
सुर्खेत: कर्णाली प्रदेश सरकारको विकास बजेट कार्यान्वयन चालु आर्थिक वर्षको सुरुवातमै सुस्त देखिएको छ । आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिनामा प्रदेश सरकारले पुँजीगततर्फ विनियोजित बजेटको ३.९३ प्रतिशत मात्रै खर्च गरेको छ । चालु खर्च भने १२.२४ प्रतिशत पुगेको छ । यसले विकास निर्माणका योजनाभन्दा प्रशासनिक तथा नियमित सञ्चालनका काममा बजेट खर्च बढी भएको देखाएको छ ।
प्रदेश लेखा नियन्त्रक कार्यालयका अनुसार असोज मसान्तसम्म प्रदेश सरकारको कुल बजेट खर्च ७.२० प्रतिशत छ । चालु आर्थिक वर्षका लागि ३५ अर्ब ३९ करोड ८५ लाख ४८ हजार रुपैयाँ बजेट विनियोजन गरिएकोमा तीन महिनामा दुई अर्ब ५४ करोड ८७ लाख ५१ हजार ७९६ रुपैयाँ खर्च भएको छ । कुल बजेटको ९२.८० प्रतिशत अर्थात् ३२ अर्ब ८४ करोड ९७ लाख ९६ हजार रुपैयाँ खर्च हुन बाँकी छ ।
सरकारले चालुतर्फ १४ अर्ब १५ करोड १८ लाख ३६ हजार रुपैयाँ छुट्याएकोमा एक अर्ब ७३ करोड २७ लाख २४ हजार रुपैयाँ खर्च गरेको छ । पुँजीगततर्फ २० अर्ब ७४ करोड ६७ लाख १२ हजार रुपैयाँ विनियोजन भएकामा ८१ करोड ६० लाख २७ हजार रुपैयाँ मात्रै खर्च भएको छ । विकास निर्माणमा खर्च हुनुपर्ने ठूलो रकम पहिलो तीन महिनामा परिचालन हुन सकेको छैन ।
पूर्वाधार र जलस्रोत मन्त्रालयको खर्च कमजोर
सबैभन्दा बढी बजेट पाएको भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयको खर्च पनि अपेक्षाकृत न्यून छ । सडक, पुललगायतका पूर्वाधार निर्माणका लागि १० अर्ब ९३ करोड २१ लाख १० हजार रुपैयाँ विनियोजन भएकोमा असोज मसान्तसम्म ६६ करोड ४६ लाख ८५ हजार ९५५ रुपैयाँ खर्च भएको छ । यो मन्त्रालयको कुल बजेटको ६.०८ प्रतिशत हो ।
जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयको खर्च अझ कम छ । चार अर्ब ८१ करोड ९५ लाख ८६ हजार रुपैयाँ बजेटमध्ये १४ करोड ६९ लाख १४ हजार रुपैयाँ मात्रै खर्च भएको छ । मन्त्रालयको खर्च प्रगति ३.०५ प्रतिशत छ । सामाजिक विकास मन्त्रालयले ६ अर्ब एक करोड ४९ लाख दुई हजार रुपैयाँमध्ये ५९ करोड ५९ लाख १३ हजार रुपैयाँ खर्च गरेको छ । यो ९.९१ प्रतिशत हो ।
भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले दुई अर्ब ८९ करोड १५ लाख २७ हजार रुपैयाँमध्ये १४ करोड ७७ लाख ६७ हजार रुपैयाँ खर्च गरेको छ । मन्त्रालयको खर्च प्रगति ५.११ प्रतिशत छ । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले दुई अर्ब ४४ करोड ४७ लाख ६५ हजार रुपैयाँमध्ये १९ करोड ४० लाख २८ हजार रुपैयाँ खर्च गरेको छ । यो ७.९४ प्रतिशत हो ।
स्थानीय तहका लागि विनियोजित पाँच अर्ब ५४ करोड ७२ लाख ८० हजार रुपैयाँमध्ये ६५ करोड ३२ लाख १९ हजार रुपैयाँ खर्च भएको छ । स्थानीय तहमा जाने बजेटको खर्च प्रगति ११.७८ प्रतिशत रहेको प्रदेश लेखा नियन्त्रक कार्यालयको विवरणमा उल्लेख छ ।
त्यस्तै, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले ८.७१ प्रतिशत, आर्थिक मामिला तथा योजना मन्त्रालयले १५.०३ प्रतिशत र प्रदेश व्यवस्थापिकाले १५.६७ प्रतिशत बजेट खर्च गरेका छन् । प्रदेश लोक सेवा आयोगको खर्च ११.७८ प्रतिशत, मुख्य न्यायाधिवक्ताको कार्यालयको १६.८९ प्रतिशत र प्रदेश योजना आयोगको ११ प्रतिशत छ । वित्तीय व्यवस्थातर्फ विनियोजित ५० करोड रुपैयाँ असोज मसान्तसम्म खर्च भएको छैन ।
कर्णालीमा बजेट खर्चको कमजोर अवस्था नयाँ होइन । आयोजना छनोट र पूर्वतयारीमा ढिलाइ, निर्माण कार्यमा सुस्तता, नीतिगत जटिलता तथा बजेट कार्यान्वयन गर्ने निकायबीच समन्वय अभावजस्ता समस्या वर्षौंदेखि दोहोरिँदै आएका छन् । पर्याप्त अध्ययनबिना बजेटमा समावेश गरिएका आयोजना र लामो समयदेखि अलपत्र योजनाले पनि खर्च प्रगति प्रभावित पार्दै आएका छन् ।
प्रदेश सरकार स्थापना भएको झन्डै नौ वर्ष पुग्न लाग्दा पनि बजेट कार्यान्वयनको प्रवृत्तिमा उल्लेखनीय सुधार देखिएको छैन । आर्थिक वर्षको अन्त्यतिर खर्च बढाउने पुरानै प्रवृत्ति दोहोरिने जोखिम कायमै छ । पहिलो तीन महिनाको खर्च प्रगतिले बाँकी नौ महिनामा ठूलो बजेट कार्यान्वयन गर्नुपर्ने चुनौती सरकारसामु देखाएको छ ।