“जहाँ गुञ्जिन्थ्यो हरिकृतन, त्यहीँ फेरि राधा–कृष्ण विराजमान”

जैतुन अनलाइन | २०८३ भाद्र २१ गते आइतवार

भदौ २१,

डोल्पा : डोल्पाको पवित्र धार्मिकस्थल बाला त्रिपुरा सुन्दरी भगवती मन्दिर परिसरमा राधा–कृष्णको मूर्ति स्थापना गरिएको छ। श्रीकृष्ण जन्माष्टमीको अवसर पारेर भदौ १९ गते राधा–कृष्णको मूर्ति स्थापना गरिएको हो। भारतको मुरादावादबाट करिब साढे दुई लाख रुपैयाँभन्दा बढी मूल्य पर्ने राधा–कृष्णको मूर्ति खरिद गरी ल्याएर मन्दिर परिसरमा पहिलोपटक स्थापना गरिएको बाला त्रिपुरा सुन्दरी मन्दिर अक्षयकोषले जनाएको छ।

स्थानीय धार्मिक इतिहाससँग जोडिएको यस स्थानमा विगतमा हरिकृतनको मन्दिर रहेको बताइन्छ। सयौँ वर्षअघि धार्मिक भजन–कीर्तन तथा हरिकृतन हुने गरेको स्थानमा समयक्रमसँगै पुरानो मन्दिर जीर्ण भएपछि पुनर्निर्माण गरिएको थियो। पुनर्निर्माणपश्चात् सोही ऐतिहासिक स्थानमा पहिलोपटक राधा–कृष्णको मूर्ति स्थापना गरिएको हो।

राधा–कृष्णको मूर्ति स्थापनाका लागि मन्दिरको अक्षयकोषमा देश तथा विदेशमा रहेका भक्तजनहरूले नगद सहयोग गरेका छन्। मूर्ति खरिद तथा स्थापना कार्यमा भएको सम्पूर्ण खर्च र प्राप्त सहयोग रकमको विवरण केही दिनभित्र सार्वजनिक गरिने बाला त्रिपुरा सुन्दरी मन्दिर अक्षयकोषका अध्यक्ष लक्ष्मीकान्त उपाध्यायले जानकारी दिए।

उनका अनुसार बाला त्रिपुरा सुन्दरी माताको मन्दिर परिसरमै राधा–कृष्णको मूर्ति स्थापना भएपछि भक्तजनलाई पूजा तथा दर्शन गर्न थप सहज हुने विश्वास गरिएको छ।“माताको मन्दिर परिसरमै राधा–कृष्णको मूर्ति स्थापना भएपछि भक्तजनलाई पूजा–दर्शन गर्न सहज हुनेछ। राधा–कृष्णप्रतिको आस्था र विश्वाससँगै भक्तजनका मनोकामना पूरा हुनेमा हामी विश्वस्त छौँ,” अध्यक्ष उपाध्यायले भने।

पुरानो धार्मिक थलोमा नयाँ आस्थाको अध्याय

बाला त्रिपुरा सुन्दरी भगवती मन्दिर आफैँमा डोल्पाको धार्मिक आस्था, इतिहास र संस्कृतिको महत्वपूर्ण केन्द्रका रूपमा चिनिन्छ। त्यही परिसरमा सयौँ वर्ष पुरानो हरिकृतनको स्मृतिसँग जोडिएको स्थानमा राधा–कृष्णको मूर्ति स्थापना भएपछि पुरानो धार्मिक परम्परा र नयाँ पुस्ताको आस्थाबीचको सम्बन्धलाई अझ बलियो बनाउने अपेक्षा गरिएको छ।

श्रीकृष्ण जन्माष्टमीको पावन अवसरमा स्थापना गरिएको राधा–कृष्णको मूर्तिले मन्दिर परिसरको धार्मिक महत्त्व थप बढाउनुका साथै डोल्पाको धार्मिक पर्यटनमा समेत नयाँ आकर्षण थप्ने विश्वास गरिएको छ।

यसरी बाला त्रिपुरा सुन्दरी माताको आँगनमा शक्ति र भक्तिको परम्परासँग राधा–कृष्णको प्रेम, भक्ति र समर्पणको प्रतीक जोडिएको छ। पुरानो हरिकृतनको सम्झना बोकेको ऐतिहासिक थलोमा स्थापित नयाँ मूर्तिले त्रिपुराकोटको धार्मिक इतिहासमा अर्को अध्याय थपेको छ।  श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञ धनधान्यचल,पितृमोक्ष,शालग्राम पुजार्चना तथा श्रृङ्गारिक महाआरती-२०८३ को पावन अवसरमा राधा कृष्णको मुर्ति स्थापना गरिएको हो ।