कर्णाली सरकारको मन्त्रिपरिषदमा डोल्पाको प्रतिनिधित्वको माग

जैतुन अनलाइन | २०८३ साउन १३ गते बुधवार

श्रावण १३,

डोल्पा : केन्द्रमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ र केपी शर्मा ओलीबीच भएको तीनबुँदे राजनीतिक सहमतिको स्वागत गर्दै कर्णाली प्रदेशमा नयाँ सरकार गठन भएसँगै मन्त्रीमण्डल विस्तारका विषयमा छलफल तीव्र बनेको छ । नेपाली कम्युनिष्ट पार्टीका कर्णाली प्रदेश संसदीय दलका नेता मंगलबहादुर शाही प्रदेशको पाँचौँ मुख्यमन्त्रीमा नियुक्त भएसँगै डोल्पा जिल्ला कमिटीले नवनिर्मित मन्त्रीपरिषदमा जिल्लाको तर्फबाट समावेशी प्रतिनिधित्वको विषयलाई प्राथमिकताका साथ उठाएको छ ।

पार्टीका डोल्पा जिल्ला इन्चार्ज हंसबहादुर शाहीको अध्यक्षतामा बसेको बैठकले नवनियुक्त मुख्यमन्त्री शाहीलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दै मन्त्रीमण्डल विस्तारका सम्बन्धमा आफ्नो धारणा सार्वजनिक गरेको हो । बैठकले भौगोलिक रूपमा विकट मानिने डोल्पा जिल्लाबाट प्रतिनिधित्व गर्ने प्रदेशसभा सदस्यहरूलाई मन्त्रीपरिषदमा उपयुक्त जिम्मेवारीका साथ समावेश गर्न मुख्यमन्त्री तथा प्रदेश नेतृत्वसमक्ष आग्रह गरेको छ।

भौगोलिक रूपमा दुर्गम रहेको डोल्पाको विकास निर्माणलाई गति दिन र प्रादेशिक तहमा राजनीतिक सन्तुलन कायम राख्न जिल्लाका सांसदको मन्त्रिपरिषदमा सहभागिता महत्त्वपूर्ण हुने जिल्ला नेतृत्वको भनाइ छ। मागलाई सकारात्मक रूपमा सम्बोधन नगरिए राजनीतिक रूपमा असजिलो परिस्थिति सिर्जना हुन सक्ने भन्दै नेतृत्वको ध्यान आकर्षण गराइएको छ।

मुख्यमन्त्री शाहीले मन्त्रीमण्डल विस्तारको आन्तरिक तयारी अगाडि बढाइरहेका बेला जिल्ला तहबाट आएको यो आग्रहले प्रदेश सरकारलाई भौगोलिक तथा राजनीतिक सन्तुलन मिलाउन थप सहज र सजग बनाएको छ। यस भन्दा पहिला भएका मन्त्रीमण्डलमा डोल्पावाट नियमित रुपमा प्रतिनिधित्व रहदै आएको थियो ।