

असोज २,
जाजरकोटः भूकम्प गएको ३५ महिनापछि जाजरकोटमा क्षतिग्रस्त निजी आवास पुनःनिर्माणका लागि पहिलो किस्ताको रकम निकासा भएको छ । जिल्ला प्रशासन कार्यालय जाजरकोटले भेरी नगरपालिकाका १८८ भूकम्प प्रभावित परिवारका लागि ९४ लाख रुपैयाँ निकासा गरेको हो ।
२०८० कात्तिकमा गएको भूकम्पबाट घरमा क्षति पुगेका प्रभावितले लामो समयदेखि निजी आवास पुनर्निर्माणको रकमको प्रतीक्षा गर्दै आएका थिए । पहिलो चरणमा भेरी नगरपालिकाका लाभग्राहीलाई प्रतिपरिवार ५० हजार रुपैयाँका दरले पहिलो किस्ता उपलब्ध गराउन स्थानीय तहको खातामा रकम पठाइएको प्रमुख जिल्ला अधिकारी नवराज बरालले बताए ।
स्वीकृत कार्यविधिअनुसार निजी आवास पुनः निर्माणका लागि लाभग्राहीलाई किस्तागत रुपमा रकम उपलब्ध गराउने व्यवस्था छ । पहिलो किस्ताको रकम निकासा भएसँगै स्थानीय तहले लाभग्राहीको विवरण तथा आवश्यक प्रक्रिया पूरा गरी उनीहरुको बैंक खातामा रकम पठाउनेछ ।
भूकम्पपछि अस्थायी टहरामा बस्दै आएका प्रभावित परिवारका लागि पहिलो किस्ताको रकम निकासा भएपछि घर पुनर्निर्माणको प्रक्रिया अघि बढ्ने भएको छ । जिल्ला प्रशासन कार्यालयले भेरी नगरपालिकाबाहेकका अन्य स्थानीय तहमा रहेका लाभग्राहीका लागि पनि प्रक्रिया पूरा गर्दै क्रमशः रकम निकासा गर्ने जनाएको छ ।