

असोज २५,
सुर्खेतः कर्णाली प्रदेश योजना आयोगका नवनियुक्त उपाध्यक्ष डा. भीमबहादुर खत्रीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । आइतबार बिहान मुख्यमन्त्री मंगलबहादुर शाहीले उनलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् ।
शुक्रबार बसेको कर्णाली प्रदेश मन्त्रिपरिषद् बैठकले डा। खत्रीलाई योजना आयोगको उपाध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको थियो ।
वरिष्ठ कृषि वैज्ञानिक, बागवानीविद् तथा प्राध्यापकका रूपमा परिचित खत्री कृषि अनुसन्धान र बागवानी क्षेत्रका अनुभवी व्यक्तित्व हुन् । उनी विगत चार दशकदेखि विशेषगरी आलुबाली अनुसन्धान तथा बागवानी विकासका क्षेत्रमा सक्रिय रहँदै आएका छन् ।
डा। खत्रीसँग नेपाल कृषि अनुसन्धान परिषद्को नेतृत्वमा रहेर काम गरेको अनुभव छ । साथै, विभिन्न कृषि परियोजनाको व्यवस्थापन तथा अन्तर्राष्ट्रिय निकायहरूसँग समन्वय गरी काम गरेको अनुभवसमेत उनीसँग रहेको छ ।
कृषि अनुसन्धान र परियोजना व्यवस्थापनमा लामो अनुभव हासिल गरेका खत्रीको नियुक्तिसँगै कर्णाली प्रदेशको योजना निर्माण, कृषि क्षेत्रको विकास तथा अनुसन्धानमा आधारित नीतिगत कार्यलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ ।