भाद्र पूर्णिमाले ल्यायो खेलकुदको उमंग, जुफालमा सुरु भयो प्रतिस्पर्धा

साझा कर्णाली | २०८३ असोज ३ गते शनिवार

असोज ०३,

जुफाल : डोल्पाको ठुलीभेरी नगरपालिका–७ र ८ अन्तर्गत पर्ने जुफालमा भाद्र पूर्णिमाको अवसर पारेर खुला भलिबल तथा ब्याडमिन्टन प्रतियोगिता सुरु भएको छ।

जुफाल युवा क्लबको आयोजनामा सञ्चालन भइरहेको प्रतियोगिताको शनिबार एक कार्यक्रमबीच उद्घाटन गरिएको हो। क्लबका अध्यक्ष प्रचण्ड विक्रम शाहीको अध्यक्षतामा आयोजित उद्घाटन कार्यक्रममा कर्णाली प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री शेरबहादुर बुढा, जिल्ला समन्वय समिति डोल्पाका उपप्रमुख तेजेन्द्रबहादुर बुढा, ठुलीभेरी नगरपालिकाका नगरप्रमुख सुवर्णकुमार बुढा लगायतको सहभागिता थियो।

आयोजकका अनुसार असोज ३ गतेदेखि प्रतियोगिता सञ्चालन गर्ने तयारी भए पनि प्रतिकूल मौसमका कारण निर्धारित समयमा खेल सुरु हुन सकेन। शनिबार उद्घाटनसँगै ब्याडमिन्टन प्रतियोगिता सुरु गरिएको र आइतबारदेखि भलिबलका खेल नियमित रूपमा सञ्चालन हुने ठुलीभेरी नगरपालिका–८ का वडाध्यक्ष मनराम ठकुल्लाले जानकारी दिए।

भलिबलमा १३ र ब्याडमिन्टनमा २० टिम

प्रतियोगितामा खुला भलिबलतर्फ १३ टिम र ब्याडमिन्टनतर्फ २० टिमले सहभागिताका लागि नाम दर्ता गराएका छन्। प्रतियोगिताले जुफालको धार्मिक तथा सांस्कृतिक पर्व भाद्र पूर्णिमाको अवसरलाई थप उत्सवमय बनाउनुका साथै स्थानीय युवाबीचको खेलकुद, आपसी सद्भाव र प्रतिस्पर्धात्मक भावना विकास गर्ने आयोजकको अपेक्षा छ।

भलिबल प्रतियोगितामा प्रथम हुने टोलीले १ लाख २१ हजार १ सय २१ रुपैयाँ, द्वितीय हुने टोलीले ७७ हजार ७ सय ७७ रुपैयाँ र तृतीय हुने टोलीले ५५ हजार ५ सय ५५ रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्। त्यस्तै, ब्याडमिन्टनतर्फ प्रथम हुने खेलाडी/टोलीलाई २५ हजार ५ सय ५५ रुपैयाँ, द्वितीयलाई १५ हजार ५ सय ५५ रुपैयाँ र तृतीयलाई १० हजार ५ सय ५५ रुपैयाँ पुरस्कारको व्यवस्था गरिएको छ।

धार्मिक पर्वसँगै खेलकुदको उत्सव

जुफालको प्रमुख धार्मिक पर्वका रूपमा रहेको भाद्र पूर्णिमाको अवसरमा आयोजना गरिएको खेलकुद प्रतियोगिताले गाउँमा थप उत्साह र चहलपहल ल्याएको छ। खेलकुदसँगै स्थानीय संस्कृति, परम्परा र सामाजिक मेलमिलापलाई जोड्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ।

प्रतियोगितामा सहभागी खेलाडी तथा दर्शकको उपस्थितिले जुफालमा पर्वको रौनक थप बढाएको छ। आगामी दिनमा यस्ता प्रतियोगितालाई निरन्तरता दिँदै स्थानीयस्तरबाटै प्रतिभावान खेलाडी पहिचान र प्रोत्साहन गर्नुपर्नेमा समेत स्थानीयले जोड दिएका छन्।