
असोज २८,
डोल्पा : भौगोलिक विकटताबीच खेलकुदको उत्साह बोकेको हिमाली जिल्ला डोल्पामा १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि कर्णाली प्रदेशस्तरीय बुद्धिचाल छनोट प्रतियोगिता सुरु भएको छ। बुधबार सदरमुकाम दुनैस्थित ब्लुसिप होटलको सभाहलमा एक कार्यक्रमका बीच प्रतियोगिताको शुभारम्भ गरिएको हो।
कर्णाली प्रदेशका १० जिल्लामध्ये मुगु र रुकुमपश्चिमबाहेक आठ जिल्लाका ३८ खेलाडीले प्रतियोगितामा सहभागिता जनाएका छन्। असोज २८ गतेदेखि ३० गतेसम्म सञ्चालन हुने प्रतियोगितामा ३० पुरुष र आठ महिला खेलाडीले प्रतिस्पर्धा गरिरहेको कर्णाली प्रदेश खेलकुद विकास परिषद्का सदस्य किरण किशोर सापकोटाले जानकारी दिए।

प्रतियोगितामा सुर्खेतबाट सात पुरुष र दुई महिला, दैलेखबाट सात पुरुष र तीन महिला, डोल्पाबाट तीन पुरुष, हुम्लाबाट तीन पुरुष र एक महिला, जुम्लाबाट तीन पुरुष, सल्यानबाट दुई पुरुष र एक महिला तथा कालिकोटबाट दुई पुरुष खेलाडी सहभागी भएका छन्।
प्रतियोगिताको सञ्चालन तथा व्यवस्थापनमा कर्णाली प्रदेश खेलकुद विकास परिषद्का सदस्य एवं खेलकुद संयोजक किरण किशोर सापकोटा, कर्णाली प्रदेश बुद्धिचाल संघका अध्यक्ष कार्लमाक्स श्रेष्ठ, आरबिटर पशुपतिनाथ योगी तथा बुद्धिचाल संघ कर्णाली प्रदेशका शक्तिराम बुढालगायतको उपस्थिति रहेको छ।
प्रतियोगितामा प्रत्येक खेलाडीले एक खेलमा २५ मिनेट समय पाउनेछन् भने कुल छ खेल खेल्ने व्यवस्था गरिएको छ। खेलमा जित हासिल गर्ने खेलाडीले एक अंक, बराबरी भए दुवै खेलाडीले आधा–आधा अंक र पराजित हुने खेलाडीले शून्य अंक प्राप्त गर्ने आरबिटर पशुपतिनाथ योगीले जानकारी दिए। कर्णाली प्रदेश खेलकुद विकास परिषद्का सदस्य किरण किशोर सापकोटाले प्रतियोगिताको ब्यानर वाचन गरेर उद्घाटन गरेका थिए। प्रतियोगिताको सञ्चालन शक्तिराम बुढाले गरेका थिए।

यस प्रतियोगिताको अर्को विशेष पक्ष परिषद्का सदस्य किरण किशोर सापकोटाको सक्रियता पनि हो। शारीरिक अशक्तताका बाबजुद खेलकुद क्षेत्रको विकास र खेलाडीको पहिचान तथा प्रोत्साहनमा सक्रिय सापकोटा दोस्रोपटक डोल्पा पुगेर प्रदेशस्तरीय प्रतियोगिता सञ्चालनमा जुटेका छन्। राष्ट्रिय खेलकुदका लागि प्रतिभावान् खेलाडी छनोट गर्ने जिम्मेवारीसँगै उनले वातावरण संरक्षण र विद्यार्थीमा हरियालीप्रतिको चेतना अभिवृद्धि गर्ने ‘ग्रिन स्कुल अभियान’लाई समेत निरन्तरता दिँदै आएका छन्।

दुर्गम भूगोलका कारण खेलकुदका अवसर र पूर्वाधारमा चुनौती भोग्दै आएको डोल्पामा प्रदेशस्तरीय प्रतियोगिता सञ्चालन हुनुले जिल्लालाई खेलकुद गतिविधिको केन्द्रका रूपमा चिनाउनसमेत सहयोग पुग्ने अपेक्षा गरिएको छ। प्रतियोगिताबाट छनोट हुने खेलाडीले १०औँ राष्ट्रिय खेलकुद प्रतियोगितामा कर्णाली प्रदेशको प्रतिनिधित्व गर्ने अवसर पाउनेछन्।
