२९ दिनपछि कर्णाली सरकार पूर्ण, नेकपाका तीनै मन्त्री महिला

साझा कर्णाली | २०८३ भाद्र ११ गते बिहिवार

भदौ ११,

सुर्खेत: कर्णाली प्रदेश सरकारले गठन भएको २९ दिनपछि पूर्णता पाएको छ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बाट तीन मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएसँगै मन्त्रिपरिषद्ले पूर्णता पाएको हो ।

प्रदेश प्रमुख यज्ञराज जोशीले नवनियुक्त तीनै मन्त्रीलाई बिहीबार पद तथा गोपनीयताको शपथ गराएका हुन् । नेकपाबाट मन्त्री बनेका तीनै जना महिला छन् ।

नवनियुक्त मन्त्रीमा हुम्लाकी जुम्कित लामा, रुकुम पश्चिमका मिलन खड्का र कल्याणी खड्का छन् । लामाले भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, मिलनले भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालय तथा कल्याणीले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी पाएकी छन् ।

मुख्यमन्त्री मंगलबहादुर शाहीले गत १२ साउनमा नेकपा (एमाले) को समर्थनमा सरकारको नेतृत्व सम्हालेका थिए । तर, मन्त्रालय बाँडफाँटमा सहमति नजुट्दा उनले २३ दिनसम्म एक्लै सरकार सञ्चालन गरेका थिए ।

३ भदौमा विश्वासको मत लिनुअघि एमालेसँग मन्त्रालय भागबन्डामा सहमति जुटेपछि एमालेबाट तीन मन्त्री सरकारमा सहभागी भएका थिए । एमालेका तर्फबाट टेकराज पछाईले आर्थिक मामिला तथा योजना, जितबहादुर मल्लले सामाजिक विकास र कलबहादुर हमालले जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयको जिम्मेवारी पाएका थिए ।

एमालेका मन्त्री नियुक्त भइसकेपछि नेकपाभित्र भने थप मन्त्री छनोटको विषयमा विवाद देखिएको थियो । मन्त्रीका आकांक्षी धेरै भएपछि मुख्यमन्त्री शाहीले आफ्नै दलबाट तत्काल मन्त्री नियुक्त गर्न सकेका थिएनन् । विवाद समाधानका लागि उनले पार्टीका शीर्ष नेता पुष्पकमल दाहाल र माधवकुमार नेपालसँग समेत छलफल गरेका थिए ।

यसैबीच, पूर्वसमाजवादी धारबाट आएकी कल्याणी खड्कालाई पनि मन्त्री बनाएर पार्टी एकताको सन्देश दिन खोजिएको देखिन्छ । समाजवादी धारले सरकारमा आफूहरूलाई समेत सहभागी गराउनुपर्ने माग गर्दै आएको थियो ।

तीन मन्त्रीको शपथसँगै मुख्यमन्त्रीसहित नेकपाबाट चार र एमालेबाट तीन गरी कर्णाली मन्त्रिपरिषद् सात सदस्यीय बनेको छ ।