नेपाल बैंकद्वारा सरस्वती माविलाई कम्प्युटर र प्रिन्टर सहयोग

जैतुन अनलाइन | २०८३ असोज २२ गते बिहिवार

असोज २१,

डोल्पा : नेपाल बैंक लिमिटेड दुनै शाखाले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत दुनैस्थित सरस्वती माध्यमिक विद्यालयलाई दुई थान कम्प्युटर र एक थान प्रिन्टर सहयोग गरेको छ। विद्यालयको ४९औँ वार्षिकोत्सव तथा अभिभावक दिवसको अवसरमा बैंकले शैक्षिक तथा प्रशासनिक कार्यमा सहयोग पुर्‍याउने उद्देश्यले प्रविधिजन्य सामग्री हस्तान्तरण गरेको हो।

कार्यक्रममा नेपाल बैंक लिमिटेड कर्णाली प्रदेश प्रमुख टेकबहादुर खड्का र दुनै शाखा प्रमुख रवि भण्डारीले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दशरथ रोकाया तथा प्रधानाध्यापक सत्यनारायण सिंहलाई संयुक्त रूपमा कम्प्युटर र प्रिन्टर हस्तान्तरण गरेका थिए।

सामग्री हस्तान्तरण गर्दै कर्णाली प्रदेश प्रमुख खड्काले विद्यालयमा प्रविधिमैत्री शिक्षाको विकास तथा प्रशासनिक कार्यलाई थप सहज बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे। उनले शिक्षा र समुदायको विकासमा बैंकले संस्थागत सामाजिक उत्तरदायित्वलाई महत्त्व दिँदै आएको उल्लेख गर्दै आगामी दिनमा पनि सामाजिक कार्यलाई निरन्तरता दिने प्रतिबद्धता जनाए।

विद्यालयमा आवश्यक कम्प्युटर तथा प्रिन्टर सहयोग गरेकोमा सरस्वती माध्यमिक विद्यालयले नेपाल बैंक लिमिटेड परिवारप्रति आभार व्यक्त गरेको छ। प्राप्त सामग्रीले विद्यालयको शैक्षिक गतिविधि, विद्यार्थीको प्रविधिसम्बन्धी सिकाइ तथा दैनिक प्रशासनिक कामलाई सहज बनाउने अपेक्षा गरिएको छ।

विविध कार्यक्रमसहित ४९औँ वार्षिकोत्सव सम्पन्न

यसैबीच, सरस्वती माध्यमिक विद्यालय दुनैले विविध कार्यक्रम आयोजना गरी आफ्नो ४९औँ वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न गरेको छ। वार्षिकोत्सवका अवसरमा विद्यालयको शैक्षिक गतिविधि, विद्यार्थीको सिकाइ तथा विद्यालयको समग्र विकाससँग सम्बन्धित विषयलाई महत्त्व दिइएको थियो। कार्यक्रममा नेपाल बैंक लिमिटेड दुनै शाखा प्रमुख रवि भण्डारीसहित विद्यालयका शिक्षक, अभिभावक, विद्यार्थी तथा स्थानीय बासिन्दाको उपस्थिति रहेको थियो।

विद्यालयको वार्षिकोत्सवका अवसरमा बैंकले गरेको सहयोगले शैक्षिक संस्थाको विकासमा सरकारी तथा गैरसरकारी निकाय, वित्तीय संस्था र समुदायबीचको सहकार्यको महत्त्वसमेत उजागर गरेको छ। विद्यार्थीलाई गुणस्तरीय शिक्षा प्रदान गर्न आवश्यक शैक्षिक सामग्री तथा प्रविधिको उपलब्धता बढाउँदै लैजान सके विद्यालयको शिक्षण सिकाइ प्रक्रियामा थप सुधार हुने अपेक्षा गरिएको छ।