
फागुन ११,
डोल्पा : निर्वाचनको संवेदनशील घडीमा मुख्य निर्वाचन अधिकृतको कार्यालयले सञ्चारमाध्यमसँग अपेक्षित समन्वय नगरेको भन्दै डोल्पाका सञ्चारकर्मीहरूले गम्भीर असन्तुष्टि व्यक्त गरेका छन्। सूचना प्रवाहमा कन्जुस्याइँ र व्यवहारगत दूरीका कारण निर्वाचन प्रक्रियाबारे तथ्यपरक सूचना संप्रेषणमा समस्या उत्पन्न भएको उनीहरूको आरोप छ।
जिल्ला निर्वाचन कार्यालय, डोल्पाद्वारा २०८२ फागुन ११ गते आयोजित “निर्वाचन र आमसञ्चार विषयक एक दिवसीय जिल्ला स्तरीय अन्तरक्रिया कार्यक्रम–२०८२” मा सञ्चारकर्मीहरूले मुख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायाधीश समेत रहेका चन्द्रदेब भारतीकाे भूमिकाप्रति प्रश्न उठाएका हुन्।

कार्यक्रममा बोल्दै सञ्चारकर्मीहरुले मुख्य निर्वाचन अधिकृतको कार्यालय र सञ्चारकर्मीबीच समन्वय अभाव रहेको बताए। सञ्चारकर्मीहरुले जिल्ला न्यायाधीशको दम्भमा नभई मुख्य निर्वाचन अधिकृतको जिम्मेवारीअनुसार प्रस्तुत हुनुपर्ने धारणा राख्दै जिल्ला न्यायाधीश तथा मुख्य निर्वाचन अधिकृत चन्द्रदेव भारतीले सञ्चारमैत्री व्यवहार अपनाउनुपर्नेमा जोड दिए।
सार्वजनिक मञ्चमा सुशासन, पारदर्शिता र नीतिगत आदर्शको चर्चा गरिए पनि व्यवहारमा त्यसको कार्यान्वयन नदेखिँदा निर्वाचनको समयमा सञ्चारमाध्यम र मुख्य निर्वाचन अधिकृत कार्यालयबीच दूरी बढेको गुनासो सञ्चारकर्मिले पोखे। देश निर्वाचनमय बनिरहेका बेला सूचना प्रवाहमा सक्रियता अपेक्षित भए पनि त्यसो हुन नसकेको आरोप समेत लगाए।

कार्यक्रममा जिल्ला निर्वाचन अधिकारी दिलकृष्ण श्रेष्ठले निर्वाचन प्रक्रियालाई थप पारदर्शी र विश्वसनीय बनाउन यस्ता अन्तरक्रियात्मक कार्यक्रमले सहयोग पुग्ने बताए। सहायक प्रमुख जिल्ला अधिकारी तथाआचारसंहिता अनुगमन अधिकृत रमेश पौडेलले निर्वाचन र आमसञ्चारबीचको सहकार्य सुदृढ हुन सके स्वच्छ र निष्पक्ष निर्वाचन सम्भव हुने विश्वास व्यक्त गरे।उनले मुख्य निर्वाचन अधिकृत धेरै भुमिकामा भएकाले पनि समस्या रहेकाले यतिखेर न्यायाधीशकाे रुपमा नभई मुख्य निर्वाचन अधिकृतकाे रुपमा समन्वय गर्नु पर्नेमा जाेड दिए ।
अन्तरक्रियामा स्थानीय सञ्चारकर्मी, सुरक्षा निकायका अधिकारी र सरोकारवाला निकायको सहभागिता रहेको थियो। निर्वाचनका क्रममा देखापर्ने चुनौती, सामाजिक सञ्जालमार्फत फैलिने भ्रमपूर्ण सूचना तथा जिम्मेवार पत्रकारिताको आवश्यकताबारे पनि छलफल गरिएको थियो। कार्यक्रमको समापनमा सहभागीहरूले आगामी निर्वाचनलाई शान्तिपूर्ण, मर्यादित र विश्वसनीय बनाउन सबै पक्षले आ–आफ्नो जिम्मेवारी इमान्दारीपूर्वक निर्वाह गर्नुपर्नेमा जोड दिएका थिए।
अहिले सवैभन्दा धेरैको चिन्ता माथिल्लो डोल्पामा मतदाताको मताधिकार कति प्रयोग हुने र स्वज्ञच्छीक रुपमा मतदान गर्न पाउने वा पूरानै खालको मतदान हुने भन्ने प्रश्न रहेकोछ । त्यसैगरी निर्वाचनमा माथिल्लो डोल्पामा खटिने कर्मचारीहरुलाई कसरी पठाउने र ल्याउने भन्ने बारे पनि बहसको बिषय बनेको छ । यता मुख्य निर्वाचन अधिकृतको कार्यालयले भने कर्मचारी खटपटन मात्रै गरेको र कर्मचारीका पछि आउन सक्ने समस्या बारे के कति तयारी रहेको बारे जानकारी कर्मचारीलाई नदिदा माथिल्लो डोल्पामा खटिने कर्मचारी समेत त्रसित रहेका छन । यस भन्दा पहिलाका निर्वाचनमा हेलीकप्टरवाट कर्मचारी लिने मतदान पछि मतपेटीका र मतदान अधिकृत बाहेक अन्य कर्मचारी अलपत्र पार्ने गरिएको थियो । कर्मचारी ति दिन सम्झिदै माथिल्लो डोल्पा जान आनकानी गरि रहेका छन ।