विपद् आएपछि होइन, आउनुअघि नै तयारी : डोल्पामा पूर्वतयारी योजना अनुमोदन

जैतुन अनलाइन | २०८३ असोज १ गते बिहिवार

डोल्पा : डोल्पामा सम्भावित विपद्को सामना गर्न पूर्वतयारी, जोखिम न्यूनीकरण र प्रभावकारी प्रतिकार्यलाई प्राथमिकता दिने निर्णय गरिएको छ। भदौ १० गते रसुवाको भोटेकोशी क्षेत्रमा हालै आएको बाढी–पहिरोबाट भएको ठूलो जनधन तथा भौतिक क्षतिबाट पाठ सिक्दै  डोल्पामा सम्भावित विपद्को सामना गर्न पूर्वतयारी, जोखिम न्यूनीकरण र प्रभावकारी प्रतिकार्यलाई प्राथमिकता दिने निर्णय गरिएको हो ।

जिल्ला प्रशासन कार्यालय डोल्पामा बिहीबार बसेको जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले सम्भावित बाढी, पहिरो, भूकम्पलगायतका विपद्बाट हुन सक्ने क्षति न्यूनीकरणका लागि आवश्यक पूर्वतयारीलाई थप व्यवस्थित बनाउने निर्णय गरेको हो।

बैठकले विपद् प्रभावितलाई राहत उपलब्ध गराउनेदेखि सम्भावित विपद्का समयमा तत्काल उद्धार, राहत तथा पुनःस्थापनाका कामलाई प्रभावकारी बनाउन तयार गरिएको ‘विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना–२०८३’ अनुमोदन गरेको छ।

भौगोलिक रूपमा विकट र प्राकृतिक विपद्को उच्च जोखिममा रहेको डोल्पामा पनि भोटेकोशीमा जस्तो ठूलो विपद् आउन सक्ने सम्भावनालाई मध्यनजर गर्दै जोखिमको पूर्वानुमान, आवश्यक स्रोतसाधनको व्यवस्थापन, उद्धार तथा राहत सामग्रीको तयारी र सम्बन्धित निकायको जिम्मेवारी स्पष्ट पारेर अघि बढ्नुपर्नेमा बैठकले जोड दिएको छ।

१० विपद् प्रभावितलाई राहत दिने निर्णय

बैठकले जिल्लाका विभिन्न क्षेत्रमा विपद्बाट प्रभावित भएका १० जनालाई राहत उपलब्ध गराउने निर्णय समेत गरेको छ। बैठकमा प्रस्तुत विवरणअनुसार ठुलीभेरी नगरपालिका–११ का सुस्मा थापा र कर्णप्रसाद कार्कीका घरका पर्खाल चर्किएर बसोबास जोखिमपूर्ण बनेका छन्। ठुलीभेरी–८ का टेकबहादुर डाँगीको घर अविरल वर्षाका कारण भत्किएको तथा ठुलीभेरी–२ का मोतिप्रसाद रोकायाको घर पहिरोबाट क्षतिग्रस्त भएको छ।

त्यस्तै, ठुलीभेरी–२ स्थित महादेव आधारभूत विद्यालयको खेलमैदानको पर्खाल भत्किएको, ठुलीभेरी–३ का अर्जुनबहादुर शाहीको घर वर्षाका कारण भत्किएको तथा ठुलीभेरी–१० परिलाका दिनेश विक, हिरालाल कार्की, घनश्याम विक र हिमालप्रसाद महतको घर भूकम्पका कारण क्षतिग्रस्त भएको विवरण बैठकमा प्रस्तुत गरिएको थियो।

सुरक्षा निकायबाट विपद् प्रतिकार्यबारे प्रस्तुतीकरण

बैठकले संग्राम शार्दुल गुल्म, सुलिगाड डोल्पाले तयार पारेको विपद्सम्बन्धी प्रस्तुतीकरण समेत अनुमोदन गरेको छ। गुल्मका मेजर नरेश विष्टले जिल्लामा हुन सक्ने सम्भावित विपद्को जोखिम, पूर्वतयारी, प्रतिकार्य तथा विपद्का समयमा विभिन्न निकायले निर्वाह गर्नुपर्ने भूमिकाबारे प्रस्तुतीकरण गरेका थिए।

जिल्ला समन्वय समिति डोल्पाका प्रमुख श्यामबहादुर रोकायाले विपद् व्यवस्थापन सबै तहका सरकार तथा सम्बन्धित निकायको साझा जिम्मेवारी भएको बताए। स्थानीय सरकार नागरिकको सबैभन्दा नजिकको सरकार भएकाले विपद्का समयमा स्थानीय तहको भूमिका अझ महत्वपूर्ण हुने भन्दै उनले आ–आफ्नो जिम्मेवारी प्रभावकारी रूपमा निर्वाह गर्नुपर्नेमा जोड दिए।

जिल्ला विपद् व्यवस्थापन समितिकी अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी जुनु हमाल ढकालले विपद् आउनुअघि नै आवश्यक तयारी, स्रोत व्यवस्थापन र जिम्मेवारी स्पष्ट गर्न सके क्षति न्यूनीकरणमा महत्वपूर्ण सहयोग पुग्ने बताइन्। सरकारी निकाय, सुरक्षा संयन्त्र, स्थानीय तह तथा अन्य सरोकारवाला पक्षबीचको समन्वयलाई अझ प्रभावकारी बनाउनुपर्ने उनको भनाइ थियो।

त्यस्तै, प्रहरी नायव उपरीक्षक अनिलराज गिरीले रसुवाको भोटेकोशीमा जस्तो विपद्बाट जनधन तथा भौतिक संरचनामा ठूलो क्षति हुने अवस्था डोल्पामा आउन नदिन पूर्वसतर्कता र पूर्वतयारीलाई प्राथमिकता दिनुपर्ने बताए। डोल्पाका अधिकांश बस्ती विभिन्न किसिमका प्राकृतिक जोखिममा रहेको उल्लेख गर्दै उनले वर्षायाममा जिल्लामा भएका विपद्का घटनाको समीक्षा, त्यसबाट प्राप्त सिकाइ तथा आगामी दिनको पूर्वतयारीमा सबै निकाय एकजुट भएर लाग्नुपर्ने बताए।

विपद्पछि उद्धारभन्दा विपद्अघि नै तयारीमा जोड

बैठकमा जिल्लास्थित विभिन्न राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, तीनै तहका सुरक्षा अधिकारी, स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत तथा अन्य कर्मचारी, उद्योग वाणिज्य संघका अध्यक्षलगायत सरोकारवालाको सहभागिता थियो।

भोटेकोशीमा देखिएको पछिल्लो विपद्को घटनालाई दृष्टिगत गर्दै विपद् आएपछि उद्धार र राहतमा मात्र केन्द्रित नभई विपद् आउनुअघि नै जोखिम पहिचान, पूर्वतयारी, स्रोतसाधनको व्यवस्थापन र प्रतिकार्य संयन्त्रलाई बलियो बनाउने दिशामा अघि बढ्नुपर्नेमा बैठकले जोड दिएको छ।

भौगोलिक विकटता, कमजोर सडक पहुँच तथा बस्तीहरूको जोखिमपूर्ण अवस्थालाई मध्यनजर गर्दै डोल्पामा विपद् प्रतिकार्यका लागि स्थानीय तहदेखि जिल्ला तहसम्मको समन्वय र तयारीलाई थप मजबुत बनाउने निष्कर्ष बैठकले निकालेको छ।