

भदौ ११
काठमाडौँ: रसुवाको भोटेकोशीमा आएको बाढीमा परेर मृत्यु हुनेको सङ्ख्या १७७ पुगेको छ । अहिलेसम्म १७७ जनाको शव भेटिएको प्रहरी प्रवक्ता (डीआईजी) अबिनारायण काफ्लेले बताए ।
अहिलेसम्म चितवनको नदी तटीय क्षेत्रमा सबैभन्दा धेरै शव भेटिएको छ । चितवनमा ५२ जनाको शव फेला परेको बागमती प्रदेश प्रहरी कार्यालयका एसएसपी राजेन्द्र धमलाले जानकारी दिए । उनका अनुसार हालसम्म बागमती प्रदेशका जिल्लाहरूमा १०६ जनाको शव भेटिएको छ । गण्डकी प्रदेशमा पर्ने गोरखा र पूर्वी नवलपरासीमा पनि नदी तटमा भेटिएको शव निकाले प्रहरीले पहिचान गर्ने प्रयास गरिरहेको छ ।
बाढीको केन्द्रबिन्दु रहेको रसुवामा १६ जना मृत फेला परेका छन् । नुवाकोटमा १७ जना धादिङमा २१ जना मृत भेटिएको एसएसपी धमलाले जानकारी दिए ।
यसैबिच, विनाशकारी बाढीमा परेर बेपत्ता हुने पर्यटकहरूको सङ्ख्या ६४४ पुगेको छ ।
बिहीबार नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको सूचना अनुसार नेपालसहित विभिन्न देशका नागरिकहरू बेपत्ता भएका हुन् ।
बोर्डका अनुसार बेपत्ता हुनेहरूमा सबैभन्दा बढी भारतका १७८, नेपालका १२७, अमेरिकाका ६५, युक्रेनका ५३, मलेसियाका ५१ र अस्ट्रेलियाका ३५ लगायत रहेका छन् ।