
डोल्पा : महिलामा देखिने क्यान्सरमध्ये स्तन क्यान्सर सबैभन्दा धेरै हुने रोगका रूपमा रहेको चिकित्सकले बताएका छन्। समयमै पहिचान र उपचार गर्न सके स्तन क्यान्सर निको पार्न सकिने भएकाले प्रत्येक महिलाले नियमित रूपमा आफ्नो स्तनको स्व–परीक्षण (Breast Self-Examination) गर्नुपर्नेमा जोड दिइएको छ।
स्वास्थ्यसम्बन्धी अध्ययन सामग्रीअनुसार स्तनमा गाँठो आउनु, स्तनको आकार वा बनोटमा परिवर्तन देखिनु, छालामा परिवर्तन आउनु, स्तन कडा हुनु वा दुख्नु, स्तनको मुन्टो भित्र पस्नु वा असामान्य रूपमा दायाँ–बायाँ सर्नु तथा काखीमा गाँठो देखिनु जस्ता लक्षणहरू देखिएमा तुरुन्त स्वास्थ्य संस्थामा गई परीक्षण गराउनुपर्ने उल्लेख गरिएको छ।

एमडीजिपि डाक्टर बिदुर तिवारीले स्वास्थ्य रुग्णताकाे स्क्रिनिङ तथा राेकथामका लागि चेतना फैलाउन सहभागीहरुलाई आग्रह गर्दै पाठेघर खस्ने समस्याको राेकथाम तथा व्यवस्थापन, पाठेघर खस्ने समस्याका लक्षणहरु, पाठेघरकाे मुखकाे क्यान्सरबाट बच्ने उपायहरू , बाँजाेपन, स्तन क्यान्सर, पाठेघरकाे मुखकाे क्यान्सर, प्रसाफिस्टाेल लगाएतका बारेमा जानकारी गराइएका थिए ।

यस्तै, महिनावारी सुरु भएको उमेर कम हुनु, पहिलो सन्तान ढिलो जन्माउनु, स्तनपान नगराउनु, परिवारमा स्तन क्यान्सरको इतिहास हुनु, धूम्रपान तथा मदिरा सेवन, मोटोपन, हर्मोन थेरापी लगायतका कारणले स्तन क्यान्सरको जोखिम बढ्न सक्ने जनाइएको छ। स्वास्थ्यकर्मीका अनुसार २० वर्ष वा सोभन्दा माथिका महिलाले महिनावारी सकिएको करिब एक सातापछि प्रत्येक महिना आफ्नै स्तनको स्व–परीक्षण गर्नुपर्छ। यसरी गरिने नियमित परीक्षणले स्तनमा हुने असामान्य परिवर्तन प्रारम्भिक अवस्थामै पत्ता लगाउन मद्दत गर्ने र समयमै उपचार सुरु गर्न सहज हुने विश्वास गरिएको छ।

विशेषज्ञहरूले स्तन क्यान्सरबारे लाज वा डर नमानी कुनै पनि असामान्य लक्षण देखिएमा तत्काल स्वास्थ्य संस्थामा सम्पर्क गर्न आग्रह गरेका छन्। उनीहरूका अनुसार “समयमै पहिचान, समयमै उपचार” नै स्तन क्यान्सरबाट ज्यान जोगाउने सबैभन्दा प्रभावकारी उपाय हो। विश्व स्वास्थ्य संगठन (WHO) का अनुसार स्तन क्यान्सर विश्वभर महिलामा सबैभन्दा बढी देखिने क्यान्सर हो। तर, समयमै रोग पहिचान गरी उपचार सुरु गर्न सके अधिकांश बिरामीको जीवन बचाउन सकिने चिकित्सकहरू बताउँछन्। स्वास्थ्यकर्मीहरूले लाज, डर वा भ्रमका कारण परीक्षण नगरी घरमै बस्ने प्रवृत्तिले रोग जटिल बन्ने भएकाले स्तनमा कुनै पनि असामान्य परिवर्तन देखिए तत्काल नजिकको स्वास्थ्य संस्थामा पुगेर जाँच गराउन सबै महिलालाई आग्रह गरेका छन्।
स्वास्थ्य सेवा कार्यालय डाेल्पाका प्रमुख तथा कार्यक्रमका सभाअध्यक्ष डाक्टर सिजन रावलले अन्तरक्रिया कार्यक्रममा सहभागीहरुलाई छलफलबाट सिकेका कुरा समुदाय स्तर तथा कार्यक्षेत्रमा सचेतना फैलाउन आग्रह गरेका छन। स्वास्थ्य सेवा कार्यालय डाेल्पामा कार्यरत सिनियर ए एन एम गंगा कुमारी ओझाले प्रजनन स्वास्थ्य रुग्णताकाे स्क्रिनिङ तथा राेकथामका लागि चेतना फैलाउने एक दिने अन्तरक्रिया कार्यक्रमकाे सहजीकरण गरेकी थिइन् ।