एकै दिनमा ३ जना गर्भवती आमाको सफल शल्यक्रिया

जैतुन अनलाइन | २०८३ असार २१ गते आइतवार

असार २१,

डोल्पा : डाेल्पामा एकै दिनमा ३ जना गर्भवती आमाको शल्यक्रिया सफल भएको छ । जिल्ला अस्पताल दुनै डाेल्पामा पहिलो पटक एकै दिन तीन जना गर्भवती आमाको सफल सिजेरियन शल्यक्रिया गरिएको हो। आइतबार डोल्पामा पहिलोपटक  एकै दिन तीन जना गर्भवती आमाहरुकाे सफलतापूर्वक शल्यक्रिया भएको स्वस्थ्य सेवा कार्यालय डाेल्पाका प्रमुख डाक्टर सिजन रावलले जानकारी दिएका छन।

स्वास्थ्य प्रमुख डाक्टर रावलका  अनुसार अस्पतालका एमडिजिपि डा. विदुर तिवारीको नेतृत्वमा तथा एएसबीए डा. नविन शाहीको सहयोगमा काइके गाउँपालिका-४ निवासी २४ वर्षीया गर्भवती महिलाको बिहान १०:४५ बजे इलेक्टिभ एलएससिएस विधिबाट २६०० ग्राम तौलको शिशु जन्माइएको थियो। यसअघि पनि ती महिलाले सिजेरियनमार्फत नै बच्चा जन्माएकाले यसपटक पनि सोही विधि अपनाइएको अस्पतालले जनाएको छ। त्यस्तै त्रिपुरासुन्दरी नगरपालिका-४ निवासी २८ वर्षीया गर्भवती महिलाको दिउँसो १:३५ बजे आपतकालीन एलएससिएस मार्फत २५०० ग्राम तौलको शिशु जन्माइएको थियो। गर्भमै शिशुले दिसा गरेको अवस्थाका कारण आकस्मिक शल्यक्रिया गर्नुपरेको हाे ।

त्यस्तै अस्पतालले त्रिपुरासुन्दरी नगरपालिका-२ निवासी २४ वर्षीया गर्भवती महिलाको बेलुका ५:१५ बजे आपतकालीन एलएससिएस विधिबाट ३२०० ग्राम तौलको शिशु जन्माइएको थियो। शिशु गर्भमा तेर्सो अवस्थामा रहेकाले आकस्मिक शल्यक्रिया गरिएको हाे। तीन वटै शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएपछि आमा र नवजात शिशुहरूको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ। डाेल्पामा पुन एकै दिनमा तीन वटा शल्यक्रिया सफल पार्न  संलग्न सम्पूर्ण स्वास्थ्यकर्मीलाई स्वस्थ्य सेवा कार्यालय डाेल्पाका प्रमुख डाक्टर रावलले धन्यवाद व्यक्त गरेका छन। यस भन्दा पहिला २०८१ साल असार २८ गते पहिलो पटक एकै दिन ३ गर्भवती आमाको शल्यक्रिया गरी सुत्केरी गराईएको थियो ।