डोल्पाको ‘धो’ मा खुल्यो इलाका प्रशासन कार्यालय, पहिलो दिनमै तीन जनाले पाए नागरिकता

साझा कर्णाली | २०८३ मङ्सिर ११ गते बिहिवार

मंशीर १०,

डोल्पा: हिमाली जिल्ला डोल्पाको माथिल्लो क्षेत्रमा पर्ने धोमा इलाका प्रशासन कार्यालय सञ्चालनमा आएको छ । डोल्पो बुद्ध गाउँपालिका–१ स्थित धोमा स्थापना भएको कार्यालय उद्घाटनकै दिन तीन जनालाई नागरिकता वितरण गरेर सेवा सुरु गरेको छ ।

कार्यालय उद्घाटनसँगै डोल्पो बुद्ध गाउँपालिकाका दुई जना र शे–फोक्सुण्डो गाउँपालिकाका एक जना गरी तीन जनाले नागरिकता प्रमाणपत्र प्राप्त गरेका हुन् । माथिल्लो डोल्पामै इलाका प्रशासन कार्यालय स्थापना भएर नागरिकता वितरण सुरु भएपछि स्थानीय बासिन्दालाई प्रशासनिक सेवा लिन सदरमुकाम धाउनुपर्ने बाध्यता कम हुने अपेक्षा गरिएको छ ।

भौगोलिक विकटताका कारण माथिल्लो डोल्पाका नागरिकलाई नागरिकतासहितका प्रशासनिक सेवा लिन सदरमुकाम दुनै पुग्न निकै कठिन छ । धोबाट दुनै पुग्न मात्रै तीनदेखि पाँच दिनसम्म पैदल यात्रा गर्नुपर्ने अवस्था थियो । नागरिकता बनाउनकै लागि एक सातासम्म समय खर्चिनुपर्ने बाध्यता रहेको स्थानीयको भनाइ थियो ।

सरकारले २०८२ पुस ११ गतेको मन्त्रिपरिषद् बैठकबाट डोल्पाको धो सहित देशका नौ स्थानमा इलाका प्रशासन कार्यालय स्थापना गर्ने निर्णय गरेको थियो । सोही निर्णयअनुसार धोमा कार्यालय स्थापना भई सेवा सञ्चालनमा आएको हो ।

कार्यालय उद्घाटन कार्यक्रममा डोल्पो बुद्ध गाउँपालिकाका जनप्रतिनिधि, शे–फोक्सुण्डो गाउँपालिका वडा नम्बर १ का अध्यक्ष, राजनीतिक दलका प्रतिनिधि तथा स्थानीय नागरिक सहभागी थिए । कार्यक्रममा डोल्पो बुद्ध गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षले कार्यालय स्थापनाका लागि सहयोग गर्ने माथिल्लो डोल्पाका तीनवटै स्थानीय तह, जिल्ला प्रशासन कार्यालय डोल्पा, तत्कालीन तथा वर्तमान प्रमुख जिल्ला अधिकारी, प्रतिनिधिसभा सदस्य धनबहादुर बुढा र तत्कालीन गृहमन्त्री रमेश लेखकसहित सबैप्रति आभार व्यक्त गरे ।

धोमा कार्यालय सञ्चालनमा आएसँगै माथिल्लो डोल्पाका नागरिकले आफ्नै क्षेत्रमा नागरिकतासहितका प्रशासनिक सेवा प्राप्त गर्ने बाटो खुलेको छ ।