोल्पाको आयोजनामा सम्पन्न कार्यक्रममा जिल्लाका उद्योगी, व्यवसायी, उद्यमी तथा सरोकारवालाले स्थानीय उत्पादनको बजारीकरण, उद्योग सञ्चालनका समस्या, अनुदान वितरणमा देखिएको विभेद तथा औद्योगिक पूर्वाधारको अभावलगायत विषयमा गम्भीर चासो व्यक्त गरेका छन्।

कार्यक्रममा जिल्ला घरेलु महासंघका अध्यक्ष राम बूढाले उद्योगी तथा उद्यमीलाई घरेलु महासंघमा समेत उद्योग दर्ता गराउन आग्रह गर्दै जिल्लामा घरेलु उद्योगको विकास र प्रवर्द्धनका लागि सबै पक्ष सक्रिय हुनुपर्ने बताए।

त्रिपुरासुन्दरी नगरपालिका–३ स्थित सुन्दह फलफूल तथा नर्सरी उद्योगका सञ्चालक रञ्जित बोहोराले जिल्लाभित्रै उत्पादन हुने बिरुवालाई प्राथमिकता दिनुपर्ने बताए। बाहिरबाट आयात हुने बिरुवालाई निरुत्साहित गर्दै स्थानीय उद्यमीले उत्पादन गरेका बिरुवा खरिद गर्ने वातावरण बनाउनुपर्ने उनको भनाइ थियो।

उत्पादित बिरुवाले बजार नपाउँदा उद्यमीहरू समस्यामा परेको उल्लेख गर्दै बोहोराले स्थानीय उत्पादनको बजारीकरणमा सम्बन्धित निकायले विशेष ध्यान दिनुपर्ने बताए। स्थानीय तहबाट आवश्यक समन्वय र सहयोग नपाए कृषकहरू आन्दोलनमा उत्रिन बाध्य हुन सक्ने चेतावनीसमेत उनले दिए।

त्यस्तै, ठुलीभेरी नगरपालिका–८ स्थित लक्ष्मी फलफूल प्रशोधन उद्योगका प्रतिनिधि गोकुल डाँगीले संघीयता कार्यान्वयनमा आएयता घरेलु कार्यालयबाहेक अन्य स्थानीय निकायबाट उद्योगले प्रभावकारी अनुदान तथा सहयोग पाउन नसकेको गुनासो गरे। कृषि क्षेत्रसँग सम्बन्धित अनुदान वितरणमा स्याउ जोन कार्यालयबाहेक अन्य निकायको भूमिका प्रभावकारी हुन नसकेको उनको भनाइ थियो।

अनुदान वितरण गर्दा पहुँच र शक्तिका आधारमा नभई उद्योग तथा उद्यमीको वास्तविक अवस्था, आवश्यकता र मूल्यांकनका आधारमा सहयोग गर्नुपर्ने डाँगीले बताए। डोल्पो सिबकथोर्न प्रशोधन उद्योगका प्रतिनिधिले भने जिल्लामा उद्योग सञ्चालनका लागि आवश्यक औद्योगिक ग्राम स्थापना गर्न सम्बन्धित निकायसँग माग गरे।

मिलन अचार उद्योगकी सञ्चालक मिलन शाहीले राज्यले उद्यमीलाई आवश्यक सुविधा, सहुलियत र प्रोत्साहन दिन नसक्दा अधिकांश उद्यमी उद्योग दर्ता गर्नसमेत इच्छुक नरहेको बताइन्।

उद्योगी दशरथ रोकायाले जिल्लाका विभिन्न कार्यालयबाट सीपमूलक तालिम सञ्चालन भए पनि त्यसको व्यावहारिक प्रयोग प्रभावकारी हुन नसकेको बताए। डोल्पाका नाममा आउने कार्यक्रमबाट प्राप्त सेवा–सुविधा बाहिरका व्यक्तिले लिने गरेको गुनासो गर्दै उनले स्थानीय उद्यमीलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिए।

सञ्चारमाध्यमको प्रचारप्रसारका कारण डोल्पाको स्याउले बजार पाउन थाले पनि मागअनुसार उत्पादन गर्न नसकिएको रोकायाले बताए। उत्पादन वृद्धि र बजार विस्तारसँगै स्थानीय उद्यमीको क्षमता विकासमा समेत ध्यान दिनुपर्ने उनको भनाइ थियो।

उद्योग वाणिज्य संघ डोल्पाका जिल्ला अध्यक्ष लालीमान बूढाले जिल्लामा उद्योग सञ्चालनको पर्याप्त सम्भावना भए पनि आवश्यक पूर्वाधारको अभाव रहेको बताए। जिल्लामा उपलब्ध कच्चा पदार्थ तथा स्थानीय वस्तुको प्रशोधन र उत्पादन गरी बाहिरी बजारमा पठाउन सकिने सम्भावना रहेकाले त्यसतर्फ राज्यले लगानी गर्नुपर्ने उनको भनाइ थियो।

बजारीकरणको अभावमा बाहिरी बजारमा निर्भर हुनुपरेको उल्लेख गर्दै बूढाले उद्यमीहरू अनुदानमा मात्र निर्भर नभई आफ्नै लगानीमा उत्पादनमूलक व्यवसाय सञ्चालनतर्फ अग्रसर हुनुपर्ने बताए। उत्पादन गर्दा लागत, गुणस्तर र बजारको मागलाई समेत ध्यान दिनुपर्ने उनले सुझाव दिए।

जिल्ला समन्वय समितिका प्रमुख श्यामबहादुर रोकायाले दर्ता भएका उद्योगको वास्तविक अवस्था र सञ्चालनको स्थितिबारे सम्बन्धित कार्यालयले नियमित अनुगमन तथा चासो राख्नुपर्ने बताए। फरक र नयाँ प्रकृतिका उत्पादनलाई प्रोत्साहन गर्दै डोल्पामा उत्पादित वस्तुको पहुँच देशका विभिन्न भूभाग हुँदै अन्तर्राष्ट्रिय बजारसम्म पुर्‍याउनुपर्नेमा उनले जोड दिए।

उद्योगहरू अनुदान प्राप्त गर्ने उद्देश्यले मात्र दर्ता नभई व्यावसायिक र उत्पादनमूलक रूपमा सञ्चालन हुनुपर्ने उल्लेख गर्दै रोकायाले उद्यमीले आफ्नै उत्पादनमार्फत बस्ती र जिल्लाको पहिचान स्थापित गर्नुपर्ने धारणा राखे।

कार्यक्रममा उद्योग उपभोक्ता हित संरक्षण कार्यालय डोल्पाका प्रमुख शतेन्द्रकुमार यादवले जिल्लामा कतिपय उद्यमीले व्यवसाय सञ्चालनभन्दा पनि अनुदान प्राप्त गर्ने उद्देश्यले उद्योग दर्ता गर्ने गरेको अनुभव सुनाए। अनुदानकै लागि कार्यालय प्रमुखलाई समेत दबाब दिने अवस्था रहेको उल्लेख गर्दै उनले वास्तविक कृषक तथा उद्यमीलाई प्राथमिकतामा राखेर सहयोग र अवसर वितरण गर्नुपर्ने बताए।

कतिपय उद्योग अनुदान प्राप्त गर्ने उद्देश्यले कागजमा मात्रै सीमित हुने गरेको भन्दै यादवले उद्योगी, व्यवसायी, स्थानीय तह, सरकारी निकाय र अन्य सरोकारवालाबीच प्रभावकारी समन्वय र सहकार्य आवश्यक रहेको बताए। सबैको हातेमालोबाट मात्रै जिल्लाका उद्योग तथा उद्यमीलाई दिगो रूपमा सफल बनाउन सकिने उनको भनाइ थियो।

उद्योग उपभोक्ता हित संरक्षण कार्यालय डोल्पाका अनुसार जिल्लामा हालसम्म २ हजार ४ सय ५६ वटा उद्योग र १ हजार २ सय ६० वटा वाणिज्य फर्म दर्ता भएका छन्।

दिवसको अवसरमा जिल्लाका उद्यमीले आफ्ना उद्योगमा उत्पादित विभिन्न वस्तुको प्रदर्शनसमेत गरेका थिए। कार्यक्रममा उद्योग उपभोक्ता हित संरक्षण कार्यालयले जिल्लाका उद्यमी तथा सञ्चारकर्मीलाई खादा र अबिर लगाएर सम्मान गरेको थियो।

कार्यक्रममा सहभागी उद्यमी तथा सरोकारवालाले डोल्पामा उत्पादित वस्तुको बजारीकरण, उद्योगमैत्री वातावरण निर्माण, अनुदान वितरणमा पारदर्शिता, स्थानीय उत्पादनको प्रवर्द्धन तथा औद्योगिक पूर्वाधार विकासमा सम्बन्धित निकायले विशेष प्राथमिकता दिनुपर्नेमा जोड दिएका छन्।