मदुवाघारीमा पहिरो खस्दा ७० भन्दा बढी भेडाबाख्रा मरे, कृषक चिन्तित

जैतुन अनलाइन | २०८३ भाद्र २२ गते सोमवार

भदौ २२,

डोल्पा : डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–५ अन्तर्गत पर्ने मदुवाघारी खर्कको वन क्षेत्रमा पहिरो खस्दा ७० भन्दा बढी भेडाबाख्रा मरेका छन् भने केही घाइते भएका छन्।

केही दिनदेखि परेको अविरल वर्षाका कारण भदौ २१ गते आइतबार बेलुकी करिब ४ बजे मदुवाघारी वन क्षेत्रमा चर्दै गरेका भेडाबाख्रामाथि ढुंगासहितको पहिरो खसेको हो। पहिरोमा परी त्रिपुरासुन्दरी नगरपालिका–५ अन्तर्गतका करिब १२/१३ घरपरिवारका ७० भन्दा बढी भेडाबाख्रा मरेको बताइएको छ।

गाउँका भेडाबाख्रा संयुक्त रूपमा वन क्षेत्रमा चराइरहेको अवस्थामा एक्कासि ढुंगासहितको पहिरो खसेपछि केही भेडाबाख्रा घटनास्थलमै मरेका र केही गम्भीर अवस्थामा घाइते भएका त्रिपुरासुन्दरी नगरपालिका–५ का वडाध्यक्ष नरबहादुर झाँक्रीले जानकारी दिए। सबै घरपरिवारका भेडाबाख्रा एउटै क्षेत्रमा चराइरहेका कारण कुन परिवारका कति भेडाबाख्रा पहिरोमा परी मरे भन्ने यकिन विवरण संकलनका लागि नेपाल प्रहरीको रोहबरमा मुचुल्का उठाउने काम भइरहेको वडाध्यक्ष झाँक्रीले बताए।

AI-Photo

स्थानीय कृषकको प्रमुख आयआर्जनको माध्यमका रूपमा रहेको भेडाबाख्रापालन व्यवसायमा एकैपटक ठूलो क्षति भएपछि प्रभावित कृषकहरू मर्कामा परेका छन्। लाखौँ रुपैयाँ बराबरको क्षति भएको भन्दै वडाध्यक्ष झाँक्रीले पीडित कृषकलाई तत्काल राहत तथा आवश्यक सहयोग उपलब्ध गराउन सम्बन्धित निकायसँग आग्रह गरेका छन्।

पहिरोका कारण एकैपटक ठूलो संख्यामा भेडाबाख्रा मरेपछि ल्हाँ गाउँका कृषकहरू चिन्तित बनेका छन्। वर्षौंदेखि पालनपोषण गर्दै आएका भेडाबाख्रा गुमाउँदा कृषकहरूको आम्दानीको मुख्य आधारमै गम्भीर असर परेको स्थानीयको भनाइ छ।