दुर्गममा टेलिमेडिसिन सेवाः बिरामीको एक करोड बढी रकम बचत

साझा कर्णाली | २०८३ साउन ११ गते सोमवार

 

श्रावण १२,
सुर्खेतः डोल्पाको ठूलीभेरी नगरपालिकाकी मीनकुमारी डाँगीका लागि उपचार भनेको पीडा मात्र नभएर एउटा लामो र महँगो यात्रा पनि थियो । उच्च रक्तचाप (प्रेसर) ले लामो समयदेखि थलिएकी उनलाई शरीर सुन्निने, हातखुट्टा झमझमाउने, कमजोरी हुने र नियमित फलोअप गर्नुपर्ने अवस्था थियो । तर विशेषज्ञ चिकित्सकलाई देखाउन सुर्खेत वा नेपालगञ्ज पुग्नुपथ्र्यो । त्यसका लागि दुई–तीन दिनको यात्रा, हजारौं रुपैयाँ खर्च र घरपरिवारको काम छोड्नुपर्ने बाध्यता थियो । आर्थिक अवस्था कमजोर भएकाले कहिले पैसाको अभाव, कहिले समयको अभाव । त्यसैले उनी स्वास्थ्य चौकीबाट पाइने सामान्य औषधि खाँदै रोगसँग लड्न बाध्य भइन् । तर अहिले परिस्थिति फेरिएको छ ।
मीनकुमारी अहिले जिल्ला अस्पताल डोल्पामै पुगेर भिडियो कलमार्फत सुर्खेतस्थित प्रदेश अस्पतालका विशेषज्ञ चिकित्सकसँग प्रत्यक्ष परामर्श लिन्छिन् । औषधि परिवर्तनदेखि नियमित फलोअपसम्म सबै सेवा आफ्नै जिल्लाबाट पाइरहेकी छन् । उपचारका लागि जिल्ला बाहिर धाउनुपर्ने बाध्यता हटेको छ भने समय र हजारौं रुपैयाँ खर्च पनि जोगिएको छ ।
मीनकुमारीजस्तै अहिले कर्णालीका दुर्गम जिल्लाका हजारौं नागरिकले आफ्नै जिल्लाबाट विशेषज्ञ स्वास्थ्य सेवा लिन थालेका छन् । भौगोलिक विकटता, यातायातको कठिन पहुँच र विशेषज्ञ चिकित्सकको अभावले दशकौंसम्म पछि परेको कर्णालीमा अहिले प्रविधिले स्वास्थ्य सेवाको नयाँ ढोका खोलिदिएको छ ।
छायाँ नेपाल र कर्णाली प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयको सहकार्यमा सञ्चालन भइरहेको दुर चिकित्सा सेवा (टेलिमेडिसिन) ले अहिले कर्णालीका विकट जिल्लाका नागरिकलाई आफ्नै जिल्लाबाट विशेषज्ञ चिकित्सकसम्म पहुँच पुर्‍याइरहेको छ । यस सेवाको सबैभन्दा ठूलो उपलब्धि भने बिरामीको आर्थिक भार घट्नु हो ।
छायाँ नेपालले गरेको अध्ययनअनुसार आर्थिक वर्ष २०८२÷८३ मा मात्रै टेलिमेडिसिन सेवाका कारण कर्णालीका पाँच जिल्लाका बिरामीले रेफरल अस्पतालसम्म पुग्न नपर्दा एक करोड १६ लाख ४२ हजार रुपैयाँ बराबर खर्च बचत गरेका छन् । यो रकम यातायात, खाना, बसोबास, उपचारका क्रममा हुने अन्य गैरचिकित्सकीय खर्च तथा केही प्रत्यक्ष उपचार खर्चसमेत जोडेर निकालिएको हो । कर्णालीजस्तो दुर्गम प्रदेशमा उपचारका लागि जिल्ला बाहिर जाँदा बिरामीले यति रकम खर्चिनुपर्ने बाध्यता यो तथ्यांकले देखाउँछ ।


जिल्लागत रूपमा हेर्दा सबैभन्दा धेरै हुम्लाका बिरामीले २८ लाख २५ हजार रुपैयाँ बचत गरेका छन् । त्यसपछि मुगुमा २५ लाख ३५ हजार, जाजरकोटमा २२ लाख ६२ हजार, डोल्पामा २१ लाख ७५ हजार र कालिकोटमा १८ लाख ४५ हजार रुपैयाँ बराबर खर्च जोगिएको छ ।
टेलिमेडिसिन सेवा सुरु भएपछि प्रदेश अस्पताल सुर्खेतलाई ‘हब’ अस्पताल बनाइएको छ । यहाँ रहेका विभिन्न विशेषज्ञ चिकित्सकले भिडियोमार्फत जिल्ला अस्पताल तथा स्थानीय स्वास्थ्य संस्थामा आएका बिरामीलाई उपचार तथा परामर्श सेवा दिइरहेका छन् । केही दिन अगाडीदेखि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्लाका विशेषज्ञ चिकित्सकसमेत यस सेवामा आबद्ध भएका छन् । यसपछि बिरामीले थप विशेषज्ञ सेवा पाउने अपेक्षा गरिएको छ ।
छायाँ नेपालका सूचना प्रविधि अधिकृत दीपक रोकायका अनुसार हालसम्म डोल्पा, हुम्ला, जाजरकोट, कालिकोट र मुगु गरी पाँच जिल्लाका विभिन्न १५स्थानमा जडान गरिएको टेलिमेडिसिनबाट ३ हजार ६६ जना बिरामीले टेलिमेडिसिन सेवा लिइसकेका छन् ।
तथ्यांकअनुसार डोल्पाबाट ९३४, हुम्लाबाट ६५७, जाजरकोटबाट ५८६, कालिकोटबाट ५०९ र मुगुबाट ३८० जना बिरामीले सेवा लिएका छन् । स्थानीय तहमा विस्तार गरिएको सेवाअन्तर्गत खार्पुनाथ सामुदायिक अस्पताल, पहाडा स्वास्थ्य चौकी, भर्ता स्वास्थ्य चौकी, रतापानी आधारभूत अस्पताल तथा जगतिपुर स्वास्थ्य चौकीबाट थप ९९ जनाले सेवा लिइसकेका छन् ।
सेवा लिनेमध्ये पुरुष १ हजार ५६० र महिला १ हजार ५०६ जना छन् । कुल बिरामीमध्ये १ हजार २३१ जनाले फलोअप सेवा लिएका छन् भने १ हजार ८३५ जना नयाँ बिरामी रहेका छन् । यसले एकपटक मात्रै होइन, नियमित उपचार र निगरानीका लागि समेत टेलिमेडिसिन प्रभावकारी बनेको देखाउँछ ।
रोगका आधारमा हेर्दा छाला रोगका बिरामी सबैभन्दा धेरै छन् । छाला रोगका मात्रै १ हजार १०८ जनाले विशेषज्ञ सेवा लिएका छन् । त्यसपछि मानसिक स्वास्थ्यका ४५७, जनरल मेडिसिनका ३२६, हाडजोर्नीका ३००, बालरोगका २३५, आँखा १९४, कान–नाक–घाँटी १३६, दाँत ११६, स्त्रीरोग १०७ तथा शल्य चिकित्सासम्बन्धी ८७ जना बिरामीले सेवा लिएको अधिकृत रोकायले जानकारी दिए ।
छाला र मानसिक स्वास्थ्यका बिरामीको संख्या सबैभन्दा धेरै हुनु आफैमा कर्णालीको स्वास्थ्य अवस्थाको संकेत पनि हो । विशेषज्ञ चिकित्सकको अभावका कारण विगतमा यस्ता बिरामीले सामान्य समस्याका लागि पनि जिल्ला बाहिर धाउनुपर्ने अवस्था थियो । अहिले भने उनीहरु आफ्नै जिल्लाबाट विशेषज्ञसँग जोडिन पाउँदा खुसी लागेको मुगुकी अमृता हमालले बताइन् ।

जिल्ला अस्पताल डोल्पाका चिकित्सा शाखा प्रमुख मेडिकल अधिकृत डा. अखण्ड उपाध्याय भन्छन्, ‘पहिला विशेषज्ञ सेवा उपलब्ध नहुँदा सामान्य जटिल केससमेत सुर्खेत वा नेपालगञ्ज रेफर गर्नुपथ्र्यो, बिरामीले धेरै पैसा खर्च गरेर यात्रा गर्नुपथ्र्यो तर अहिले भिडियोमार्फत विशेषज्ञ चिकित्सकसँग तत्काल परामर्श गरेर यहीँ उपचार गर्न सकिरहेका छौँ ।’
विशेषगरी छाला, हाडजोर्नी, मानसिक स्वास्थ्य र दीर्घरोगका बिरामीले धेरै लाभ लिएको उनले बताए । चिकित्सकले पनि जटिल बिरामीका विषयमा विशेषज्ञसँग तत्काल छलफल गर्न पाउँदा उपचारको गुणस्तर बढेको उनको भनाइ छ । उनका अनुसार कतिपय बिरामीलाई अनावश्यक रूपमा रेफर गर्नुपर्ने अवस्था हटेको छ भने उपचार निर्णय पनि छिटो हुन थालेको छ ।
स्वास्थ्य सेवा कार्यालय जाजरकोटका मेडिकल अधिकृत डा. कृष्ण घिमिरेका अनुसार एक वर्षअघि सुरु गरिएको टेलिमेडिसिन सेवाले विशेषगरी दुर्गम गाउँबाट आउने बिरामीलाई ठूलो राहत दिएको छ । विगतमा विशेषज्ञ चिकित्सकको परामर्श आवश्यक पर्ने अधिकांश बिरामीलाई सुर्खेत वा नेपालगञ्ज रेफर गर्नुपर्ने अवस्था थियो । तर अहिले भिडियोमार्फत विशेषज्ञ चिकित्सकसँग प्रत्यक्ष परामर्श गरेर धेरै बिरामीलाई जिल्लामै उपचार गर्न सकिएको छ ।
‘हामीले बिरामीलाई विशेषज्ञ चिकित्सकसँग भिडियोमार्फत जोडिदिन्छौँ,’ उनले भने, ‘आवश्यक परीक्षणको रिपोर्ट, भिडियो र अन्य विवरण पठाएर तत्काल परामर्श लिन्छौँ, त्यसपछि धेरै बिरामीलाई यहीँ उपचार गर्न सकिन्छ । यसले बिरामीलाई टाढा जानुपर्ने बाध्यता हटेको छ ।’
टेलिमेडिसिन सेवा सञ्चालनमा छायाँ नेपालले प्रत्येक स्वास्थ्य संस्थामा टेलिमेडिसिन फोकल पर्सन तोकेको छ । उनीहरूलाई नियमित रुपमा प्राविधिक तालिम, सफ्टवेयर सञ्चालन, भिडियो परामर्श व्यवस्थापन तथा समस्या समाधानसम्बन्धी क्षमता अभिवृद्धि तालिम प्रदान गरिँदै आएको छ । प्रदेश अस्पताल सुर्खेतमा रहेको विशेषज्ञ चिकित्सकको टोलीले निर्धारित तालिकाअनुसार सेवा दिइरहेको छ । योसँग अब कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्लाका विशेषज्ञ चिकित्सकसमेत यस सेवामा आबद्ध हुने भएका छन् ।
प्रदेशको सामाजिक विकास मन्त्रालय स्वास्थ्य महाशाखा प्रमुख वृषबहादुर शाहीले टेलिमेडिसिन कर्णाली सरकारको प्राथमिकतामा रहेको कार्यक्रम भएको बताए । उनका अनुसार प्रदेश सरकारले सेवा सञ्चालनका लागि बजेट विनियोजन गरी कार्यविधिसमेत बनाएको भए पनि आवश्यक प्राविधिक जनशक्ति, सूचना प्रविधिको व्यवस्थापन, तालिम र नियमित समन्वयको अभावका कारण सेवा अपेक्षाअनुसार प्रभावकारी बन्न सकेको थिएन ।
‘कर्णाली सरकारले दुर्गम नागरिकलाई विशेषज्ञ स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले टेलिमेडिसिन कार्यक्रम सुरु गरेको हो,’ उनले भने, ‘बजेट पनि विनियोजन गरिएको थियो । तर भौगोलिक विकटता, प्राविधिक जनशक्तिको कमी र सञ्चालन व्यवस्थापनमा चुनौती हुँदा कार्यक्रमले अपेक्षित गति लिन सकेन । अहिले छायाँ नेपालले मन्त्रालयसँग सहकार्य गरेर यसलाई नयाँ ढंगले अघि बढाएको छ ।’
शाहीका अनुसार टेलिमेडिसिनले स्वास्थ्य सेवामा रहेको असमानता कम गर्न महत्वपूर्ण भूमिका खेलेको छ । ‘दुर्गम जिल्लाका नागरिकले विशेषज्ञ चिकित्सक भेट्न दुई–तीन दिन यात्रा गर्नुपर्ने अवस्था धेरै हदसम्म अन्त्य भएको छ,’ उनले भने, ‘उपचारका लागि हुने आर्थिक भार पनि घटेको छ । आगामी दिनमा प्रदेश सरकारले यसलाई अझ संस्थागत र दिगो बनाउँदै सबै जिल्ला तथा स्थानीय तहसम्म विस्तार गर्ने लक्ष्य लिएको छ ।’
छायाँ नेपालका प्रदेश प्रवन्धक मीनबहादुर रावलले कर्णालीको भौगोलिक बनावटका कारण टेलिमेडिसिनजस्तो सेवा अत्यन्त प्रभावकारी भएको बताए । उनका अनुसार दुर्गम गाउँका नागरिकलाई विशेषज्ञ चिकित्सकसम्म पहुँच पुर्‍याउने सबैभन्दा सहज माध्यम नै टेलिमेडिसिन बनेको छ । ‘कर्णालीमा बिरामीभन्दा अस्पताल टाढा छन्, अस्पतालभन्दा विशेषज्ञ चिकित्सक अझ टाढा छन्’ उनले भने, ‘यही दूरी कम गर्न हामीले प्रदेश सरकारसँग सहकार्य गरेर टेलिमेडिसिन विस्तार गरेका हौँ । अहिले हजारौं बिरामीले आफ्नै जिल्लाबाट विशेषज्ञ सेवा लिइरहेका छन् । रेफरल अस्पतालसम्म पुग्नुपर्ने अवस्था घटेको छ । समय र खर्च दुवै बचत भएको छ ।’
आगामी दिनमा थप जिल्ला अस्पताल, पालिका अस्पताल र स्वास्थ्य चौकीसम्म सेवा विस्तार गर्ने योजना रहेको उनले सुनाए । रावलका अनुसार टेलिमेडिसिन सेवा प्रभावकारी बनाउन नियमित प्राविधिक सहयोग, सफ्टवेयर अद्यावधिक, उपकरण व्यवस्थापन, अनुगमन तथा क्षमता अभिवृद्धिका कार्यक्रम सञ्चालन भइरहेका छन् । प्रदेश अस्पताल सुर्खेतपछि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई पनि हब अस्पतालका रुपमा जोडिएको छ ।
टेलिमेडिसिन सेवा सञ्चालनमा केही चुनौती भने अझै बाँकी छन् । विशेषगरी हिमाली तथा उच्च पहाडी क्षेत्रमा इन्टरनेट सेवा अवरुद्ध हुने, बारम्बार विद्युत् अवरुद्ध हुने, केही स्थानमा आवश्यक उपकरणको मर्मत तथा व्यवस्थापनमा समस्या हुने र विशेषज्ञ चिकित्सकको नियमित समय व्यवस्थापन गर्नुपर्ने चुनौती रहेको टेलिमेडिसिन फोकल पर्सनहरूले बताएका छन् । कतिपय स्वास्थ्य संस्थामा दक्ष जनशक्तिको अभावले पनि सेवा प्रभावित हुने गरेको उनीहरुको अनुभव छ ।
छायाँ नेपालले भने ती समस्या समाधानका लागि ब्याकअप पावर प्रणाली जडान, नियमित प्राविधिक सहयोग, सफ्टवेयर अपडेट, पुनर्ताजगी तालिम तथा अनुगमनलाई निरन्तरता दिएको जनाएको छ । स्थानीय सरकार र स्वास्थ्य संस्थाको स्वामित्व बढाउँदै लैजान सके सेवा अझ दिगो हुने विश्वास छायाँ नेपालले लिएको छ ।

फोटो क्याप्सन १, २, ३, ४ः कर्णाली विभिन्न जिल्लाका बिरामीले सुर्खेतस्थित प्रदेश अस्पतालका विशेषज्ञ चिकित्सकसँग भिडियोमार्फत परामर्श लिँदै ।
फोटो क्याप्सन ५ः टेलिमेडिसिन सञ्चालन गर्ने तरिका, बिरामीको रेकर्डलगायत विषयमा फोकल पर्सनलाई सिकाउँदै छायाँ नेपालका सुचना प्रविधि अधिकृत दिपक रोकाय ।