कर्णालीका मुख्यमन्त्रीले गरे डाेल्पाका सामुदायिक विद्यालय अनुगमन

जैतुन अनलाइन | २०८२ कार्तिक २२ गते शनिवार

कात्तिक २१,

 

डोल्पाः कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यमलाल कँडेल र भौतिक पुर्वाधार तथा शहरी विकास मन्त्री शेर बहादुर बुढाले डोल्पा सदरमुकाम दुनैमा रहेका दुईवटा सामुदायिक विद्यालयको अनुगमन गरेका छन् । उनीहरुले दुनैस्थित सरस्वती माध्यामिक विद्यालय र बाल मन्दिर आधारभूत विद्यालय अवलोकन गरेका हुन्। मुख्यमन्त्री कंडेलले डोल्पामा स्याक नेपाल र प्लान इन्टरनेशनल नेपालद्वारा सञ्चालन भइरहेको परियोजनाको अवस्थाबारे अनुगमन गरेका हुुन् ।

डोल्पामा सञ्चालित स्टिम अहेड परियोजना अन्तरगत सञ्चालनमा रहेको विभिन्न शैक्षिक र पूर्वाधार विकास कार्यक्रमहरूको अवलोकन गरिएको हो।

मुख्यमन्त्री कँडेलले दुनैस्थित बाल मन्दिर आधारभुत विद्यालयमा स्टिम परियोजनाबाट स्थापना गरिएको अफलाइन लाइब्रेरीको अवलोकन गरेका छन् । अवलोकनका क्रममा उनले लाइब्रेरीलाई निरन्तर सञ्चालन गर्दै विद्यार्थीहरूको सिकाइमा सुधार ल्याउने र संस्थाले सहयोग गरेको सामग्रीहरूलाई दीगो रूपमा उपयोग गर्न आवश्यक पहल गर्नुपर्ने बताए ।

दुनैस्थित सरस्वती विद्यालयमा समेत अनुगमन टोलीले भ्रमण गरी स्याक नेपाल र प्लान इन्टरनेशनल नेपालद्वारा सञ्चालित विविध कार्यक्रमहरूको समीक्षा गरेको छ। विद्यालयमा निर्माण गरिएको महिनावारी स्वच्छता कक्ष, कम्प्युटर ल्याब, तथा लैङ्गिक र अपाङ्गता मैत्री तीन कोठे शौचालयहरूको अवलोकन गर्दै ती पूर्वाधारहरूलाई सफा, व्यवस्थित र दीगो रूपमा सञ्चालन गर्न सुझाव दिइएको छ । यस्तै किशोरीहरू महिनावारीको अवधिमा सहज रूपमा महिनावारी स्वच्छता कक्षको प्रयोग गर्न सक्ने वातावरण निरन्तर कायम राख्न विद्यालयलाई सुझाव दिइएको छ।

यस्तै, स्याक नेपाल र प्लान इन्टरनेशनल नेपालले स्टिम अहेड परियोजनाबाट  शैक्षिक सुधार कार्यक्रम सम्पन्न भएपछि गत एक वर्षदेखि किशोरी सशक्तीकरण परियोजना सञ्चालन गर्दै आएको परियोजनाका अनुगमन तथा मुल्यांकन संयोजक चिरञ्जीवी पौडेलले जानकारी दिए । उनका अनुसार यस परियोजनाअन्तर्गत विद्यालय तथा स्वास्थ्य संस्थासँग सहकार्य गर्दै एसआरएचआर (सेक्सुअल एण्ड रिप्रोडक्टिभ हेल्थ एण्ड राइट) सम्बन्धी अभिमुखीकरण, महिनावारी व्यवस्थापन कक्ष सञ्चालन, किशोर–किशोरी मैत्री सेवा प्रवर्द्धन, र शिक्षक, विद्यार्थी तथा स्वास्थ्यकर्मीहरूलाई सीएसइ  (कम्प्रेहेन्सिभ सेक्सुयालिटि एजुकेशन) तथा एसआरएचआर सम्बन्धी तालिमहरू प्रदान गर्दै आएको छ।