
श्रावण ०९,
डोल्पा : डोल्पाको माथिल्लो क्षेत्रमा रहेको डोल्पोबुद्ध गाउँपालिका–३ स्थित धो स्वास्थ्य चौकीमा पहिलो पटक सुरक्षित संस्थागत सुत्केरी सेवा सफल भएको छ। संघीयता कार्यान्वयन भएको झन्डै एक दशकपछि गाउँपालिकाको स्वास्थ्य संस्थामै पहिलो पटक गर्भवती महिलाको सफलतापूर्वक प्रसूति गराइएको हो।
शुक्रबार डोल्पोबुद्ध गाउँपालिका–३ निवासी ३१ वर्षीया धावा आङमो लामालाई धो स्वास्थ्य चौकीको बर्थिङ सेन्टरमा सुरक्षित रूपमा सुत्केरी गराइएको धो स्वास्थ्य चौकीका प्रमुख चन्द्रराज बुढाले जानकारी दिए । बुढाका अनुसार आमा र नवजात शिशु दुवैको स्वास्थ्य अवस्था सामान्य रहेको र यो स्वास्थ्यकर्मिका लागि निकै सुखद पक्ष रहेको बताए।

धो स्वास्थ्य चौकिमा सुत्केरी गराउने कार्यमा हेल्थ असिस्टेन्ट कार्मा साङमो थापा भोटे, अहेब, अ.न.मि. कर्मा साङमो लामा लगायत स्वास्थ्यकर्मीहरूको टोलीले महत्वपूर्ण भूमिका निर्वाह गरेको थियो। सीमित स्रोत–साधनका बीच स्वास्थ्यकर्मीहरूको समन्वय र प्रयासबाट सुरक्षित प्रसूति सेवा सम्भव भएको स्थानीयले बताएका छन्। यसरी बिभिन्न समस्याका बावजुत पनि सफल सुत्केरी गराउने स्वास्थ्यकर्मिलाइ सुत्केरीका परिवारले धन्यवाद समेत दिएका छन ।
स्वास्थ्य संस्थाका हिसाबले डोल्पोबुद्ध गाउँपालिका भौगोलिक रूपमा निकै कठिन छ । पालिकामा लामो समयसम्म दक्ष स्वास्थ्य जनशक्तिको अभाव, आवश्यक प्रसूति उपकरणको कमी, दुर्गम भौगोलिक अवस्था तथा यातायात पहुँचको कठिनाइका कारण स्वास्थ्य संस्थाबाट नियमित प्रसूति सेवा दिन नसकेको डोल्पोबुद्ध गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख सुरेन्द्र बिकले बताए । उनले भने स्वास्थ्य संस्थाका भौतिक संरचना,दक्ष जनशक्ति र उच्च हिमाली क्षेत्र भएका कारण तापक्रम न्युन हुने भएकाले पनि सेवा प्रभाबित भएको हो ।

स्थानीय सरकारका अनुसार संरचनागत चुनौतीका कारण संस्थागत सुत्केरी सेवा विस्तार हुन नसक्नु प्रमुख कारण हो भने यस्का साथै धार्मिक तथा सांस्कृतिक आस्थाका कारण पनि धेरै गर्भवती महिलाले स्वास्थ्य संस्थाभन्दा घरमै सुत्केरी हुने परम्परा अपनाउँदै आएको बताउँछन्। यही कारण बर्थिङ सेन्टरको उपयोग पनि अपेक्षाअनुसार हुन नसकेको अनुमान गरिएको छ । स्वास्थ्य संस्थामा जादा ब्यथा धेरै समय लाग्ने सुत्केरी हुदा अरुले नदेखुन भन्ने परम्परागत मान्यता भएको कारण पनि सहजै स्वास्थ्य संस्था सम्म आउदैनन सुत्केरी आमाहरु ।
स्वास्थ्यकर्मीहरूले भने सुरक्षित मातृत्वका लागि संस्थागत सुत्केरी सबैभन्दा प्रभावकारी उपाय भएकाले गर्भवती महिलालाई नियमित गर्भ परीक्षण, स्वास्थ्य संस्थामै प्रसूति तथा नवजात शिशुको उचित हेरचाहका लागि जनचेतना मुलक कार्यक्रम भई रहेको बताएका छन्।
डोल्पोबुद्ध गाउँपालिकाले धो स्वास्थ्य चौकीमा सम्पन्न भएको पहिलो संस्थागत सुत्केरीलाई स्थानीय स्वास्थ्य सेवाको ऐतिहासिक उपलब्धि का रूपमा लिँदै आगामी दिनमा बर्थिङ सेन्टरलाई थप सुदृढ बनाउने, आवश्यक उपकरणको व्यवस्थापन गर्ने तथा दक्ष स्वास्थ्य जनशक्तिको क्षमता अभिवृद्धि गर्दै संस्थागत प्रसूति सेवाको पहुँच विस्तार गर्ने प्रतिबद्धता जनाएको छ।