

असोज ११,
सुर्खेत: युवा मानवअधिकार रक्षकहरुको आवाज, सुरक्षा, दृश्यता र पैरवीलाई प्रभावकारी बनाउन सञ्चार तथा पैरवी रणनीति २०२६–२०३१ निर्माणमा सरोकारवालाले जोड दिएका छन् ।
रोयम नेपालद्वारा सञ्चालित ‘एकता परियोजना’ अन्तर्गत वीरेन्द्रनगरमा आयोजित परामर्श कार्यशालामा युवा मानवअधिकार रक्षकहरूले सामना गरिरहेका सामाजिक दबाब, दुर्व्यवहार, भ्रम तथा गलत सूचना, डिजिटल जोखिम, मनोसामाजिक तनाव र सुरक्षा चुनौतीलाई सम्बोधन गर्न रणनीति निर्माणका लागि सुझाव संकलन गरिएको थियो । युवा मानवअधिकार रक्षकहरूले सुशासन, समानता, मानवअधिकार, सामाजिक न्याय तथा दिगो विकासका सवालमा स्थानीय तहदेखि राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरसम्म उठाउँदै आएका आवाजलाई थप प्रभावकारी बनाउने विषयमा पनि छलफल गरेका थिए ।
युवा मानवअधिकार रक्षक सञ्जाल, सुर्खेतकी अध्यक्ष पूजा दमाईको अध्यक्षतामा आयोजित कार्यशालामा पूर्वमन्त्री तथा कर्णाली प्रदेशसभा सदस्य रणसिंह परियार प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै परियारले युवाहरूका सवाललाई प्रदेशसभामा सशक्त रूपमा उठाउने र उनीहरूको अभियानमा साथ दिने प्रतिबद्धता व्यक्त गरेका थिए ।
कार्यशालामा पूर्व डीन तथा मानवअधिकार रक्षक सञ्जाल कर्णाली प्रदेश संयोजक पिताम्बर ढकाल, राष्ट्रिय मानवअधिकार आयोगका मानवअधिकार अधिकृत रामप्रसाद उपाध्याय, सुन्दर नेपालका अध्यक्ष माया सापकोटा, नव ज्योति केन्द्रकी प्रतिनिधि जरमाया बाठा, वाई . जी . जी . पी . का खकेन्द्र सिंजापति, गैरसरकारी संस्था महासंघ सुर्खेतका सचिव विन्दुलाल रेग्मी र कर्णाली वर्ष २०२६ का अध्यक्ष प्रभुराम पाण्डेलगायत विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधि, पत्रकार, जनप्रतिनिधि र युवा मानवअधिकार रक्षकहरूको सहभागिता रहेको थियो । रोयम नेपालका कर्णाली प्रदेश संयोजक सन्तोष वि . क . ले रणनीतिको आवश्यकता, उद्देश्य र कार्यान्वयनका विविध पक्षमा सहजीकरण गरेका थिए ।
सहभागीहरूलाई पाँच समूहमा विभाजन गरी सुरक्षित सञ्चार, जोखिम व्यवस्थापन, स्थानीय तथा प्रदेश सरकारसँग पैरवी, समावेशी सहभागिता, अन्तरपुस्ता सहकार्य र सञ्चारमाध्यमसँगको साझेदारीलगायतका विषयमा समूहगत छलफल गराइएको थियो ।
युवा मानवअधिकार रक्षकहरूको आवाज, सुरक्षा, दृश्यता तथा पैरवीलाई सुदृढ बनाउनुका साथै प्रमाणमा आधारित पैरवी र डिजिटल माध्यमको प्रभावकारी प्रयोगलाई रणनीतिको प्राथमिक विषय बनाउने गरी सुझाव संकलन गरिएको थियो । छलफलबाट प्राप्त सुझावका आधारमा सञ्चार तथा पैरवी रणनीति २०२६–२०३१ को आगामी कार्ययोजना तयार गरिने आयोजकले जनाएको छ ।
युवा मानवअधिकार रक्षक सञ्जाल सुर्खेतका उपाध्यक्ष पर्वत परियारको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन सदस्य भावना शाहीले गरेकी थिइन् ।