

भदौ ६,
सुर्खेतः विपद्का बेला उद्धार, प्राथमिक उपचार र प्रतिकार्यका लागि भेरीगंगा नगरपालिकाका २६ युवा स्वयंसेवकलाई तालिम दिइएको छ ।
सहकर्मी समाजको आयोजना तथा भेरीगंगा नगरपालिकाको समन्वय र सहकार्यमा सञ्चालन गरिएको जलवायु तथा विपद् व्यवस्थापन न्यूनीकरणसम्बन्धी तीन दिने आधारभूत तालिम शुक्रबार सम्पन्न भएको हो । तालिम भदौ ४ गतेदेखि ६ गतेसम्म सञ्चालन भएको थियो ।
भेरीगंगा नगरपालिकाका नगरप्रमुख यज्ञप्रसाद ढकालको अध्यक्षतामा सञ्चालन भएको तालिममा नगरपालिकाका १३ वटै वडाबाट छनोट भएका २६ जना युवा स्वयंसेवक सहभागी भएका थिए ।
तालिममा सहभागीलाई विपद् जोखिम न्यूनीकरण चक्र तथा सम्बन्धित शब्दावली, प्राथमिक उपचार, बिरामीको प्रारम्भिक अवस्था मूल्याङ्कन, जलन, नाकबाट रगत बग्ने, श्वासप्रश्वाससम्बन्धी समस्या, सीपीआर, घाँटीमा वस्तु अड्किने अवस्था, रक्तस्राव तथा आघात, घाउ, ब्यान्डेज र हड्डी भाँचिएको अवस्थामा गरिने प्राथमिक उपचारबारे जानकारी दिइएको थियो ।

त्यस्तै, घाइतेलाई सुरक्षित रुपमा उठाउने तथा स्थानान्तरण गर्ने विधिबारे सैद्धान्तिक र व्यावहारिक अभ्याससमेत गराइएको थियो । सहभागी स्वयंसेवकहरूले रक्तस्राव नियन्त्रण, जलनको प्राथमिक उपचार, सीपीआर, ब्यान्डेज गर्ने तथा घाइतेलाई सुरक्षित रूपमा स्थानान्तरण गर्ने अभ्यास गरेका थिए ।
तालिमको उद्देश्य स्थानीय समुदायमा विपद् जोखिम न्यूनीकरणसम्बन्धी आधारभूत ज्ञान तथा सीप अभिवृद्धि गर्नुका साथै आपत्कालीन अवस्थामा तत्काल उद्धार, प्राथमिक उपचार तथा प्रभावकारी प्रतिकार्य गर्न सक्ने युवा स्वयंसेवक तयार गर्नु रहेको आयोजकले जनाएको छ ।
तालिमबाट प्राप्त ज्ञान तथा सीपले नगरपालिकाका १३ वटै वडामा विपद्का समयमा युवा स्वयंसेवकलाई प्रभावकारी रूपमा परिचालन गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ । यसले स्थानीय तहको विपद् प्रतिकार्य क्षमता अभिवृद्धि गर्दै सुरक्षित तथा उत्थानशील समुदाय निर्माणमा समेत योगदान पुग्ने विश्वास गरिएको छ ।

समापनका अवसरमा सहभागी स्वयंसेवकहरूले तालिमबाट प्राप्त ज्ञान तथा सीपलाई समुदायमा व्यवहारमा उतार्दै विपद्का समयमा मानवीय सहयोग, प्राथमिक उपचार तथा उद्धार कार्यमा सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
आयोजकका अनुसार तालिमले स्थानीय स्तरमा उपलब्ध युवा जनशक्तिलाई विपद् व्यवस्थापनसँग जोड्दै समुदायको तयारी, प्रतिकार्य क्षमता तथा विपद् जोखिम न्यूनीकरणमा स्थानीय सहभागिता बढाउन महत्वपूर्ण आधार तयार गरेको छ ।
एक्सन एड अन्तरास्ट्रिय नेपालको आर्थिक सहयोग तथा सहकर्मी समाज बाट संचालित स्थानीय अधिकार कायिक्रमको आयोजना तथा भेरीगंगा नगरपालिकाको समन्वय र सहकार्यमा जलवायु तथा विपद् व्यवस्थापन न्यूनीकरणसम्बन्धी तीन दिने आधारभूत तालिम सम्पन्न भएको छ। तालिम भदौ ४ गतेदेखि ६ गतेसम्म सञ्चालन भएको हो ।