
वैशाख २९,
सुर्खेतः कर्णाली राजमार्गको सिस्ने–साइगाउँ खण्ड आइतबारदेखि दैनिक दुई पटक बन्द हुने भएको छ। जिल्ला प्रशासन कार्यालय दैलेखले सूचना प्रकाशित गरी राजमार्ग बन्द हुनेबारे जानकारी गराएको हो । यो राजमार्ग बिहान ८ देखि मध्याह्न १२ बजेसम्म र अपराह्न २ देखि साँझ ६ बजेसम्म बन्द गरिएको हो ।
सडक डिभिजन सुर्खेतबाट ठेक्का सम्झौता भएको यो खण्ड निर्माण क्रममा आवातजावत रोक्नुपरेको कार्यालयले जनाएको छ । यस खण्डको विकल्पमा रामघाटदेखि साइगाउँसम्म मध्यपहाडी राजमार्ग प्रयोग गर्न समेत कार्यालयले सूचनामार्फत आग्रह गरेको छ । कर्णाली राजमार्ग भएर कर्णालीका कालिकोट, जुम्ला, मुगु, हुम्ला तथा सुदूरपश्चिम प्रदेशका अछाम र बाजुरा जाने सवारी रामाघाटबाट मोडिनुपर्नेछ । रामाघाट बजारबाट दुई किलोमिटर उत्तरमा रहेको मध्यपहाडी लोकमार्गको सात्तला भएर साई निस्कनु पर्नेछ ।
रामाघाट–साई खण्डको दुरी झण्डै १८ किलोमिटर छ । मध्यपहाडी भएर साई निस्कनु पर्ने सवारीले झण्डै ३२ किलोमिटर लामो दुरी पछ्याउनु पर्नेछ । सिस्ने साई खण्डको १२ किलोमिटर दुरीको सडक विग्रिएपछि नयाँ ठेक्का व्यवस्थापन गरिएको हो । यसअघि कालोपत्रे गरिएको सडक भत्किएको, खाल्डाखुल्डीले सिस्ने, टुनिवगर र साई क्षेत्रमा निकै सास्ती भएपछि कार्यालय खड्का के एस के शिशिर बसन्त जेभीसँग २०८१ चैतमा सम्झौता गरेर काम थालेको जनाईएको छ ।
