
भाद्र २५,
डोल्पा : जिल्लाको विकास, सुशासन, सामाजिक रूपान्तरण र नागरिकका सवाललाई तीन दशकभन्दा लामो समयदेखि निरन्तर उठाउँदै आएका वरिष्ठ पत्रकार विष्णुप्रसाद देवकोटा सम्मानित भएका छन्।
ऋतम्भरा मिडिया प्रालि त्रिपुराकोटद्वारा सञ्चालित डोल्पान्युज अनलाइनका प्रकाशक तथा सम्पादक एवं एभिन्युज टेलिभिजनका डोल्पा संवाददाता देवकोटालाई ठुलिभेरी नगरपालिका–७ जुफाल वडा कार्यालयले विशेष कार्यक्रमबीच दोसल्ला ओढाएर प्रमाणपत्रसहित सम्मान गरेको हो।
पत्रकारितामा ३१ वर्षदेखि निरन्तर सक्रिय देवकोटा जिल्लाको विकास र समृद्धिका पक्षमा आवाज उठाउनुका साथै अनियमितता, बेथिति र विसंगतिविरुद्ध निर्भीक रूपमा कलम चलाउँदै आएका छन्। उनको पत्रकारिता योगदानको कदर गर्दै यसअघि उनी राष्ट्रियस्तरका भूषण पत्रकारिता पुरस्कार र द्वावन्द पत्रकारिता पुरस्कारबाट समेत सम्मानित भइसकेका छन्।
देवकोटालाई ठुलिभेरीनगरप्रमुख सुवर्ण कुमार बुढा ठुलिभेरी नगरपालिका–७ का वडाध्यक्ष ध्रुवविक्रम शाही प्रमुख प्रशासकीय अधिकृत नारायणदत्त उपाध्यायले सम्मान गरेका हुन्।नगद दाेसल्ला र प्रमाणपत्र सहित सम्मान गरिएकाे थियाे ।
सम्मान कार्यक्रममा बोल्दै नगरप्रमुख बुढा र वडाध्यक्ष शाहीले डोल्पाको पत्रकारिताका अग्रजलाई सम्मान गर्न पाउँदा खुसी लागेको बताउँदै पत्रकारिताले समाजका विकृति, विसंगति र बेथितिविरुद्ध निरन्तर खबरदारी गरिरहेकाले यस्तो सम्मानले पत्रकारलाई अझ जिम्मेवार भएर कलम चलाउन थप ऊर्जा दिने बताए।
कार्यक्रममा देवकोटासँगै वडा क्षेत्रभित्र उत्कृष्ट सेवा प्रवाह गर्ने १४ जना र राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम ,कार्यक्रम कार्यान्वयन इकाई प्रमुख गाेविन्द बहादुर मल्ल समिटएयरका पुर्णजङग शाही सहितका राष्ट्रसेवक कर्मचारीलाई समेत सम्मान गरिएको थियो।

आलोचना सहने संस्कार पनि चाहिन्छ :
डोल्पामा पत्रकारले प्रश्न गर्दा असहज मान्नेहरू धेरै छन्। जनप्रतिनिधि हुन् वा सरकारी निकाय—आफ्ना कमजोरी औंल्याउँदा आलोचना ठान्ने प्रवृत्ति अझै छ। तर प्रश्न गर्ने कलमलाई सम्मान गर्न सक्नु लोकतान्त्रिक संस्कारको सुन्दर पक्ष हो।
जिल्लास्तरमा विशेष कार्यक्रम आयोजना गरेर स्थानीय तहले पत्रकारलाई सम्मान गरेको यो पहिलोपटक भएको बताइएको छ। त्यसैले जुफाल वडा कार्यालयको यो कदम केवल एक जना पत्रकारको सम्मानमा सीमित छैन, योगदानको कदर गर्ने र आलोचनालाई सुधारको अवसरका रूपमा स्वीकार गर्ने संस्कारको सुरुवात पनि हो।
जुफालले सुरु गरेको यो सकारात्मक अभ्यासलाई डोल्पाका अन्य स्थानीय तह, जनप्रतिनिधि र सरकारी कार्यालयहरूले पनि अनुसरण गर्न सके पत्रकारिता अझ जिम्मेवार, सार्वजनिक निकाय अझ जवाफदेही र समाज अझ समुन्नत बन्ने अपेक्षा गर्न सकिन्छ। किनकि पत्रकारलाई सम्मान गर्नु भनेको व्यक्तिलाई मात्र सम्मान गर्नु होइन—सत्य बोल्ने कलम, नागरिकको आवाज र लोकतन्त्रको पहरेदारीलाई सम्मान गर्नु हो