

भदाै १३,
सुर्खेतः रसुवाको भोटेकोसीमा आएको विनाशकारी बाढीपछि परिवार तथा आफन्तको सम्पर्कविहीन भएका कर्णालीका ७० जना सम्पर्कमा आएका छन् । तर, शनिबार साँझसम्म पनि प्रदेशका १ सय ९७ जनाको अवस्था अझै अज्ञात रहेको छ ।
बुधबार आएको विनाशकारी बाढीपछि कर्णाली प्रदेशका २ सय ६७ जना परिवारको सम्पर्कमा नरहेको विवरण आएको थियो । प्रदेश प्रहरी कार्यालय सुर्खेतको पछिल्लो अद्यावधिक तथ्यांकअनुसार तीमध्ये ७० जना सम्पर्कमा आएपछि सम्पर्कविहीनको संख्या १ सय ९७ मा झरेको हो ।
सम्पर्कविहीनमध्ये अधिकांश रसुवा र नुवाकोटमा रहेका जलविद्युत् आयोजनामा कार्यरत मजदुर रहेको प्रहरीले जनाएको छ । उनीहरूको खोजी तथा अवस्था पत्ता लगाउन प्रहरी र सम्बन्धित निकायबीच समन्वय भइरहेको छ ।
प्रहरीको तथ्यांकअनुसार हालसम्म सबैभन्दा धेरै जुम्लाका ८२ पुरुष परिवारको सम्पर्कमा आएका छैनन् । यस्तै, सल्यानका ४१ पुरुष, ११ महिला, दुई बालक र एक बालिका गरी ५५ जना सम्पर्कविहीन छन् ।
सुर्खेतका १६ पुरुष र एक महिला गरी १७ जना, मुगुका ६ पुरुष, चार महिला र एक बालक गरी ११ जना तथा रुकुम पश्चिमका चार पुरुष, चार महिला र एक बालक गरी नौ जनाको अवस्था अझै अज्ञात छ ।
त्यस्तै, हुम्लाका चार पुरुष, दुई महिला र एक बालक गरी सात जना तथा कालीकोटका तीन पुरुष, दुई महिला र एक बालक गरी छ जना सम्पर्कविहीन छन् । जाजरकोटका दुई पुरुष र एक महिला गरी तीन जना, डोल्पाका एक पुरुष र एक महिला गरी दुई जना पनि परिवारको सम्पर्कमा आएका छैनन् ।
कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता सन्तोषसिंह राठौरले सम्पर्कविहीन व्यक्तिहरूको अवस्था पत्ता लगाउन आवश्यक समन्वय भइरहेको जानकारी दिए । उनले बाढी प्रभावित क्षेत्रमा रहेका व्यक्ति तथा उनीहरूका आफन्तसँग सम्पर्क गरी विवरण अद्यावधिक गर्ने काम जारी रहेको बताए ।
बाढीपछि सम्पर्कविहीनको संख्या क्रमशः घट्दै गए पनि अझै करिब दुई सय कर्णालीवासीको अवस्थाबारे यकिन हुन नसक्दा उनीहरूका परिवार चिन्तामा छन् ।