

कात्तिक १०,
डोल्पा: डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकामा निर्माणाधीन खदाङ्ग पुलको विषयमा देखिएको विवाद समाधान गर्न सरोकारवालाबीच सहमति भएको छ । पुल निर्माणका क्रममा लामो समयदेखि उत्पन्न विवादका कारण काम प्रभावित भएपछि जिल्ला प्रशासन कार्यालय डोल्पाको पहलमा भएको छलफलले समस्या समाधानका लागि आवश्यक प्रक्रिया अघि बढाउने निर्णय गरेको हो ।

प्रमुख जिल्ला अधिकारी जुनु हमाल ढकालले बोलाएको छलफलमा त्रिपुरासुन्दरी नगरपालिकाका प्रमुख जनचन्द्र रोकाया सहभागी भएनन् । उनी आफूले विवाद समाधान गरिसकेको दाबी गर्दै सहभागी नभएका हुन् । छलफलमा प्रजिअ हमालसहित अन्य सरकारी निकायका प्रतिनिधि, निर्माण व्यवसायी र स्थानीय सरोकारवालाको सहभागिता थियो । छलफलमा पुल निर्माणका लागि आवश्यक जग्गा र सडकको विद्यमान अवस्थाका विषयमा उठेका सवालबारे छलफल भएको थियो ।
प्रमुख जिल्ला अधिकारी हमालका अनुसार स्थानीयको माग र निर्माण कार्यमा देखिएका समस्यालाई ध्यानमा राखेर सम्बन्धित पक्षबीच समन्वय गर्ने सहमति भएको हो । विवाद समाधानका लागि स्थानीय सरोकारवालासँग थप छलफल गरी आवश्यक पहल गरिने उनले जानकारी दिइन् ।
पुल निर्माणका विषयमा स्थानीयस्तरमा असहमति देखिएपछि प्रशासनले सम्बन्धित पक्षलाई छलफलमा बोलाएको थियो । छलफलमा सडकको विद्यमान अवस्था, स्थानीयको माग र निर्माण कार्य अघि बढाउने विषयमा सहभागीहरुले आ–आफ्ना धारणा राखेका थिए । प्रमुख जिल्ला अधिकारी हमालले छलफलबाट भएको निर्णयअनुसार सम्बन्धित निकायले आवश्यक समन्वय गर्ने जानकारी दिइन् । विवादको अन्तिम टुंगो लाग्न भने बाँकी छ ।
