असाेज ४,
सुर्खेतः सुर्खेतको वीरेन्द्रनगर-९ मा रहेको प्रज्ञा पाठशाला विद्यालयमा विद्यार्थीले निर्माण गरेका विज्ञान, रोबोटिक्स तथा एआईसम्बन्धी सामग्रीको प्रदर्शनी गरिएको छ । १४औँ राष्ट्रिय विज्ञान दिवसको अवसरमा विद्यालयले ‘प्रज्ञा वार्षिक विज्ञान तथा रोबोटिक्स प्रदर्शनी–२०८३’ आयोजना गरेको हो ।
प्रदर्शनीमा विद्यालयका विद्यार्थीले विज्ञान, रोबोटिक्स, एआई, ऊर्जा तथा वातावरणसँग सम्बन्धित विभिन्न परियोजना र नमुना प्रदर्शन गरेका छन् । विद्यार्थीले हाइड्रो इनर्जी मोडल, विन्ड इनर्जी मोडल, स्मार्ट ब्लाइन्ड स्टिक, स्मार्ट डस्टबिन, सोलार ट्र्याकिङ हाउस लगायतका सामग्री निर्माण गरेर प्रदर्शनीमा राखेका थिए । विद्यालयमा कक्षा १ देखि १० सम्मका विद्यार्थीहरुले विभिन्न विज्ञान सामग्री प्रदर्शन गरेका हुन् ।
विद्यार्थीले प्रविधिको प्रयोगलाई दैनिक जीवनसँग जोड्दै स्मार्ट ब्लाइन्ड स्टिक र स्मार्ट डस्टबिन समेत निर्माण गरेका छन् । प्रदर्शनीमा र्याबिट ट्याक्सिडर्मी मोडल, रकेट लगायतका अन्य विज्ञानसम्बन्धी सामग्रीसमेत राखिएका थिए । विद्यार्थीले आफूले निर्माण गरेका सामग्री कसरी काम गर्छन् भन्नेबारे आगन्तुकलाई जानकारी दिनुका साथै विभिन्न सामग्रीको डेमोस्ट्रेसनसमेत देखाएका थिए ।
विद्यार्थीले तयार पारेको हाइड्रो इनर्जी मोडलमा पहाडी भू–भाग, बस्ती तथा जलविद्युत् उत्पादनको अवधारणा देखाइएको छ । विन्ड इनर्जी मोडलमा हावाबाट ऊर्जा उत्पादन गर्ने प्रविधिलाई नमुनामार्फत प्रस्तुत गरिएको छ । त्यस्तै सोलार ट्र्याकिङ हाउसमा सौर्य ऊर्जाको प्रयोगसँग सम्बन्धित अवधारणा प्रस्तुत गरिएको छ ।
विद्यालयले विद्यार्थीलाई विज्ञानका विषयलाई पाठ्यपुस्तकमा सीमित नराखी प्रयोगात्मक रुपमा सिकाउने उद्देश्यले हरेक वर्ष विज्ञान प्रदर्शनी आयोजना गर्दै आएको जनाएको छ । विद्यार्थीलाई आफ्नै सोच, रुचि र सिर्जनशीलताका आधारमा विज्ञान तथा प्रविधिसँग सम्बन्धित सामग्री निर्माण गर्न प्रोत्साहित गर्ने उद्देश्यले प्रदर्शनी आयोजना हुँदै आएको हो ।
कार्यक्रममा बोल्दै वीरेन्द्रनगर–९ का वडाध्यक्ष ऋषि गिरीले यस्ता प्रदर्शनीले विद्यार्थीको क्षमता र सिर्जनशीलता बढाउन हौसला पुग्ने बताए । विज्ञानका विषयलाई प्रयोगात्मक रूपमा सिक्ने र आफूले सिकेको विषयलाई सामग्री निर्माणमार्फत प्रस्तुत गर्ने अवसरले विद्यार्थीको आत्मविश्वाससमेत बढाउने उनको भनाइ छ ।
उनले अहिले विश्व नै जलवायु परिवर्तनको चपेटामा परिरहेको भन्दै विद्यार्थीले जलविद्युत्, वायु ऊर्जा, सौर्य ऊर्जालगायतका विषयमा सामग्री बनाएर प्रदर्शन गर्नु महत्वपूर्ण रहेको बताए । यस्ता गतिविधिले विद्यार्थीलाई विज्ञान तथा प्रविधिको ज्ञानसँगै वातावरण संरक्षणको जिम्मेवारीबोध गराउने उनले बताए ।
‘विद्यार्थीले विज्ञानका सामग्री आफैं निर्माण गरेर त्यसको प्रयोग र कार्यप्रणाली बुझ्ने अवसर पाउनु महत्वपूर्ण कुरा हो । अहिले विश्व नै जलवायु परिवर्तन र विश्व तापक्रम वृद्धिको समस्यासँग जुधिरहेको छ । यस्तो अवस्थामा विद्यार्थीले जलविद्युत्, वायु ऊर्जा र सौर्य ऊर्जाजस्ता विषयमा सामग्री बनाएर प्रदर्शन गर्नुले उनीहरूलाई विज्ञान तथा प्रविधिको ज्ञानसँगै वातावरण संरक्षणप्रतिको दायित्व पनि बुझाउन मद्दत गर्छ । यस्ता प्रदर्शनीले विद्यार्थीमा नयाँ कुरा सोच्ने, सिर्जना गर्ने र आफ्नो क्षमता प्रस्तुत गर्ने हौसला बढाउँछ । विद्यार्थीले आज विद्यालयमा बनाएका यस्ता नमुना र प्रयोगबाट भविष्यमा नयाँ प्रविधिको विकासका लागि पनि आधार तयार हुन सक्छ,’ गिरीले भने ।
यसैबीच, जलवायु परिवर्तन तथा विश्व तापक्रम वृद्धिविरुद्ध एक्यवद्धता जनाउँदै प्रतिबद्धता पत्रमा हस्ताक्षर संकलनसमेत गरिएको थियो । प्रतिबद्धता पत्रमा अभिभावक, शिक्षक तथा विद्यार्थी लगायतले हस्ताक्षर गरेका थिए । वातावरण संरक्षणप्रति सामूहिक प्रतिबद्धता जनाउने उद्देश्यले हस्ताक्षर संकलन गरिएको हो ।
विद्यालयका प्रधानाध्यापक रुपेश भण्डारीले विद्यार्थीको सिकाइलाई प्रयोगात्मक बनाउने उद्देश्यले विद्यालयले हरेक वर्ष विज्ञान प्रदर्शनी आयोजना गर्दै आएको बताए । विज्ञान तथा प्रविधिका विषय पढेर मात्र नभई विद्यार्थीले आफैं सामग्री निर्माण गरेर सिक्ने वातावरण तयार गर्न प्रदर्शनीले सहयोग गर्ने उनको भनाइ छ ।
भण्डारीका अनुसार विद्यार्थीले आफ्नो रुचि र सिर्जनशीलताका आधारमा विभिन्न परियोजना तयार पारेका छन् । प्रदर्शनीमा विद्यार्थीले निर्माण गरेका सामग्री राखिनुका साथै ती सामग्रीको प्रयोग तथा कार्यप्रणालीबारे डेमोस्ट्रेसनसमेत प्रस्तुत गरिएको थियो ।
प्रदर्शनीमा विद्यार्थी, शिक्षक, अभिभावक तथा अन्य आगन्तुकको सहभागिता रहेको थियो । विज्ञान तथा रोबोटिक्सका सामग्रीसँगै एआई र वातावरणसँग सम्बन्धित परियोजनाले प्रदर्शनीलाई विद्यार्थीको प्रयोगात्मक सिकाइ र सिर्जनशीलता प्रस्तुत गर्ने अवसरका रुपमा जोडेको थियो ।