वर्षौंदेखिको सपना साकार हुने आशा: दुनै जोड्ने सडक निर्माण सुरु

जैतुन अनलाइन | २०८३ असोज २४ गते शनिवार

असोज २४,

डोल्पा : वर्षौंदेखि सदरमुकाम दुनैसँग सडक सञ्जालमा जोडिने सपना बोकेका माथिल्लो डोल्पाका नागरिकका लागि ऐतिहासिक पहल सुरु भएको छ। भेरी करिडोरअन्तर्गत सिसोल–लाइसिक्याप सडकखण्डको निर्माण कार्य असोज २४ गतेदेखि शुभारम्भ भएको हो।

डोल्पोबुद्ध गाउँपालिकाका जनप्रतिनिधि, नेपाली सेनाका प्रतिनिधि, स्थानीय समुदाय तथा गाउँका लामाहरूको उपस्थितिमा स्थानीय मौलिक संस्कृति र परम्पराअनुसार विधिवत् रूपमा सडक निर्माण कार्यको शुभारम्भ गरिएको स्थानीय नवाङ् डोल्पोले जानकारी दिएका छन्।

उनका अनुसार यो सडक निर्माणको सुरुवात माथिल्लो डोल्पाको विकास, सहज आवागमन र समृद्ध भविष्यका लागि महत्वपूर्ण उपलब्धि हो। सडक निर्माणले वर्षौंदेखि सडक पहुँचको प्रतीक्षामा रहेका माथिल्लो डोल्पाका नागरिकको सदरमुकाम दुनैसँग जोडिने सपना साकार पार्ने आशा जगाएको छ।

नवाङ् डोल्पोले यस ऐतिहासिक पहललाई सम्भव बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग र योगदान पुर्‍याउने सबैप्रति डोल्पोबुद्ध गाउँपालिकाको तर्फबाट हार्दिक होर्चे तथा कृतज्ञता व्यक्त गरेका छन्।

उनले सामाजिक सञ्जाल फेसबुकमा लेख्दै सडकलाई आवागमनको माध्यममा मात्र सीमित नभई माथिल्लो डोल्पाको सहज पहुँच, समृद्धि र उज्ज्वल भविष्यसँग जोडिएको साझा सपनाका रूपमा व्याख्या गरेका छन्। सडक निर्माणको सफल कार्यान्वयनका लागि सबैको साथ, सहयोग र सहकार्य निरन्तर रहने विश्वाससमेत उनले व्यक्त गरेका छन्।

भौगोलिक विकटता, कठिन पदमार्ग र सीमित यातायात सुविधाका कारण माथिल्लो डोल्पाका नागरिकले लामो समयदेखि आवागमनमा विभिन्न कठिनाइ भोग्दै आएका छन्। यस्तो अवस्थामा सिसोल–लाइसिक्याप सडकखण्डको निर्माण शुभारम्भले स्थानीयवासीमा नयाँ आशा जगाएको छ।

सडक निर्माण सम्पन्न भई सञ्चालनमा आएमा माथिल्लो डोल्पाका नागरिकलाई सदरमुकाम दुनैसम्म आवतजावत गर्न सहज हुनुका साथै दैनिक उपभोग्य वस्तुको ढुवानी, स्थानीय उत्पादनको बजारीकरण, स्वास्थ्य सेवा तथा अन्य विकास गतिविधिमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ।

वर्षौंदेखिको सडक पहुँचको सपना पूरा गर्ने दिशामा सुरु भएको यस पहललाई समयमै र प्रभावकारी रूपमा अघि बढाउन सम्बन्धित निकाय, स्थानीय समुदाय र सरोकारवालाबीच निरन्तर समन्वय तथा सहकार्य आवश्यक देखिन्छ।