
असोज ०४,
डोल्पा : डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–१ त्रिपुराकोटस्थित प्रसिद्ध धार्मिकस्थल श्री बाला त्रिपुरासुन्दरी भगवती मन्दिरको मूल पूजास्थलबाट ५५ हजार रुपैयाँ हराएको छ। भक्तजनहरूले भेटीका रूपमा चढाएको नगद रकम शनिबार बिहान चोरी भएको मन्दिरका मुख्य पुजारी प्रख्यात उपाध्यायले जानकारी दिएका छन्।
पुजारी उपाध्यायका अनुसार शनिबार बिहान करिब साढे ९ बजेतिर मूल पूजास्थलमा राखिएको नगद रकम नभएको थाहा भएको हो। भक्तजनले श्रद्धापूर्वक चढाएको भेटी रकम राखिएको स्थानबाटै पैसा हराएपछि घटनाबारे तत्काल प्रहरीलाई जानकारी गराइएको उनले बताए।
घटनाको जानकारी पाएलगत्तै अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय डोल्पाबाट प्रहरी टोली मन्दिरतर्फ आउँदै गरेको पुजारी उपाध्यायले जानकारी दिए। मन्दिरमा सुरक्षा प्रयोजनका लागि सिसीटिभी क्यामेरा जडान गरिएको बताइएको छ। घटनाको अनुसन्धानका क्रममा प्रहरीले सिसीटिभी फुटेजको अध्ययन गर्नुका साथै मन्दिरमा उपस्थित व्यक्ति तथा घटनासँग सम्बन्धित अन्य पक्षबारे जानकारी संकलन गर्ने तयारी गरेको छ।
मन्दिर परिसरमा रहेको नेपाल प्रहरीको सुरक्षा पोस्टले समेत घटनाबारे आवश्यक अनुसन्धान अघि बढाइने जनाएको छ। रकम कसरी हरायो, घटनामा को संलग्न थियो वा थिएन भन्ने विषय अनुसन्धानपछि मात्र खुल्ने प्रहरीले जनाएको छ।
धार्मिक आस्थाको महत्वपूर्ण केन्द्रका रूपमा रहेको मन्दिरको मूल पूजास्थलमै भेटीको रकम हराएपछि स्थानीय तथा भक्तजनमा चासो बढेको छ। घटनाले मन्दिरको सुरक्षा व्यवस्था र भेटी व्यवस्थापनलाई समेत थप व्यवस्थित बनाउनुपर्ने आवश्यकता देखाएको छ।
प्रहरीले घटनाको सत्यतथ्य पत्ता लगाउन अनुसन्धान अघि बढाइरहेको जनाएको छ।