
श्रावण ०७,
डोल्पा : पछिल्ला केही दिनयता डोल्पा जिल्लामा भएका विभिन्न घटनाक्रमले जिल्लाको शान्ति सुरक्षामाथि गम्भीर प्रश्न उठाएको भन्दै नागरिक समाज डोल्पाले चिन्ता व्यक्त गरेको छ। जिल्लामा नागरिकले सुरक्षित महसुस गर्दै ढुक्कसँग आफ्नो दैनिकी, व्यवसाय तथा पेशागत काम गर्न सक्ने वातावरण अझै बन्न नसकेको नागरिक समाज डोल्पाका अध्यक्ष शेर बहादुर बुढाले बताए ।
नागरिक समाजका प्रतिनिधिहरू बिच बिहिवार डोल्पा सदरमुकाम दुनैमा भएको छलफलमा जिल्लामा सुरक्षा निकाय र नागरिकबीच विश्वासको सम्बन्ध क्रमशः कमजोर बन्दै गएको निश्कर्ष निकालेका छन । उनीहरूका अनुसार प्रहरीका “प्रहरी मेरो साथी”, “समुदाय–प्रहरी साझेदारी” लगायतका जनमुखी नाराहरू व्यवहारमा प्रभावकारी रूपमा अनुभूत हुन नसक्दा नागरिक र प्रहरीबीचको दूरी झन् बढ्दै गएको महसुस गरिएको बताए ।
नागरिक समाज डोल्पाले बोलाएको छलफलमा जिल्लाका राजनीतिक दलहरूले समेत जिल्लाको सुरक्षा अवस्थाप्रति असन्तुष्टि जनाउँदै सुरक्षा निकायले नागरिकमा विश्वास जगाउने गरी प्रभावकारी भूमिका निर्वाह गर्न नसकेको आरोप लगाएका छन्। नागरिक र सुरक्षा निकायबीचको सम्बन्ध सुमधुर हुन नसक्नु जिल्लाको शान्ति, सुरक्षा र सामाजिक सद्भावका लागि दुःखद पक्ष भएको नागरिक समाज डोल्पाका अध्यक्षले बताए।
यस्तै, पछिल्ला घटनाक्रमले जिल्लाका निर्माण व्यवसायी तथा उद्योगी–व्यवसायीलाई प्रत्यक्ष असर पुर्याएको भन्दै निर्माण व्यवसायी र उद्योग वाणिज्य क्षेत्रले आपत्ति जनाएका छन्। यस्ता घटनाले व्यवसाय सञ्चालनमा असुरक्षा बढाएको, लगानीको वातावरण कमजोर बनाएको र जिल्लाको अर्थतन्त्र नै धराशायी हुने जोखिम सिर्जना गरेको डोल्पा उधोग बाणिज्य सँघका अध्यक्ष लालिमान बुढाले चिन्ता ब्यक्त गरे। बुढाले भने राज्यका निकायले काम गर्दा जिल्लाको वास्तवीक अवस्था,भौगोलिकता,संस्कृति र परिस्थितिलाइ बुझेर काम गर्दा नागरकिले राज्य भएको अनुभुति गर्नसक्छ ।
नागरिक अगुवाहरूले शान्ति सुरक्षा कायम गर्नु मात्र नभई नागरिकलाई ढुक्क भएर हिँडडुल गर्ने, व्यवसाय सञ्चालन गर्ने र आफ्नो पेशागत जिम्मेवारी निर्वाह गर्ने वातावरण निर्माण गर्नु राज्यको दायित्व भएको बताएका छन्। उनीहरूले सुरक्षा निकायप्रति नागरिकको विश्वास बढाउने, नियमित संवाद गर्ने र समुदायसँगको सम्बन्धलाई व्यवहारमै बलियो बनाउनेतर्फ विशेष ध्यान दिनुपर्नेमा जोड दिदै नागरिक त्रसित हुने वातावरण राज्यको निकायले गर्न नुहेन समेत तर्क गरेका छन्।
यसै सन्दर्भमा नागरिक समाज डोल्पाले प्रमुख जिल्ला अधिकारीसँग जिल्लाको समग्र सुरक्षा अवस्था, नागरिकको सुरक्षाको अधिकार, पछिल्ला घटनाक्रम तथा सुरक्षा निकायको भूमिकाबारे विस्तृत छलफल गर्ने तयारी गरेको नागरिक समाज डोल्पामा अध्यक्ष शेर बहादुर बुढाले बताए।
नागरिक समाज डोल्पाका अध्यक्ष बुढाले भने नागरिक, प्रशासन, सुरक्षा निकाय, राजनीतिक दल, निजी क्षेत्र र नागरिकबीच प्रभावकारी समन्वय, पारदर्शी संवाद र विश्वासको वातावरण निर्माण गर्न सके मात्र डोल्पामा दिगो शान्ति, सुरक्षित व्यवसायिक वातावरण र नागरिकमा सुरक्षा अनुभूति स्थापित हुने विश्वास व्यक्त गरे। उनले भने यस्को मतलब सुरक्षाको बिरुद्धको कुरा हैन समन्वयात्मक भुमिका कम्जोर रहेको भन्ने चाहि हो ।