
डोल्पा : डोल्पामा आर्थिक वर्ष २०८२/०८३ मा स्वास्थ्य क्षेत्रमा सञ्चालन भएका कार्यक्रम तथा कार्यप्रगतिको समीक्षा गर्दै मध्य डोल्पाको त्रिपुरासुन्दरी र उपल्लो डोल्पाको धोमा अस्पताल निर्माणको आवश्यकता औंल्याइएको छ।
जिल्ला स्वास्थ्य कार्यालयको आयोजनामा दुई दिनसम्म सञ्चालन भएको जिल्लास्तरीय वार्षिक समीक्षा तथा योजना तर्जुमा गोष्ठीमा जिल्लाका आठवटै स्थानीय तहका स्वास्थ्य शाखा प्रमुखहरूले आ–आफ्नो पालिकामा सञ्चालित स्वास्थ्य कार्यक्रम, कार्यप्रगति, सेवा प्रवाहको अवस्था तथा आगामी योजनाबारे प्रस्तुति दिएका थिए।
गोष्ठीमा तथ्यांक प्रमुख आशिष् सिंथानीले जिल्लाको समग्र स्वास्थ्य अवस्था, आर्थिक वर्ष २०८२/०८३ मा सम्पादित कार्यक्रम तथा कार्यप्रगति, जनस्वास्थ्य र जिल्ला अस्पतालमा कार्यरत जनशक्तिको अवस्था तथा स्वास्थ्य सेवा प्रवाहसम्बन्धी तथ्यांक प्रस्तुत गरेका थिए।
प्रस्तुत तथ्यांकअनुसार डोल्पामा अझै प्राथमिक स्वास्थ्य केन्द्रको अभाव रहेको तथा भौगोलिक विकटताका कारण केही क्षेत्रमा स्वास्थ्य सेवा सहज रूपमा प्रवाह हुन नसकेको अवस्था देखाइएको थियो। विशेषगरी काइके र मुड्केचुलामा घरमै सुत्केरी गराउने क्रम अझै कायम रहनु स्वास्थ्य सेवाको पहुँच र सुरक्षित मातृत्वका दृष्टिले चुनौतीका रूपमा प्रस्तुत गरिएको थियो।

गोष्ठीमा बोल्दै आठौँ तहका विशेषज्ञ चिकित्सक डा. सिजन रावलले मध्य डोल्पाको त्रिपुरासुन्दरी र उपल्लो डोल्पाको धोमा अस्पताल निर्माण गर्न आवश्यक रहेको बताए।
भौगोलिक विकटता, लामो दूरी र स्वास्थ्य सेवामा नागरिकको पहुँचलाई ध्यानमा राखेर जिल्लाको मध्य तथा उपल्लो क्षेत्रमा अस्पताल आवश्यक रहेको उनको भनाइ थियो। स्थानीय स्तरमै आधारभूतदेखि विशेषज्ञ स्वास्थ्य सेवा उपलब्ध गराउन सके दुर्गम क्षेत्रका नागरिकले उपचारका लागि लामो दूरी तय गर्नुपर्ने बाध्यता कम हुने उनले बताए।
डा. रावलको सरुवा भइसकेको अवस्थामा जिल्ला अस्पतालमा आगामी दिनमा कस्तो तहको चिकित्सक तथा कुन–कुन विशेषज्ञ सेवा उपलब्ध गराउने भन्ने विषयमा सम्बन्धित निकायले समयमै योजना बनाउनुपर्ने आवश्यकता समेत देखिएको छ। विशेषज्ञ चिकित्सकको सरुवापछि जिल्ला अस्पतालमा अनुभवी चिकित्सकको निरन्तरता र विशेषज्ञ सेवाको उपलब्धता कसरी कायम गर्ने भन्ने विषयलाई पनि आगामी स्वास्थ्य योजनामा समेट्नुपर्ने देखिन्छ।
कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति डोल्पाका प्रमुख श्यामबहादुर रोकायाले स्थानीय तहमा अस्पताल तथा स्वास्थ्य संस्था हुनु नागरिकको आधारभूत स्वास्थ्य अधिकारसँग जोडिएको विषय भएको बताए।
उनले स्वास्थ्य संस्थाका भवन निर्माणसँगै आवश्यक जनशक्ति, उपकरण, औषधि र अन्य पूर्वाधारको पर्याप्त व्यवस्थापनमा ध्यान दिनुपर्ने बताए।
“भवन बन्नु मात्र सफलताको आधार होइन, त्यहाँ आवश्यक उपकरण यथेष्ट मात्रामा छन् कि छैनन् भन्ने कुरा महत्वपूर्ण हुन्छ,” रोकायाले भने।
तीन तहका सरकारमध्ये नागरिकसँग सबैभन्दा नजिक रहेको स्थानीय तहले स्वास्थ्य सेवाको अवस्थाबारे विशेष ध्यान दिनुपर्ने उनको भनाइ थियो। स्थानीय तहले आवश्यकताको मूल्यांकन गरेर औषधि खरिद गर्ने, एकातर्फ अभाव हुन नदिने र अर्कोतर्फ अनावश्यक मौज्दात नरहने गरी योजना बनाउनुपर्ने उनले बताए। स्वास्थ्य संस्थाका लागि आवश्यक पूर्वाधार निर्माणलाई प्राथमिकता दिनुपर्ने उल्लेख गर्दै उनले जिल्ला अस्पतालसम्म पुग्ने स्थायी सडक निर्माणको प्रक्रिया अघि बढिरहेको जानकारी दिए।
गोष्ठीमा डोल्पामा स्वास्थ्य सेवाको पहुँच विस्तार, स्वास्थ्य संस्थाका लागि आवश्यक पूर्वाधार तथा उपकरण, जनशक्ति व्यवस्थापन, औषधिको उपलब्धता र सेवा प्रवाहमा देखिएका समस्याबारे छलफल गरिएको थियो।
दुई दिनसम्म चलेको समीक्षा गोष्ठीले विगत वर्षमा सञ्चालन भएका स्वास्थ्य कार्यक्रमको उपलब्धि र चुनौतीको समीक्षा गर्दै डोल्पाको भौगोलिक अवस्था र स्थानीय आवश्यकताअनुसार स्वास्थ्य सेवा विस्तार गर्न अस्पताल निर्माण, दक्ष जनशक्ति, उपकरण तथा पूर्वाधार विकासलाई आगामी योजनामा प्राथमिकताका साथ अघि बढाउनुपर्ने निष्कर्ष निकालेको छ।
यसै अवसरमा जिल्लाको स्वास्थ्य क्षेत्रमा उत्कृष्ट कार्यसम्पादन गरेको भन्दै छार्काताङसोङ गाउँपालिकालाई पुरस्कृत गरिएको थियो। जिल्लाका आठवटै स्थानीय तहलाई समेत सम्मानपत्र प्रदान गरिएको थियो।
समग्रमा गोष्ठीले डोल्पाको स्वास्थ्य क्षेत्रका तत्कालीन समस्या पहिचान गर्नुका साथै भौगोलिक विकटताका कारण सेवाबाट वञ्चित नागरिकसम्म स्वास्थ्य सेवा पुर्याउने दीर्घकालीन योजना, अस्पतालको आवश्यकता, चिकित्सक तथा स्वास्थ्यकर्मीको व्यवस्थापन र आवश्यक पूर्वाधार विकासलाई आगामी प्राथमिकतामा राख्नुपर्ने विषयलाई अघि सारेको छ।