रसुवा बाढीको आर्थिक धक्काः ४४ अर्बभन्दा बढी लगानी जोखिममा

साझा कर्णाली | २०८३ भाद्र १९ गते शुक्रवार

नुवाकोट, १० भदौः
ढुङ्गेबजारस्थित त्रिशूली नदी आसपासको प्रभावित क्षेत्र
रसुवाको कोटेकोशी नदीमा आएको बाढीका कारण नुवाकोट जिल्लाको विदुर नगरपालिका वडा नं १ ढुङ्गेबजारस्थित त्रिशूली नदी आसपासको प्रभावित क्षेत्र । तस्बिरः रामहरि न्यौपाने/रासस

भदौ १९,

रसुवाः रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीले मानवीय क्षतिसँगै मुलुकको अर्थतन्त्रमा समेत दीर्घकालीन असर पार्ने देखिएको छ । तत्कालीन राहत र उद्धार सकिएपछि पनि बाढीले तहसनहस पारेका पूर्वाधार, व्यवसाय र उत्पादन प्रणालीलाई पुरानै अवस्थामा फर्काउन लामो समय लाग्ने देखिन्छ ।

बाढीले रसुवा र नुवाकोटमा सञ्चालनमा रहेका बैंकका शाखादेखि जलविद्युत् तथा सौर्य ऊर्जा आयोजनासम्म प्रभावित बनाएको छ । १२ वटा बैंकका १७ शाखा कार्यालय, ११ वटा जलविद्युत् आयोजना र एउटा सौर्य ऊर्जा परियोजना बाढीको चपेटामा परेका छन् । क्षतिको विस्तृत मूल्यांकन हुन बाँकी रहे पनि समग्र आर्थिक नोक्सानी अर्बमा सीमित नरहने देखिएको छ ।

पर्यटन क्षेत्रले मात्रै ५० अर्ब रुपैयाँभन्दा बढी क्षति बेहोरेको प्रारम्भिक अनुमान गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार १४२ वटा होटल तथा ५७ वटा साना रेस्टुरेन्ट तथा खाजाघर बाढीबाट प्रभावित वा पूर्ण रूपमा बगेका छन् ।

लाङटाङ, गोसाइँकुण्ड, धुन्चे, स्फ्रुबेँसी र बेत्रावतीजस्ता पर्यटनका प्रमुख क्षेत्र बाढीबाट नराम्ररी प्रभावित भएका छन् । पर्यटन पूर्वाधारमा परेको क्षतिले आगामी दिनमा पर्यटक आगमन र स्थानीय व्यवसायमा समेत असर पर्ने मन्त्रालयको आकलन छ ।

तर बाढीको अर्को ठूलो आर्थिक जोखिम बैंक तथा वित्तीय संस्थाले गरेको लगानीमा देखिएको छ । होटल, रेस्टुरेन्ट, आवासीय संरचना, व्यापारिक प्रतिष्ठान र जलविद्युत् आयोजनामा बैंकले गरेको ठूलो कर्जा लगानी अहिले जोखिममा परेको छ । बाढीले परियोजना र व्यवसाय नै क्षतिग्रस्त बनाएपछि ऋण असुलीमा समेत चुनौती थपिएको छ ।

जलविद्युत् क्षेत्रमा ६० अर्बभन्दा बढीको क्षतिको अनुमान

भोटेकोशी बाढीबाट जलविद्युत् क्षेत्रमा मात्रै ६० अर्ब रुपैयाँभन्दा बढी क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ । रसुवा र नुवाकोटमा सञ्चालनमा रहेका तथा निर्माणाधीन ११ जलविद्युत् आयोजना र २५ मेगावाट क्षमताको एउटा सौर्य ऊर्जा आयोजना बाढीबाट प्रभावित भएका छन् ।

नियमित विद्युत् उत्पादन गरिरहेका आयोजनाको कुल क्षमता २८१ मेगावाट रहेको बताइएको छ । प्रतिमेगावाट औसत २० करोड रुपैयाँ लागत मान्दा सञ्चालनमा रहेका यी आयोजनामै ५६ अर्ब रुपैयाँभन्दा बढीको क्षति पुग्ने अनुमान छ ।

निर्माणाधीन आयोजना र सौर्य परियोजनाको क्षतिसमेत जोड्दा नोक्सानी अझ बढ्ने स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल ९इप्पान० का निवर्तमान अध्यक्ष एवं ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्रीका सल्लाहकार गणेश कार्की बताउँछन् ।

उनका अनुसार अहिले नै कुन आयोजनामा कति क्षति भयो भनेर ठ्याक्कै भन्न सकिने अवस्था छैन । कतिपय आयोजनामा मेसिनरी मात्रै बगेको हुन सक्छ भने कतै पावरहाउस, टनेल तथा अन्य संरचना नै पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् ।

‘कुन परियोजनामा कति क्षति भयो भन्ने विस्तृत विवरण आउन अझै समय लाग्छ । सबै आयोजनाको स्थलगत निरीक्षण गर्न सकिएको छैन । निर्माणाधीन र सञ्चालनमा रहेका आयोजनाको क्षतिको प्रकृति पनि फरक छ,’ कार्कीले भने ।

उनका अनुसार प्रतिमेगावाट १८ देखि २० करोड रुपैयाँका दरले अनुमान गर्दा जलविद्युत् क्षेत्रमा भएको क्षति ६० अर्ब रुपैयाँभन्दा माथि पुग्ने देखिन्छ ।

यी आयोजनामा बैंक तथा वित्तीय संस्थाको ठूलो कर्जा लगानी रहेको छ । कुल लगानीमध्ये करिब ७० प्रतिशत बैंक तथा वित्तीय संस्थाबाट आएको अनुपातलाई आधार मान्दा क्षतिग्रस्त आयोजनामा बैंकको जोखिम मात्रै ४२ अर्ब रुपैयाँभन्दा बढी हुन सक्ने अनुमान छ ।

तर सबै आयोजना पूर्ण रूपमा नष्ट भएका छन् वा छैनन् र कुन आयोजना पुनः सञ्चालनमा आउन सक्छ भन्ने विषय स्पष्ट भएपछि मात्रै वास्तविक लगानी क्षतिको हिसाब गर्न सकिने इप्पानका अध्यक्ष मोहन डाँगी बताउँछन् ।

‘हामी अहिले आयोजना अनुसार लगानी, उत्पादन क्षमता र क्षतिको विवरण संकलन गरिरहेका छौँ । कुन आयोजनामा कति क्षति भयो र कति लगानी जोखिममा पर्‍यो भन्ने यकिन विवरण तयार हुन बाँकी छ,’ डाँगीले भने ।

बाढीका कारण आयोजनाको उत्पादन प्रभावित हुँदा त्यसको असर ऊर्जा आपूर्तिमा मात्रै पर्ने छैन । बैंकको कर्जा लगानी र बीमा कम्पनीले व्यहोर्नुपर्ने दाबी भुक्तानीको दायित्वसमेत बढ्ने देखिएको छ ।

बीमा कम्पनीमा २५ अर्ब ५८ करोडभन्दा बढीको दाबी

बाढी गएको एक सातामै बीमा कम्पनीहरूमा ठूलो रकमको क्षतिपूर्ति माग दाबी परेको छ । नेपाल बीमा प्राधिकरणका अनुसार भोटेकोशी बाढीबाट भएको क्षतिका लागि ५८३ वटा दाबी परेको छ । ती दाबीको कुल रकम २५ अर्ब ५८ करोड ७ लाख ३५ हजार रुपैयाँ पुगेको छ ।

सबैभन्दा ठूलो दाबी द ओरियन्टल इन्स्योरेन्स कम्पनीमा परेको छ । उक्त कम्पनीमा १३ अर्ब ४ करोड २१ लाख रुपैयाँबराबरको क्षतिपूर्ति माग गरिएको छ ।

युनाइटेड अजोड इन्स्योरेन्समा ४ अर्ब ९७ करोड ४८ लाख रुपैयाँको दाबी परेको छ । त्यस्तै सानिमा जीआईसीमा २ अर्ब १० करोड २८ लाख, सिद्धार्थ प्रिमियरमा १ अर्ब ८८ करोड ७३ लाख र शिखर इन्स्योरेन्समा १ अर्ब ८७ करोड ५४ लाख रुपैयाँबराबरको दाबी परेको छ ।

अन्य बीमा कम्पनीहरूमा पनि लाखौँदेखि करोडौँ रुपैयाँसम्मका दाबी परेका छन् । प्रारम्भिक विवरणमा देखिएको रकमभन्दा वास्तविक क्षति मूल्यांकनपछि दाबीको रकम अझ बढ्न सक्ने अनुमान गरिएको छ ।

बीमा कम्पनीहरू यसअघि नै अघिल्लो भोटेकोशी बाढी र जेन–आन्दोलनसँग सम्बन्धित दाबी भुक्तानीको दबाबमा रहेका बेला पछिल्लो विपद्ले थप वित्तीय भार सिर्जना गरेको छ ।

नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक सुशील देव सुवेदीले दाबी भुक्तानी प्रक्रियालाई सकेसम्म छिटो र सहज बनाउने गरी काम भइरहेको बताएका छन् ।

अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले पनि बाढीबाट भएको क्षतिको बीमा दाबीको भुक्तानी प्रक्रिया सरल बनाउन सम्बन्धित कम्पनीहरूलाई निर्देशन दिएका छन् । मन्त्रिपरिषद्ले विशेष आर्थिक प्याकेजमार्फत क्षतिको मूल्यांकन छिटो गर्न सरल प्रक्रियाबाट सर्भेयर परिचालन गर्न सकिने व्यवस्था गर्ने निर्णयसमेत गरेको छ ।

सरकारले प्रारम्भिक मूल्यांकन प्रतिवेदनका आधारमा बीमितलाई अधिकतम ५० प्रतिशतसम्म अग्रिम दाबी भुक्तानी उपलब्ध गराउने व्यवस्था गर्ने जनाएको छ । पुनर्बीमा कम्पनीले पनि बीमा कम्पनीलाई अधिकतम ५० प्रतिशतसम्म अग्रिम रकम उपलब्ध गराउन सक्ने व्यवस्था मिलाइने बताइएको छ ।

दाबी भुक्तानीलाई प्रभावकारी बनाउन बीमा कम्पनीहरूले छोटो र सरल दाबी भुक्तानी कार्यविधि तयार गरी लागू गर्ने सरकारको तयारी छ ।

बैंकको २ अर्ब ४२ करोडभन्दा बढी साना कर्जा पनि जोखिममा

बाढीले ठूला परियोजना मात्र होइन, स्थानीय स्तरमा बैंकहरूले गरेको साना तथा मझौला कर्जा लगानीलाई समेत जोखिममा पारेको छ ।

रसुवा र नुवाकोटमा रहेका १२ वटा बैंकका १७ शाखा कार्यालय बाढीमा परेका छन् । कृषि विकास बैंक, सिटिजन्स बैंक, ग्लोबल आईएमई बैंक, हिमालयन बैंक, लक्ष्मी सनराइज बैंक, माछापुच्छ्रे बैंक, नबिल बैंक, एनआईसी एशिया बैंक, नेपाल इन्भेस्टमेन्ट मेगा बैंक, एनएमबी बैंक, प्रभु बैंक र सानिमा बैंकका शाखा प्रभावित भएका हुन् ।

बाढीले बैंकका कार्यालय तथा भौतिक संरचना मात्र क्षतिग्रस्त बनाएन, कतिपय शाखाका नगद राखिएका भल्टसमेत बगाएको थियो । तीमध्ये केही भल्ट धादिङ र चितवनसम्म पुगेको विवरण सार्वजनिक भएको छ ।

बाढी प्रभावित बैंक शाखामा कार्यरत २६ कर्मचारीसमेत अझै बेपत्ता रहेको बताइएको छ ।

यस क्षेत्रमा बैंकहरूले साना तथा मझौला व्यवसाय, खुद्रा व्यापार, घर तथा घडेरीलगायत क्षेत्रमा गरेको कर्जा लगानी पनि जोखिममा परेको छ । राष्ट्र बैंकका अनुसार यस्तो लगानी २ अर्ब ४२ करोड ८० लाख ९० हजार रुपैयाँ रहेको छ ।

बाढीले व्यापारिक केन्द्र, बजार र बस्ती नै बगाएर ठूलो भूभागलाई बगरमा परिणत गरेपछि ती कर्जा असुलीमा चुनौती थपिएको हो ।

उपलब्ध तथ्यांकअनुसार कृषि विकास बैंकको मात्रै रसुवा र नुवाकोट क्षेत्रमा १ अर्ब ३७ करोड ७४ लाख रुपैयाँ लगानी रहेको छ । हिमालयन बैंकको पनि २९ करोड ७२ लाख रुपैयाँभन्दा बढी लगानी रहेको देखिन्छ ।

यसरी हेर्दा भोटेकोशी बाढीको असर उद्धार र राहतको चरणमा मात्र सीमित छैन । जलविद्युत्, पर्यटन, बैंकिङ र बीमा क्षेत्रमा परेको क्षतिले आगामी वर्षहरूसम्म नेपालको अर्थतन्त्रमा यसको प्रभाव रहन सक्ने देखिएको छ । क्षतिको पूर्ण विवरण आउन बाँकी रहेकाले वास्तविक आर्थिक भार प्रारम्भिक अनुमानभन्दा अझ ठूलो हुन सक्ने सम्भावना छ ।