जगदुल्ला बाढि पीडितलाई नेपाल बैंक जगदुल्लाको राहत

जैतुन अनलाइन | २०८३ असार २२ गते सोमवार

असार २२,

डोल्पा : नेपाल बैंक लिमिटेड (२४९) जगदुल्ला शाखा डाेल्पाले बाढीपीडितलाई करिब एक लाख ४० हजार  बराबरकाे खाध्यान्न सामाग्री हस्तान्तरण गरेकाे छ। यहीँ असार २० गते राति करिब १ बजे तिर डाेल्पाकाे जगदुल्ला गाउँपालिकाकाे गैरीगाउँ स्थित धुलाे खाेलामा लेदाे सहितकाे बाढी आउदा एक जनाकाे मृत्यु भएकाे थियाे भने ६ जना स्थानीय बासिन्दा घाइते भएका थिए। उक्त बाढीपहिरोबाट करिब ३२ घरपरिवार बिस्तापित भएका छन।

बाढीले घरवारविहीन भएका पिडितकाे घाउमा मलम लगाउने उदेश्यले नेपाल बैंक लिमिटेड जगदुल्ला शाखाले बाढीपहिरोबाट प्रभावित नागरिकको लागि राहतस्वरुप २५ केजीका २८ बोरा चामल, २८ लिटर खाने तेल, ५० केजी केराउ, ८ कार्टुन चाउचाउ र ७२ पिस साबुन गरि करिब  १ लाख ४० हजार बराबरको खाद्यान्न सामाग्री राहत स्वरूप जगदुल्ला  गाउँपालिका अध्यक्ष नारसिंह राेकायालाई हस्तान्तरण गरेकाे नेपाल बैंक लिमिटेड जगदुल्ला शाखा प्रबन्धक रभि रस्ताेगीले जानकारी दिएका छन। शाखा नजिकैको बस्तीमा नसाेचेकाे दुखद घटना घटेको भन्दै यस दुखद घडीमा साथ सहयाेग र ऐक्यबद्धता हुन पनि शाखा प्रबन्धक रस्ताेगीले आग्रह गरेका छन।

गैरीगाउँका बाढीपिडितलाई संकटको बेला खाध्यान्न उपलब्ध गराएकाेमा नेपाल बैंक लिमिटेड जगदुल्ला शाखालाई जगदुल्ला गाउँपालिका अध्यक्ष नारसिंह राेकायाले धन्यवाद व्यक्त गरेका छन। याे बेला जगदुल्ला गाउँपालिका शाेकमा डुबेको छ। सबैको सहयाेगकाे खाँचो रहेकाे हुदा सकेजति सहयाेग गर्न अध्यक्ष राेकायाले आग्रह गरेका छन।