

भाद्र २९,
सुर्खेतः दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना हुने मिति फेरि तोकिएको छ । पटक–पटक मिति घोषणा भएर पनि प्रतियोगिता हुन नसकेको पृष्ठभूमिमा सरकारले आगामी मङ्सिर १६ देखि २७ गतेसम्म कर्णालीमा राष्ट्रिय खेलकुद आयोजना गर्ने निर्णय गरेको हो ।
नयाँ मिति सार्वजनिक भएसँगै कर्णालीमा प्रतियोगिता हुने आशा फेरि जागेको छ । तर, यसअघिका अनुभवका कारण घोषणा गरिएको मितिमै प्रतियोगिता हुन्छ भन्नेमा खेलाडी, खेलकर्मी र सरोकारवालाको विश्वास भने पूर्ण रूपमा फर्किसकेको छैन । यसपटक पनि प्रतियोगिताको सफल आयोजनाका लागि पूर्वाधार, बजेट, खेलस्थल, आवास तथा व्यवस्थापकीय तयारी मुख्य चुनौतीका रूपमा छन् ।
शिक्षा तथा खेलकुद मन्त्रालयले शुक्रबार जारी गरेको सूचनामार्फत मङ्सिर १६ देखि २७ गतेसम्म प्रतियोगिता सञ्चालन गर्ने जानकारी दिएको हो । राष्ट्रिय खेलकुद परिषद्को १२५ औँ बोर्ड बैठकको सिफारिसका आधारमा मन्त्रालयले मिति निर्धारण गरेको जनाएको छ । प्रतियोगिता सुर्खेतलाई मुख्य केन्द्र बनाएर कर्णालीका विभिन्न जिल्लामा सञ्चालन गर्ने तयारी छ ।
मन्त्रालयका प्रवक्ता एवं सहसचिव श्रीप्रसाद भट्टराईले प्रतियोगिताका लागि आवश्यक तयारी अघि बढाउन प्रदेश सरकार, स्थानीय तह र सम्बन्धित सरोकारवालालाई आग्रह गरेका छन् ।
तर, कर्णालीले दशौँ राष्ट्रिय खेलकुदको आयोजना अधिकार पाएको चार वर्षभन्दा बढी समय बितिसक्दा पनि प्रतियोगिता भने हुन सकेको छैन । गण्डकी प्रदेशमा २०७९ असोज २८ देखि कात्तिक ३ गतेसम्म नवौँ राष्ट्रिय खेलकुद सम्पन्न भएपछि दशौँ संस्करण कर्णालीमा गर्ने निर्णय भएको थियो ।
त्यसपछि प्रतियोगिताका लागि एकपछि अर्को मिति तोकिए । सुरुमा २०८१ मङ्सिर २ देखि ९ गतेसम्म आयोजना गर्ने भनियो । तयारी पूरा नभएपछि मिति सारियो । राखेपको ११८ औँ बोर्ड बैठकले २०८१ चैत २३ देखि ३० गतेसम्म नयाँ मिति तोक्यो । त्यो मिति पनि कार्यान्वयनमा आएन ।
त्यसपछि १२१ औँ बोर्ड बैठकले २०८२ जेठ ३ देखि १० गतेसम्म प्रतियोगिता गर्ने निर्णय गर्यो । पूर्वाधार, आर्थिक स्रोत र व्यवस्थापनको तयारी पूरा हुन नसक्दा उक्त मिति पनि गुज्रियो । अन्ततः २०८२ चैत २९ गते बसेको राखेपको १२२ औँ बोर्ड बैठकले तत्कालका लागि प्रतियोगिता स्थगित गर्ने निर्णय गरेको थियो ।
पछि राखेपको १२३ औँ बोर्ड बैठकले २०८२ फागुन १ देखि ७ गतेसम्म आयोजना गर्ने निर्णय गर्यो । तर, मन्त्रिपरिषद्बाट उक्त मिति स्वीकृत हुन सकेन । त्यसपछि १२५ औँ बोर्ड बैठकले मङ्सिर १६ देखि २९ गतेसम्म प्रतियोगिता सञ्चालन गर्ने प्रस्ताव गरेको थियो । मन्त्रालयले त्यसलाई संशोधन गर्दै मङ्सिर १६ देखि २७ गतेसम्मको अवधि कायम गरेको हो ।
पूर्वाधार र बजेटको परीक्षा
कर्णालीमा प्रतियोगिता आयोजना गर्ने तयारी अघि बढे पनि मुख्य प्रश्न पूर्वाधार र आर्थिक व्यवस्थापनकै छ । यसअघि पनि खेलस्थल निर्माण तथा स्तरोन्नति, आवश्यक बजेट, खेलाडी र प्रशिक्षकको व्यवस्थापनलगायतका विषय समयमा टुङ्गो लाग्न नसक्दा प्रतियोगिताका घोषित मिति प्रभावित भएका थिए ।
संघीय सरकार र प्रदेश सरकारबीच प्रतियोगिताको तयारी तथा बजेटको जिम्मेवारीका विषयमा समेत पटक–पटक प्रश्न उठेको थियो । प्रदेश सरकारका पूर्वमुख्यमन्त्री यामलाल कँडेलले संघीय सरकारले आवश्यक तयारीमा ढिलाइ गरेको भन्दै असन्तुष्टि जनाउँदै आएका थिए ।
अन्तरिम सरकारका युवा तथा खेलकुद मन्त्री बब्लु गुप्तासहितको टोलीसँग भएको छलफलमा समेत कँडेलले तयारी नगरी मिति मात्र घोषणा गर्ने प्रवृत्तिप्रति प्रश्न उठाएका थिए । कर्णालीमा प्रतियोगिता आयोजना गर्न प्रदेश सरकार तयार रहेको बताउँदै उनले उद्घाटन कर्णालीमा गरेर खेल अन्य प्रदेशमा सञ्चालन गर्ने विकल्प स्वीकार्य नहुने धारणा राखेका थिए ।
हाल कर्णाली सरकारको नेतृत्व नेकपाका मङ्गलबहादुर शाहीले गरिरहेका छन् ।
३१ खेलको तयारी
दशौँ राष्ट्रिय खेलकुदअन्तर्गत कर्णालीमा ३१ खेल सञ्चालन गर्ने प्रस्ताव गरिएको छ । एथलेटिक्स, कुस्ती, ब्याडमिन्टन, कबड्डी, बक्सिङ, कराते, बास्केटबल, फुल कन्ट्याक्ट कराते, शारीरिक सुगठन, आईटीएफ तेक्वान्दो, क्रिकेट, टेबल टेनिस, फुटबल, बुद्धिचाल, ह्यान्डबल, हक्की, जुडो, ई–स्पोर्ट्स, खो–खो, स्क्वास, रग्बी, सुटिङ, पौडी, साइकलिङ, तेक्वान्दो, टेनिस, भलिबल, आर्चरी, उसु, जिम्न्यास्टिक र भारोत्तोलन समावेश छन् ।
कबड्डी, बास्केटबल, क्रिकेट, फुटबल, ह्यान्डबल, हक्की, खो–खो, रग्बी र भलिबल महिला तथा पुरुष दुवै विधामा सञ्चालन हुने प्रस्ताव छ । प्रदर्शनी खेल भने सह–आयोजक प्रदेशबाट आउने सिफारिसका आधारमा थप गर्न सकिने जनाइएको छ ।
खेलाडीलाई मिति होइन, प्रतियोगिता चाहिएको छ
राष्ट्रिय खेलकुदको मिति पटक–पटक परिवर्तन हुँदा सबैभन्दा बढी असर खेलाडीलाई परेको छ । प्रतियोगितालाई लक्ष्य बनाएर लामो समय अभ्यास गर्ने, अन्य अवसर छाड्ने र अन्तिम समयमा प्रतियोगिता स्थगित हुने अवस्थाले खेलाडीमा निराशा बढाएको खेलाडीहरू बताउँछन् ।
कर्णालीका अन्तर्राष्ट्रिय खेलाडी प्रवीण क्षेत्रीका अनुसार दशौँ राष्ट्रिय खेलकुदको पर्खाइमा रहेका कतिपय खेलाडीले अन्य अवसरसमेत गुमाएका छन् ।
‘बाहिर पढ्न जाने विद्यार्थीहरू दशौँ राष्ट्रिय खेलकुदका लागि कुरेर बसेका थिए । तर, पटकपटक स्थगित हुँदा उनीहरू न विदेश जान पाए, न दशौँ राष्ट्रिय खेलकुद खेल्न नै पाए,’ उनले भने ।
यसपटक भने मन्त्रालयबाटै प्रतियोगिता सञ्चालन हुने औपचारिक सूचना आएकाले केही आशा बढेको क्षेत्री बताउँछन् । उनका अनुसार अब पनि प्रतियोगिता स्थगित भए त्यसको प्रत्यक्ष असर खेलाडीको तयारी र भविष्यमा पर्नेछ ।
‘यसपटक मन्त्रालयले नै खेल हुने भनेर सूचना जारी गरिसकेको छ । त्यसैले केही विश्वास पलाएको छ,’ उनले भने, ‘अब तोकिएको मितिमा प्रतियोगिता हुनुपर्छ ।’
आवासको समस्या देखाएर मिति सार्न नहुने व्यवसायीको भनाइ
प्रतियोगितामा सहभागी खेलाडी, प्रशिक्षक तथा पाहुनाका लागि सुर्खेतमा पर्याप्त आवास नहुने चर्चा पनि हुने गरेको छ । तर, होटल व्यवसायीहरू भने उपलब्ध पूर्वाधारलाई व्यवस्थापन गरेर प्रतियोगिता सञ्चालन गर्न सकिने बताउँछन् ।
होटल व्यवसायी पदमबहादुर शाहीले नयाँ होटल थपिएपछि मात्र प्रतियोगिता आयोजना गर्ने हो भने लामो समय लाग्ने भन्दै अहिले सञ्चालनमा रहेका होटल, रेस्टुरेन्ट तथा होमस्टेसँग सहकार्य गर्नुपर्ने बताए ।
‘सुर्खेतमा होटल पर्याप्त भएपछि मात्रै प्रतियोगिता गरौँला भन्ने हो भने त १० वर्ष लाग्न सक्छ । अहिले जति होटल छन्, तिनैसँग सहकार्य गरेर व्यवस्थापन गर्न सकिन्छ,’ उनले भने ।
प्रतियोगिता आयोजना हुँदा सुर्खेतसहित कर्णालीको आर्थिक गतिविधिमा समेत सकारात्मक प्रभाव पर्ने उनको भनाइ छ । अबको चुनौती घोषणा गरिएको मिति फेरि परिवर्तन नहोस् भन्ने मात्र होइन, प्रतियोगिताका लागि आवश्यक सम्पूर्ण तयारी समयमै पूरा गर्नु पनि हो । दशौँ राष्ट्रिय खेलकुद कर्णालीमा गर्ने निर्णय पुरानो भइसकेकाले अब मिति घोषणा गरेर मात्र पुग्ने अवस्था छैन ।
दशौँ राष्ट्रिय खेलकुद कार्यसम्पादन समितिका सचिव फणिन्द्र पौडेल भने यसपटक तोकिएकै मितिमा प्रतियोगिता सम्पन्न गर्ने गरी तयारी अघि बढेको बताउँछन् ।
‘अब रोकिने कारण छैन । तोकिएको मितिमै प्रतियोगिता सम्पन्न गर्ने गरी तयारी अघि बढेको छ,’ पौडेलले भने, ‘हामीले त्यहीअनुसार काम अगाडि बढाएका छौँ ।’ अब कर्णालीको खेल क्षेत्रले खोजेको जवाफ मिति घोषणाले होइन, मङ्सिर १६ गते प्रतियोगिता सुरु भएपछि मात्रै दिनेछ ।