स्याउलाई सुपरजाेनमा लैजाने बाख्रा, च्याङ्‌ग्रा र रैथाने बालीको जोन थप गर्न माग

जैतुन अनलाइन | २०८२ फाल्गुन २८ गते बिहिवार

फागुन २८,

डाेल्पा : राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यान्वयन एकाइ डाेल्पाकाे आयाेजनामा नीति तथा कार्यक्रम कार्यान्वयन समन्वय बैठक सम्पन्न भएको छ। जिल्ला समन्वय समिति डाेल्पाका प्रमुख श्याम बहादुर राेकायाकाे अध्यक्षतामा बसेको समन्वय बैठकले हाल सम्म जिल्लाका विभिन्न ठाउँमा कृषकहरु द्वारा संचालित सिमी जाेन र स्याउ जाेनकाे अवस्था बारे समिक्षा तथा छलफल गरिएको छ।

विभिन्न जिम्मेवार निकायका प्रतिनिधिहरु सहभागी बैठकमा जिल्लामा उत्पादनलाई बृदि गरि बजारीकरण गर्नमा जाेड दिनुपर्ने धारणा रहेकाे छ। बिहिवार सम्पन्न नीति तथा कार्यक्रम कार्यन्वयन समन्वय बैठकले विभिन्न निर्णय गरेकाे छ। बैठकले जोन र जोनका क्षेत्र विस्तार गर्न प्रदेश परियोजना कार्यान्वयन समन्वय तथा अनुगमन समितिलाई सिपारिश गर्ने, स्याउ जोनको स्तरोन्नति गरि स्याउ सुपरजाेनको माग गर्ने, बाख्रा, च्याङ्‌ग्राको नया जाेन माग गर्ने, रैथाने बालीको नयां जाेन माग गर्ने, यस कार्यक्रम कार्यान्वयन एकाईबाट संचालित विगतका योजना तथा उपलब्धिको समिक्षा गरि साथै डोल्पाको हावापानी र माटोको अध्ययन गरी हावापानी र माटोमा सुहाँउदो फलफूल तथा वाली वस्तुको उत्पादनमा जोड दिई डोल्पामा उत्पादित स्थाउ र सिमिको वजारीकरण, विविधिकरण र भण्डारणका लागि थप कार्यक्रम संचालन गर्ने र संचालित आयोजनालाई निरन्तर‌ताका लागि सिफारिश गर्ने निर्णय गरिएकाे प्रधानमन्त्री कृषि आधुनिकीकरण परियाेजना कार्यक्रम, कार्यक्रम कार्यनयन एकाइ डाेल्पाका कार्यालय प्रमुख गाेविन्द बहादुर मल्लले जानकारी दिएका छन।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियाेजनाकाे नामले आ.व. २०७६/०७७ देखि सुरु भएकाे हाल राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यक्रम कार्यनयन एकाइले हाल सम्म डाेल्पामा करिब १८ कराेड ८१ लाख बराबरको कार्यक्रम संचालन गरिसकेको छ। डाेल्पाकाे ठुलीभेरी नगरपालिकाका- ११ वटा वडा, जगदुल्ला गाउँपालिकाका- ६ वटा वडा र त्रिपुरासुन्दरी नगरपालिकाकाे वडा नं. ३ र ४  गरि १९ वटा वडामा स्याउ जाेन कार्यक्रम संचालन भैरहेको छ भने मुड्केचुला गाउँपालिकाका- ९ वटा वडा र काईके गाउँपालिकाकाे ७ वटा वडामा गरि १६ वटा वडामा दलहन बाली सिमी जाने कार्यक्रम संचालन भैरहेको राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यक्रम कार्यान्वयन एकाइ डाेल्पाका कार्यालय प्रमुख गाविन्द बहादुर मल्लले बताएका छन।

कार्यालयले स्थापनाकालदेखि हाल सम्म २ सय १२ वटा साना सिचाइ निर्माण गरि १ सय २५  हेक्टर क्षेत्रफलमा सिचाइ, १९ वटा नर्सरी स्थापना, ९२ वटा विभिन्न प्रकार मेसिनरी सामाग्री वितरण, १४ वटा घेराबार निर्माण, व्यवसाय मार्फत २ हजार ७३ जनालाई सिजनल राेजगारी र ४१ जनालाई पुर्ण राेजगारी, ४ सय ४३ जना कृषकलाई तालिम लगाएतका विभिन्न सचेततामुलक कार्यक्रम मार्फत कृषकहरुलाई अवसर दिएकाे कार्यालय प्रमुख मल्लले बताएका छन। जिल्लामा संचालित स्याउ जाेन र सिमी जाेनलाई सपुर जाेनमा संचालन गर्न सम्बन्धित निकायमा पहल गरिने कार्यक्रमका सभा अध्यक्ष तथा समन्वय समिति डाेल्पाका प्रमुख श्याम बहादुर राेकायाले बताए। डाेल्पा जिल्ला कृषि उत्पादनमा भरिलाे भुगाेल भएकाे हुदा आवश्यकता अनुसारका कार्यक्रम संचालन गर्न ध्यान दिन प्रमुख राेकायाले सबैलाई आग्रह गरेका छन। उत्पादन संगै बजारीकरणमा ध्यान दिन आवश्यक रहेकाे उनले बताएका छन।