

भदाै ३,
सुर्खेतः कर्णाली प्रदेशका मुख्यमन्त्री मंगलबहादुर शाहीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन् । बुधबार बसेको प्रदेशसभा बैठकमा विश्वासको मतका लागि प्रस्ताव पेस गरेका शाहीको पक्षमा २१ र विपक्षमा १३ मत परेको हो ।
४० सदस्यीय प्रदेशसभामा सभामुखबाहेक ३६ सांसद मतदान प्रक्रियामा सहभागी भएका थिए । दुई सांसद तटस्थ बसे भने तीन जना बैठकमा अनुपस्थित रहे । सरकार सञ्चालनका लागि आवश्यक २१ सांसदको समर्थन जुटाएसँगै शाहीले विश्वासको मत पाएका हुन् ।
शाहीलाई आफ्नै दल नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का १४ मध्ये १३ सांसद र नेकपा एमालेका १० मध्ये ८ सांसदले समर्थन गरेका छन् । पूर्वमुख्यमन्त्री राजकुमार शर्मा र राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद सन्तोषी शाही भने मतदानमा तटस्थ बसे ।
नेपाली कांग्रेस र एमालेबीचको सत्ता गठबन्धनमा आएको विवादपछि कर्णालीमा नयाँ सत्ता समीकरण बनेको हो । कांग्रेसका चार मन्त्रीले ३१ असारमा राजीनामा दिएपछि प्रदेश सरकार परिवर्तनको प्रक्रिया अघि बढेको थियो ।
त्यसको भोलिपल्ट नेकपा र कांग्रेसले तत्कालीन मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध प्रदेशसभामा अविश्वास प्रस्ताव दर्ता गरेका थिए । तर, ९ साउनमा नेकपा र एमालेबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति भएपछि कँडेलले मुख्यमन्त्री पदबाट राजीनामा दिएका थिए ।
त्यसपछि एमालेको समर्थनमा १२ साउनमा शाही मुख्यमन्त्री नियुक्त भएका थिए । विश्वासको मत पाएसँगै उनले अब प्रदेश सरकारलाई निरन्तरता दिने संवैधानिक आधारसमेत प्राप्त गरेका छन् । शाही कर्णाली प्रदेशका पाँचौं मुख्यमन्त्री हुन् ।