भोटेकोशी बाढीबाट साढे ४ खर्बको पूर्वाधार क्षति, पुनर्निर्माणमा ७ खर्बभन्दा बढी लाग्ने

साझा कर्णाली | २०८३ असोज १५ गते बिहिवार

असोज १५,

काठमाडौंः भोटेकोशी बाढीसहित पछिल्लो समय भएका विभिन्न विपत्तिबाट नेपालमा करिब ३ अर्ब अमेरिकी डलर अर्थात् साढे ४ खर्ब रुपैयाँभन्दा बढीको क्षति भएको प्रारम्भिक आकलन गरिएको छ । क्षतिग्रस्त संरचना तथा सम्पत्तिको पुनर्निर्माणका लागि भने ४.७७ अर्ब अमेरिकी डलर अर्थात् ७ खर्ब रुपैयाँभन्दा बढी खर्च लाग्ने प्रारम्भिक अनुमान गरिएको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डा. धर्मराज उप्रेतीका अनुसार क्षतिको प्रारम्भिक विवरणमा विद्यालय, सडक, पुल, सवारीसाधन र व्यक्तिका सम्पत्तिसमेत समेटिएका छन् । क्षतिको विस्तृत विवरण आउन बाँकी रहेकाले प्रारम्भिक अनुमानमा थपघट हुन सक्ने प्राधिकरणले जनाएको छ ।

क्षतिको आकलन गर्न प्राधिकरणले ‘र्‍यापिड ड्यामेज एन्ड निड एसेसमेन्ट’ टोली गठन गरेको थियो । टोलीमा सम्बन्धित क्षेत्रका मन्त्रालय, राष्ट्रिय योजना आयोग र प्राधिकरणका प्रतिनिधि सहभागी थिए । टोलीले ड्रोन सर्भेसमेत प्रयोग गरी विपत्तिअघिको र विपत्तिपछिको अवस्थाको तुलना गरेर क्षतिको प्रारम्भिक विवरण तयार पारेको थियो ।

सडक, पुल तथा तिनमा भएको लगानीको विवरणसमेत संकलन गरिएको प्राधिकरणले जनाएको छ । घरभित्र रहेका व्यक्तिगत सम्पत्तिको क्षति भने प्रत्यक्ष मूल्यांकन नभएकाले अनुमानका आधारमा समेटिएको छ । बैंक तथा वित्तीय संस्थामा रहेको सम्पत्तिलाई भने क्षतिको विवरणमा समावेश गरिएको छैन ।

प्राधिकरणका अनुसार टोलीले करिब १५ दिनमै प्रारम्भिक प्रतिवेदन तयार पारेको थियो । त्यसपछि अर्थ मन्त्रालयमा विकास साझेदार, विभिन्न दूतावास तथा संयुक्त राष्ट्रसंघका निकायलाई क्षतिको विवरणबारे जानकारी गराइएको थियो । पुनर्निर्माणका लागि आवश्यक स्रोत र लगानीको अनुमानसमेत यही प्रारम्भिक मूल्यांकनका आधारमा गरिएको हो ।

बिमा दाबी २१ अर्ब नजिक

विपत्तिबाट भएको क्षतिको अर्को ठूलो हिस्सा बिमा गरिएका सम्पत्ति, सवारीसाधन तथा अन्य संरचनामा परेको छ । भोटेकोशी बाढीबाट भएको क्षतिका लागि असोज १२ सम्म बिमा कम्पनीहरूमा २० अर्ब ९८ करोड ८७ लाख रुपैयाँ बराबरको दाबी परेको बिमा प्राधिकरणले जनाएको छ । तर त्यसमध्ये हालसम्म ६७ लाख ४८ हजार रुपैयाँ मात्र भुक्तानी भएको छ ।

बाढी गएको तीन–चार दिनमै बिमा कम्पनीहरूमा २५ अर्ब ८७ करोड ३५ लाख रुपैयाँ बराबरको दाबी परेको थियो । स्थलगत निरीक्षण नगरी बिमितले प्रारम्भिक रूपमा ठूलो रकम दाबी गरेका कारण सुरुको तथ्यांक धेरै देखिएको प्राधिकरणले जनाएको छ । स्थलगत निरीक्षण र क्षतिको यकिन विवरण आउन थालेपछि उक्त दाबी रकम घटेर १५/१६ अर्ब रुपैयाँमा पुगेको थियो ।

पछि थप दाबी आउने क्रम बढेसँगै कुल दाबी रकम पुनः २० अर्ब ९८ करोड ८७ लाख रुपैयाँ पुगेको हो । क्षतिको विवरण र बिमा दाबी आउने क्रम अझै जारी रहेकाले यो रकम थप बढ्न सक्ने प्राधिकरणको भनाइ छ ।

परेका दाबीमध्ये सम्पत्ति बिमातर्फ सबैभन्दा धेरै दाबी परेको छ । यसअन्तर्गत ५ सय १८ वटा दाबीमा ९ अर्ब ४१ करोड ५८ लाख रुपैयाँ बराबरको रकम माग गरिएको छ । इन्जिनियरिङ तथा ठेकेदार बिमाअन्तर्गत १ सय ६५ वटा दाबीमा ४ अर्ब ४१ करोड ४५ लाख रुपैयाँ बराबरको दाबी परेको छ ।

त्यस्तै मोटर बिमामा १ हजार ६६ वटा दाबी परेको छ । ती दाबीमार्फत ३ अर्ब ७ करोड ९३ लाख रुपैयाँ बराबरको क्षतिपूर्ति माग गरिएको छ । पारवहन बिमाअन्तर्गत १ सय ४ वटा दाबीमा २ अर्ब ४५ करोड ५१ लाख रुपैयाँ बराबरको दाबी परेको छ ।

अन्य बिमाअन्तर्गत २ सय ९९ वटा दाबीमा १ अर्ब ३६ करोड ८५ लाख रुपैयाँ र स्वास्थ्य बिमाअन्तर्गत २८ वटा दाबीमा २२ करोड ५२ लाख रुपैयाँ बराबरको दाबी परेको प्राधिकरणले जनाएको छ ।

बिमा दाबीको रकम र समग्र विपद् क्षतिको मूल्यांकनलाई हेर्दा पछिल्लो विपत्तिले व्यक्तिगत सम्पत्ति, सार्वजनिक पूर्वाधार तथा निजी क्षेत्रको संरचनामा ठूलो आर्थिक भार थपेको देखिन्छ । प्रारम्भिक क्षति मूल्यांकनअनुसार नै पुनर्निर्माणका लागि क्षतिभन्दा निकै ठूलो रकम आवश्यक पर्ने देखिएको छ ।

प्राधिकरणले विस्तृत अध्ययनपछि क्षति र पुनर्निर्माण लागतको यकिन विवरण आउने जनाएको छ । त्यसपछि पुनर्निर्माणका लागि आवश्यक स्रोत, प्राथमिकता र लगानीको क्षेत्रसमेत थप स्पष्ट हुने बताइएको छ ।