

श्रावण ०७,
सुर्खेतः निबन्ध कृति ‘स्वस्पर्श’ का लागि लेखक तथा चिकित्सक डा. नवराज केसीलाई ‘पारिजात कृतिसम्मान–२०८२’ प्रदान गरिने भएको छ । पारिजात स्मृति केन्द्रले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै उक्त सम्मानको घोषणा गरेको हो ।
केन्द्रका अनुसार आख्यान, कविता र निबन्ध विधाका अन्तिम चरणमा छनोट भएका आठ कृतिमध्ये ‘स्वस्पर्श’ उत्कृष्ट ठहरिएपछि छनोट समितिको सिफारिसका आधारमा सम्मान प्रदान गर्ने निर्णय गरिएको हो ।
सम्मान घोषणा भएपछि डा. केसीले उक्त सम्मान आफ्नो पुस्तक ‘स्वस्पर्श’ का पात्रहरुलाई समर्पण गर्ने बताएका छन् । ‘पारिजातका कृतिहरु सानैदेखि खोजी–खोजी पढियो, समाज चिनियो र बाँच्न सिकियो,’ उनले फेसबुकमा लेखेका छन्, ‘स्वस्पर्श’ले प्राप्त गरेको ‘पारिजात कृतिसम्मान–२०८२’ म यसै पुस्तकका पात्रहरूलाई अर्पण गर्न चाहन्छु, जसको जीवन अध्ययनले सामान्य जीवनमै पनि असामान्य खुसी प्राप्त गर्न सकिन्छ भन्ने प्रेरणा दिन्छ ।’
मानसिक स्वास्थ्यका विषयमा चिन्ता व्यक्त गर्दै उनले नेपाली साहित्यलाई समाजका लागि उपचारको एउटा माध्यमका रुपमा विकास गर्नुपर्ने धारणा राखेका छन् । ‘विश्वमा हरेक दिन दुई हजारभन्दा बढी मानिसले आत्महत्या गरेर ज्यान गुमाइरहेका छन् । नेपालमा अवस्था अझ भयावह छ । बढ्दो मानसिक विकारको आरोग्यमार्गमध्ये नेपाली साहित्य पनि एक हो भन्ने मेरो गहिरो विश्वास छ,’ उनले भने, ‘नेपाली साहित्यको आत्मामै बौद्धमार्ग, गीतादर्शन र पारिजातजस्ता स्रष्टाको परिश्रम छ । विद्यालय तहदेखि नै यसको अध्ययन गरियोस्, अझ धेरै कृति लेखिऊन् र तिनको उपयुक्त भाषामा अनुवाद होस् । नेपाली साहित्य विश्वव्यापी मानसिक स्वास्थ्य संकटको अमूल्य ओखती बनोस् ।’
पारिजात स्मृति केन्द्रले यस वर्षदेखि ‘पारिजात कृतिसम्मान’ प्रदान गर्ने निर्णय गरेको हो । छनोट समितिले पहिलो चरणमा आख्यानतर्फ ‘अग्निगर्भ’ (अर्चना थापा), ‘अज्ञात’ (केशवराज ज्वाला), ‘बिजयिनी’ (दीपा दाहाल), ‘सलह’ (श्रवण मुकारुङ) र ‘दहाड’ (नवीन अभिलाषी), निबन्धतर्फ ‘स्वस्पर्श’ (डा. नवराज केसी) र ‘मध्येको उज्यालो’ (भूपिन), तथा कवितातर्फ ‘बगावतनामा’ (रिमा केसी) लाई अन्तिम चरणका लागि छनोट गरेको थियो ।
उक्त सम्मान साउन १० गते आयोजना हुने विशेष समारोहमा प्रदान गरिने पारिजात स्मृति केन्द्रले जनाएको छ ।