कर्णालीमा बजेटः दश महिनामा विकास बजेट खर्च २५ प्रतिशत

जैतुन अनलाइन | २०८२ जेष्ठ १६ गते बिहिवार

जेठ १५,

सुर्खेतः कर्णाली प्रदेश सरकारले चालु आर्थिक वर्षको १० महिनासम्म पुँजीगत बजेटको जम्मा २५ प्रतिशतमात्र खर्च गरेको छ । चालु आर्थिक वर्ष ०८१÷८२ को साउनदेखि वैशाखसम्म २५ प्रतिशत मात्रै बजेट खर्च गरेको प्रदेश लेखा नियन्त्रक कार्यालयले जनाएको छ । आर्थिक वर्ष सकिन दुई महिना मात्रै बाँकी रहँदा प्रदेश सरकारले खर्च गर्नुपर्ने विकास बजेट ७५ प्रतिशत बाँकी छ ।
वैशाख महिनाभर प्रदेश सरकारले ४.५२ प्रतिशत अर्थात् ८५ करोड २ लाख ५८ हजार ५३६ रुपैयाँमात्रै विकास बजेट कार्यान्वयन गरेको छ । जेठ र असार महिनामा खर्चको गति बढ्ने देखिन्छ । आर्थिक वर्षको अन्त्यम भुक्तानी बढी हुने भएकाले खर्च पनि बढी देखिने आर्थिक मामिला तथा योजना मन्त्रालयले जनाएको छ । चालु आर्थिक वर्ष सरकारसँग वार्षिक विकास बजेट १८ अर्ब ७५ करोड ५१ लाख ६८ हजार रुपैयाँ छ ।

प्रदेश लेखा नियन्त्रकको कार्यालयका अनुसार वैशाख मसान्तसम्म समग्रमा २५.४६ प्रतिशत अर्थात् ४ अर्ब ७८ करोड २७ लाख ३५ हजार ३०८.६८ रुपैयाँ कार्यान्वयन भएको छ, जुन गत आर्थिक वर्षमा यही अवधिको भन्दा दुई प्रतिशतले बढी हो ।

१० महिनाको अवधिमा सबैभन्दा बढी विकास बजेट रहेको भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयले २७.६६ प्रतिशत कार्यान्वयन गरेको छ । उक्त मन्त्रालयसँग यो वर्ष १० अर्ब १७ करोड ८२ लाख २४ हजार रुपैयाँ विकास बजेट थियो । दुई अर्ब ६० करोड ९० लाख ३ हजार रुपैयाँ वार्षिक विकास बजेट रहेको जलस्रोत तथा ऊर्जा मन्त्रालयले १० महिनासम्ममा २७.५५ प्रतिशत कार्यान्वयन गरेको छ भने दुई अर्ब ७२ करोड ७८ लाख बराबरको पुँजीगत बजेट रहेको सामाजिक विकास मन्त्रालयले ३०.०९ प्रतिशत कार्यान्वयन गरेको छ ।
यसैगरी, १ अर्ब ११ करोड ५२ लाख पुँजीगत बजेट रहेको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले १९ प्रतिशत खर्च गर्दा भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले ३२.३० प्रतिशत खर्च गरेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले ३९.२७, र अर्थ मन्त्रालयले ८१.८५ प्रतिशत पुँजीगत बजेट कार्यान्वयन गरेका छन् ।

कानुन मन्त्रालयले ७.७७ प्रतिशत पुँजीगत बजेट कार्यान्वयन गरेको छ । यो मन्त्रालय सबैभन्दा कम बजेट हुने मन्त्रालय हो । चालु खर्च १८ प्रतिशतले बढी पुँजीगत बजेट कार्यान्वयनको गति कमजोर भइरहँदा प्रदेश सरकारको चालु खर्च भने १८ प्रतिशतले बढी देखिएको छ ।

वैशाख मसान्तसम्म कुल चालु बजेटको ४४.२१ प्रतिशत अर्थात् ५ अर्ब ४७ करोड १४ लाख २० हजार ५२३.०५ रुपैयाँ खर्च भएको प्रदेश लेखा नियन्त्रक रत्न प्रसाद सुवेदीले बताए । यो वर्ष चालुतर्फ १२ अर्ब ३७ करोड ६८ लाख ७३ हजार रुपैयाँ विनियोजन गरिएको थियो ।