मुख्यमन्त्री कँडेलविरुद्धको अविश्वास प्रस्तावलाई नेकपाको साथ, पक्षमा मतदान गर्ने निर्णय

जैतुन अनलाइन | २०८३ साउन ७ गते बिहिवार

श्रावण ७,

सुर्खेतः नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध दर्ता भएको अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने निर्णय गरेको छ।

बिहीबार बिहान बसेको नेकपा संसदीय दलको बैठकले अविश्वास प्रस्तावको समर्थन गर्ने निर्णय गरेको प्रमुख सचेतक कृष्णबहादुर जीसीले जानकारी दिए। उनका अनुसार यसअघि नेपाली कांग्रेससँग मिलेर दर्ता गरिएको प्रस्तावलाई अनुमोदन गर्ने गरी दलले औपचारिक निर्णय गरेको हो।

गत ३१ असारमा कांग्रेसबाट सरकारमा सहभागी चार मन्त्रीले राजीनामा दिएका थिए। त्यसको भोलिपल्ट ३२ असारमा कांग्रेस र नेकपाले संयुक्त रूपमा मुख्यमन्त्री कँडेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरेका थिए। उक्त प्रस्तावमा नेकपाका ११ र कांग्रेसका पाँच प्रदेशसभा सदस्यको हस्ताक्षर रहेको छ।

यसअघि बुधबार बसेको नेपाली कांग्रेस संसदीय दलको बैठकले पनि अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने निर्णय गरिसकेको छ। प्रदेशमा एमालेसँग सहकार्य नगर्ने कांग्रेसको निर्णयपछि मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव दर्ता भएको हो।

मुख्यमन्त्रीका लागि नेकपाले कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीलाई अघि सारेको छ। कांग्रेससँगको गठबन्धन अन्त्य भएपछि नेकपा र एमालेबीच सहकार्यको चर्चा भए पनि त्यसबारे औपचारिक सहमति वा स्पष्ट खाका सार्वजनिक भएको छैन।

उता एमालेले भने केन्द्रमा नेकपासँग गठबन्धनका विषयमा छलफल जारी रहेकाले हालसम्म प्रदेश सरकारबारे आधिकारिक धारणा सार्वजनिक गरेको छैन।

४० सदस्यीय कर्णाली प्रदेशसभामा सरकार गठनका लागि २१ सांसदको समर्थन आवश्यक पर्छ। प्रदेशसभामा कांग्रेस र नेकपाका १४–१४, एमालेका १० तथा राप्रपा र एक स्वतन्त्र सांसद छन्। आज बस्ने कार्यव्यवस्था परामर्श समितिको बैठकले अविश्वास प्रस्तावलाई प्रदेशसभा बैठकको कार्यसूचीमा समावेश गर्ने सम्भावना रहेको छ।