

असोज २,
सुर्खेतः कर्णालीका नदीमा १८ हजार मेगावाटभन्दा बढी जलविद्युत् उत्पादन गर्न सकिने सम्भाव्यता अध्ययनहरु भएका छन् । तर आर्थिक सर्वेक्षण २०८२/८३ अनुसार २०८२ फागुनसम्म प्रदेशमा वैकल्पिक ऊर्जाबाहेकको विद्युत् उत्पादन क्षमता १५ मेगावाट मात्रै पुगेको छ । यही अवधिमा राष्ट्रिय प्रसारण ग्रिडबाट विद्युत् पहुँच पुगेको जनसंख्या भने ७४.३ प्रतिशत पुगेको छ । अर्थात् कर्णालीमा बिजुलीको पहुँच विस्तारको गति उत्पादन विस्तारभन्दा धेरै अगाडि देखिन्छ ।
कर्णाली जलविद्युत्मा भने पछिल्लो समय ठूलो लगानीका आयोजना निर्माणको चरणमा प्रवेश गर्न थालेका छन् । ४२० मेगावाटको तिला–२ को ७० अर्ब ७ करोड रुपैयाँको वित्तीय व्यवस्थापन पूरा भएको छ । तिला नदीमै बन्ने ४४० मेगावाटको तिला–१ का लागि ५९ अर्ब ४० करोड रुपैयाँ लागत अनुमानसहित ऋण लगानीको व्यवस्था अघि बढेको छ । ४३९ मेगावाटको बेतन कर्णालीमा ९३ अर्ब ४० करोड ७ लाख रुपैयाँ लगानी स्वीकृत भइसकेको छ । ९०० मेगावाटको माथिल्लो कर्णाली निर्माणका लागि पूर्वाधारको ठेक्का प्रक्रिया अघि बढेको छ तर ४१७ मेगावाटको नलगाड अझै लगानीकै खोजीमा छ ।
कर्णाली जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयका सूचना अधिकारी सागर आचार्यका अनुसार प्रदेशमा साना–ठूला गरेर २३६ आयोजना निर्माण सम्पन्न भइसकेका छन् भने ७० आयोजना विभिन्न चरणमा छन् । उनका अनुसार विभिन्न चरणमा रहेका यी ७० आयोजनाको क्षमता मात्रै करिब १० हजार मेगावाट छ । ‘प्राविधिक तथा आर्थिक हिसाबले निर्माण गर्न सकिने करिब २० हजार मेगावाट क्षमताका जलविद्युत् आयोजनामध्ये समग्रमा हाल १० हजार मेगावाटका सानाठूला गरी ७० वटा आयोजना विभिन्न चरणमा छन्, आचार्यले भने ।’ उनका अनुसार विभिन्न जिल्लाका १४ लघु जलविद्युत् आयोजना भने अहिले बन्द अवस्थामा छन् ।
तिला–२ को कुल लागत ७० अर्ब ७ करोड रुपैयाँमध्ये ५२ अर्ब ५५ करोड रुपैयाँ ऋण र १७ अर्ब ५२ करोड रुपैयाँ स्वपुँजीबाट जुटाउने गरी वित्तीय व्यवस्थापन भएको छ । दैनिक ६ घण्टासम्म पिकिङ गर्न सक्ने यो आयोजनाबाट वार्षिक २ हजार ३१८.७९ गिगावाट घण्टा विद्युत् उत्पादन गर्ने लक्ष्य छ । आयोजनाको विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा जोडिनेछ ।
तिला–१ र तिला–२ मात्रै जोड्दा तिला नदीबाट ८६० मेगावाट विद्युत् उत्पादन गर्ने दुई आयोजना निर्माणतर्फ गएका छन् । तिला–२ मा ११ वटा बैंक तथा वित्तीय संस्थाले ऋण लगानी गर्ने सम्झौता गरेका छन् । बेतन कर्णालीको अनुमानित लगानी ९३ अर्ब ४० करोड ७ लाख रुपैयाँ स्वीकृत भएको छ । डीपीआरअनुसार निर्माण अवधिको ब्याजबाहेक लागत ७४ अर्ब १५ करोड र ब्याजसमेत जोड्दा ८८ अर्ब १९ करोड रुपैयाँ पुग्ने अनुमान छ । आयोजनाको ऋण–स्वपुँजी अनुपात ६५÷३५ राखिएको छ र करिब ५७ अर्ब ३२ करोड रुपैयाँ ऋण व्यवस्थापन गर्ने तयारी छ । वार्षिक २ हजार ३०२.५६ गिगावाट घण्टा विद्युत् उत्पादन गर्ने लक्ष्य छ ।
बेतन कर्णाली सञ्चयकर्ता हाइड्रोपावर कम्पनीका प्रबन्ध निर्देशक कृष्णप्रसाद आचार्यले निर्माणपूर्वको काम अघि बढिरहेको र पीपीएपछि वित्तीय व्यवस्थापन सहज हुने बताएका छन् । ‘पिपिएको मस्यौदा करिब तयार भइसकेको छ,’ उनले भने, ‘अबको डेढ–दुई महिनामा पिपिए हुन्छ । पिपिए भएपछि लगानी व्यवस्थापन गर्न पनि सहज हुन्छ, उनले भने ।’ आचार्यले आगामी आर्थिक वर्षमा निर्माणका लागि टेन्डर आह्वान गर्ने बताएका छन् ।
पहुँचमा कर्णाली कहाँ छ ?
आर्थिक सर्वेक्षण २०८२/८३ को प्रदेशगत तथ्यांकले कर्णालीको विद्युत् पहुँचमा पछिल्लो चार वर्षमा ठूलो वृद्धि देखाउँछ । २०७७/७८ मा राष्ट्रिय प्रसारण ग्रिडबाट विद्युत् पहुँच पुगेको जनसंख्या ३४.७ प्रतिशत रहेकोमा २०७८/७९ मा ४३.९ प्रतिशत, २०७९/८० मा ४४ प्रतिशत, २०८०/८१ मा ७३.४ प्रतिशत, २०८१/८२ मा ७४.१ प्रतिशत हुँदै २०८२ फागुनसम्म ७४.३ प्रतिशत पुगेको छ । आर्थिक सर्वेक्षण २०८२/८३ अनुसार सात प्रदेशमध्ये राष्ट्रिय प्रसारण लाइनको पहुँचमा रहेको जनसंख्या कर्णालीमा सबैभन्दा कम छ । कर्णालीको ७४.३ प्रतिशत पहुँच भनेको अझै करिब एकचौथाइ जनसंख्या राष्ट्रिय प्रसारण ग्रिडबाहिर रहेको अवस्था हो ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठका अनुसार २०८२ फागुनसम्म कर्णालीको ७४.३० प्रतिशत जनसंख्यामा राष्ट्रिय प्रसारण लाइन पुगेको हो । कर्णालीका ७१८ वडामध्ये ८२ वडा पूर्ण र ४७२ वडा आंशिक रुपमा राष्ट्रिय प्रसारणबाट जोडिएका छन् । अझै १६४ वडा राष्ट्रिय प्रसारण प्रणालीबाट बाहिर छन् ।
राष्ट्रिय जनगणना २०७८ ले कर्णालीका ३ लाख ६६ हजार ३७ घरधुरीमध्ये १ लाख ८१ हजार ६७६ घरधुरी अर्थात् ४९.६३ प्रतिशतले बत्ती बाल्न विद्युत् प्रयोग गरेको देखाउँछ । १ लाख ७५ हजार ३०६ घरधुरी अर्थात् ४७.८९ प्रतिशतले सौर्य ऊर्जा प्रयोग गर्छन् ।
लघु जलविद्युत् भने कर्णालीको विद्युत् पहुँच विस्तारको पुरानो आधार हो । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका अनुसार प्रदेशमा २०९ वटा साना तथा लघु जलविद्युत् आयोजनाबाट ६ हजार ७१९ किलोवाट विद्युत् उत्पादन भइरहेको छ र ६४ हजार २३१ घरधुरी लाभान्वित छन् । २३ वटा सौर्य मिनीग्रिडबाट १ हजार ७०९ किलोवाट उत्पादन भई ५ हजार ३९१ घरधुरी लाभान्वित भएका छन् ।
पहुँच विस्तारसँगै कर्णालीको अर्को तथ्यांक भने निकै कमजोर छ । आर्थिक सर्वेक्षण २०८२/८३ अनुसार २०८२ फागुनसम्म वैकल्पिक ऊर्जाबाट उत्पादित बिजुलीबाहेक कर्णालीको जडित विद्युत् उत्पादन क्षमता १५ मेगावाट मात्रै छ । सोही समयमा बागमतीमा १ हजार ६९८ मेगावाट, गण्डकीमा १ हजार १८० मेगावाट, कोशीमा ७९७ मेगावाट र सुदूरपश्चिममा १६९ मेगावाट क्षमता पुगेको छ ।
आयोजना छन् तर निर्माण गति सुस्त
कर्णालीमा निर्माण अनुमति, अध्ययन, वित्तीय व्यवस्थापन र प्रारम्भिक निर्माण गरी विभिन्न चरणमा रहेका आयोजनाको क्षमता करिब १० हजार मेगावाट रहेको जलस्रोत तथा उर्जा विकास मन्त्रालयका सूचना अधिकारी सागर आचार्य बताउँछन् । निर्माण अनुमति पाएका १७ जलविद्युत् तथा सौर्य आयोजनाको क्षमता ९२४ मेगावाट छ । अध्ययन पूरा गरी निर्माण अनुमति मागिएका नौ आयोजनाको क्षमता २ हजार ४९१ मेगावाट छ । सरकारबाट अध्ययन सम्पन्न भएका छ आयोजनाको क्षमता १५४ मेगावाट र अध्ययन भइरहेका १० आयोजनाको क्षमता २ हजार ३६ मेगावाट छ ।
९०० मेगावाटको माथिल्लो कर्णाली लामो समयदेखि लगानी जुटाउने चरणमै छ । ४१७ मेगावाटको नलगाडमा डीपीआर बने पनि लगानीको टुंगो नलाग्दा काम रोकिएको छ । नलगाडका साइट इन्जिनियर पदम थापाका अनुसार ‘लगानी जुटाउन नसक्दा आयोजना अलपत्र परेको हो,’ उनले भने, ‘आयोजनाको लागत करिब १ खर्ब २३ अर्ब रुपैयाँ पुग्ने अनुमान छ ।’
नलगाडमा जापानी सहयोग नियोग (जाइका) ले लगानीमा चासो देखाए पनि केही सर्तका विषयमा सहमति नजुट्दा प्रक्रिया अघि बढ्न नसकेको थापाले बताएका छन् । ‘जाइका लगानी गर्न तयार भए पनि उसका केही सर्तहरु रहेछन्,’ उनले भने, ‘त्यसमा छलफल भएर कुरा अगाडि बढेकै छैन । ’
फुकोट कर्णालीको अवस्था पनि यस्तै छ । करिब ४८० मेगावाट क्षमताको आयोजनाको लागत ९२ अर्ब रुपैयाँभन्दा बढी अनुमान गरिएको छ । आयोजनामा लगानी र विकास संरचनाको विषय लामो समयदेखि विवादमा छ ।
कर्णालीमा सर्वेक्षण अनुमति लिएका आयोजना मात्र ५६ वटा छन् । तर अनुमति लिएर बसेका सबै आयोजना निर्माणमा जाने निश्चित छैन ।
ठूला आयोजना निर्माणमा गएपछि अर्को चुनौती प्रसारण संरचना हुनेछ । तिला–२ बाट उत्पादित विद्युत् राष्ट्रिय प्रणालीमा जोड्न प्रसारण संरचना आवश्यक छ । माथिल्लो कर्णाली, बेतन कर्णाली, नलगाड, फुकोट कर्णाली र मुगु क्षेत्रमा एकैपटक ठूलो उत्पादन क्षमता थपिँदा ती आयोजनाबाट उत्पादित बिजुलीलाई राष्ट्रिय ग्रिडमा ल्याउने सबस्टेसन र उच्च क्षमताका प्रसारण लाइन समयमै निर्माण गर्नुपर्ने हुन्छ ।
सरकारले कर्णालीमा नियमित विद्युत् आपूर्तिका लागि कोहलपुर–सुर्खेत–दैलेख–जुम्ला १३२ केभी प्रसारण लाइनलगायतका पूर्वाधारलाई अघि बढाउने नीति लिएको छ ।
जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयले आर्थिक वर्ष २०८२/८३ मा करिब ३ अर्ब ८३ करोड रुपैयाँ बजेट पाएकोमा करिब २ अर्ब ९१ करोड रुपैयाँ खर्च गरेको थियो अर्थात् करिब ७६ प्रतिशत खर्च गरेको छ । तर ‘कर्णाली उज्यालो’जस्ता कार्यक्रमका लागि विगतमा विनियोजित रकमसमेत पूर्ण रुपमा खर्च हुन नसकेकाले पूर्वाधार निर्माणमा बजेट मात्र पर्याप्त नभएको सरोकारवाला बताउँछन् ।