जातीय विभेद गरेको आरोपमा पत्रकार थापा पक्राउ

जैतुन अनलाइन | २०८२ जेष्ठ १४ गते मङ्गलवार

जेठ १३,

सुर्खेतः जिल्ला प्रहरी कार्यालय सुर्खेतले जातीय विभेद गरेको आरोपमा पत्रकार शेरबहादुर थापालाई पक्राउ गरेको छ । दैलेख जिल्ला आठबिस नगरपालिका–६ घरभइ हाल वीरेन्द्रनगर नगरपालिका–७ बसी पत्रकारिता गर्दै आएका ३९ वर्षीय थापालाई सोमबार पक्राउ गरेको हो । आरोपित थापा विरुद्ध राष्ट्रिय दलित पत्रकार सङ्घ नेपाल कर्णाली प्रदेश समितिले विरुद्ध ०८२ वैशाख ११ गते जिल्ला प्रहरी कार्यालय सुर्खेतमा उजुरी दर्ता गरेको थियो ।
०८२ वैशाख १० गते बेलुका बलबहादुर थापा नामक फेसबुक अकाउन्टमा ‘पिठिउ पछि कुरा काट्ने काट्दै गर तर आफै गाउँमा बसेर समाजको काम गर मन्दिरको भगवान हैन तिमिहरूलाई पुज्छु’ भन्ने स्टाटसमा आरोपित थापाले दलित समुदायमाथि जातीय विभेदजन्य शब्द ‘डुमलाई नपाल्नु’ भन्ने कमेन्ट गरेका थिए । सोही कमेन्टलाई लिएर राष्ट्रिय दलित पत्रकार सङ्घले आरोपित विरुद्ध जातीय विभेदको उजुरी दिएको थियो । जातीय विभेद विरुद्धको उजुरी परे लगत्तै आरोपित थापा फरार रहेका थिए । आरोपित थापा लोकान्तर डटकम नामक अनलाइनमा कर्णाली प्रदेश प्रतिनिधिका रुपमा कार्यरत थिए ।
आरोपितलाई गिरफ्तार गरेर अदालतबाट म्याद थप गरि अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका डिएसपी मोहनजंग बुढथापाले जानकारी दिए ।