

भदौ १९,
काठमाडौँः प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीलाई जलवायु परिवर्तनसँग जोड्दै यसबाट सिर्जित संकटको जवाफ विश्व समुदायसँग खोज्नुपर्ने बताएका छन् ।
बिहीबार सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै प्रधानमन्त्री शाहले हिमालय क्षेत्रमा जलवायु परिवर्तनको प्रभाव बढ्दै गएको र त्यसको असर नेपालमा प्रत्यक्ष देखिन थालेको उल्लेख गरेका छन् । उनका अनुसार हिमाल पग्लिने क्रम र बदलिँदो जलवायुको असर हिमाली क्षेत्रमा मात्र सीमित नभई समुद्री तटीय क्षेत्रसम्म पुगिरहेको छ ।
उनले लामो समयदेखि नेपालले विश्व समुदायलाई हिमालय क्षेत्रमा जलवायु परिवर्तनको जोखिमबारे सचेत गराउँदै आएको स्मरण गरेका छन् । आफूहरूले आशंका गरेको अवस्था अन्ततः रसुवाको भोटेकोशीमा ठूलो बाढीका रूपमा देखापरेको उनको भनाइ छ ।
प्रधानमन्त्री शाहले भोटेकोशीको घटनालाई नेपालले भोगेको गम्भीर त्रासदीका रूपमा व्याख्या गर्दै यसको जिम्मेवारी र समाधानका विषयमा अन्तर्राष्ट्रिय तहमा बहस आवश्यक रहेको बताएका छन् ।
उनका अनुसार जलवायु परिवर्तनबाट नेपालजस्ता मुलुकले ठूलो क्षति व्यहोर्नुपरे पनि त्यसमा उनीहरूको योगदान निकै न्यून छ । त्यसैले यस्तो विपद्को असरबारे विश्व समुदायले गम्भीर भएर सोच्नुपर्ने उनको धारणा छ ।
शाहले प्राकृतिक विपद् व्यवस्थापन आफैँमा जटिल चुनौती भएको भन्दै उपलब्ध स्रोत, साधन र जनशक्तिको अधिकतम प्रयोग गरेर सरकार उद्धार तथा राहतमा सक्रिय रहेको बताएका छन् । विपद्पछि प्रभावित नागरिकलाई सुरक्षित राख्न संघ, प्रदेश र स्थानीय तहबीच समन्वय गरेर काम भइरहेको उनले उल्लेख गरेका छन् ।
उनका अनुसार प्रभावित क्षेत्रमा विभिन्न होल्डिङ सेन्टर स्थापना गरी विस्थापित नागरिकलाई राखिएको छ । त्यहाँ खाद्यान्न, कपडा तथा दैनिक आवश्यकताका सामग्री उपलब्ध गराउने काम भइरहेको छ ।
नुवाकोटमा सञ्चालनमा रहेका २४ वटा होल्डिङ सेन्टरमा २ हजार ७ सय ९६ जना नागरिक बसिरहेका छन् । त्यस्तै रसुवामा पाँचवटा होल्डिङ सेन्टरमार्फत १ सय ९५ जनालाई राखिएको र काठमाडौंमा दुई स्थानमा केन्द्र सञ्चालन गरी रसुवाका प्रभावित क्षेत्रबाट आएका ३ सय जनालाई बसोबासको व्यवस्था मिलाइएको प्रधानमन्त्रीले बताएका छन् ।
दुर्गम तथा प्रभावित क्षेत्रमा राहत पुर्याउन हेलिकप्टरको प्रयोग भइरहेको छ । प्रधानमन्त्रीका अनुसार रसुवाका विभिन्न क्षेत्रमा दैनिक करिब ४ हजार ५ सय जनालाई हेलिकप्टरमार्फत राहत सामग्री पुर्याउने काम भइरहेको छ ।
स्थानीय तहसँग प्रत्यक्ष समन्वय
प्रधानमन्त्री शाहले बाढी आएलगत्तै प्रभावित जिल्लाका स्थानीय कर्मचारी तथा जनप्रतिनिधिसँग सम्पर्क गरी प्रारम्भिक अवस्थाबारे जानकारी लिइएको बताएका छन् । प्राप्त सूचनाका आधारमा उद्धार, राहत र अन्य प्रतिकार्य अघि बढाइएको उनको भनाइ छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट स्थानीय तहसँग निरन्तर समन्वय भइरहेको र स्थानीयस्तरबाट आएका समस्या तथा गुनासो सम्बोधन गर्ने प्रयास भइरहेको उनले उल्लेख गरेका छन् ।
बाढीपछि प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा गरिएको पनि उनले बताएका छन् । मन्त्रिपरिषद्को बैठकले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७४ को दफा ३२ अनुसार यस्तो निर्णय गरेको उनको भनाइ छ ।
भदौ ११ गते प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका क्रममा बागमती प्रदेशका मुख्यमन्त्रीसहितको टोलीसँग विपद् व्यवस्थापनका विषयमा छलफल गरिएको प्रधानमन्त्रीले बताएका छन् । त्यसपछि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले प्रदेश तथा स्थानीय तहका प्रतिनिधिसँग समन्वय गरी आ–आफ्नो जिम्मेवारी प्रभावकारी रूपमा पूरा गर्ने विषयमा छलफल गरेको उनले उल्लेख गरेका छन् ।
भत्किएका सडक र पूर्वाधार पुनर्निर्माणमा जोड
प्रधानमन्त्री शाहले बाढीबाट क्षतिग्रस्त सडक, विद्युत्, सञ्चारलगायतका पूर्वाधारलाई पुरानै अवस्थामा फर्काउने कामलाई पनि तीव्रता दिइएको बताएका छन् ।
उनका अनुसार प्रभावित क्षेत्रमा सञ्चार सेवा ९५ प्रतिशतभन्दा बढी पुनःस्थापित भइसकेको छ । विद्युत् सेवाबाट वञ्चित घरधुरीको संख्या पनि क्रमशः घटिरहेको र बाँकी क्षेत्रमा सेवा पुर्याउने काम भइरहेको उनले बताएका छन् ।
गल्छी–मुग्लिन सडकखण्डअन्तर्गत कृष्णभीरमा क्षतिग्रस्त सडक सञ्चालनमा ल्याउन ग्याबियन ब्रेस्ट वाल निर्माणको काम अघि बढाइएको छ । सवारीसाधन सञ्चालन गर्न मिल्ने गरी संरचना निर्माणसँगै रुख कटान र भित्ता काटेर सडकको ट्रयाक खोल्ने काम सुरु भएको प्रधानमन्त्रीले बताएका छन् ।
कृष्णभीरको समस्या दीर्घकालीन रूपमा समाधान गर्न भने टनेल, सोइल नेलिङ र सिट पाइलजस्ता विकल्पको अध्ययन गरिने उनको भनाइ छ । भदौभित्र उक्त सडकखण्डमा यातायात सञ्चालन गर्ने लक्ष्य सरकारले राखेको छ ।
परेवाभीरमा डाइभर्सन निर्माण गरी यातायात सञ्चालनमा ल्याइसकिएको छ । उक्त डाइभर्सनलाई थप व्यवस्थित बनाउने कामसमेत भइरहेको प्रधानमन्त्रीले बताएका छन् ।
त्रिशूली–बेत्रावती सडकखण्डमा पनि अवरोध हटाउने काम जारी छ । करिब १० किलोमिटर सडकमा जमेको लेदोमध्ये ८ किलोमिटर हटाइसकिएको र बाँकी दुई किलोमिटरमा काम भइरहेको उनले जानकारी दिएका छन् । थप क्षति पुगेको करिब ३५ किलोमिटर सडक मर्मतका लागि आपत्कालीन बोलपत्रसमेत आह्वान भइसकेको छ ।
बाढीका कारण क्षतिग्रस्त पुल तथा आवागमनका संरचना पुनःस्थापनालाई पनि प्राथमिकता दिइएको छ । तादीमा बेलिब्रिज राख्न फाउण्डेसन निर्माण सुरु भइसकेको र बेलिब्रिज तत्काल पुर्याउने तयारी भइरहेको प्रधानमन्त्रीले बताएका छन् ।
बेत्रावतीमा बेलिब्रिज जडानका लागि सर्वेक्षण सकेर फाउण्डेसन निर्माण अघि बढाइएको छ । त्रिशूलीमा पनि सर्वेक्षण सम्पन्न भइसकेको र त्यहाँ करिब १ सय २० मिटर लामो बेलिब्रिज आवश्यक देखिएको प्रधानमन्त्री शाहले बताएका छन् ।
उनका अनुसार क्षतिग्रस्त भौतिक संरचना पुनःनिर्माण गर्नु प्रभावित नागरिकलाई राहत दिनुजत्तिकै महत्वपूर्ण काम हो । सडक, पुल, विद्युत् र सञ्चार सेवा पुनः सञ्चालन भएपछि विस्थापित तथा प्रभावित नागरिकको दैनिकी सामान्य अवस्थामा फर्काउन सहज हुने सरकारको अपेक्षा छ ।
प्रधानमन्त्री शाहले भोटेकोशीको बाढीबाट उत्पन्न संकटलाई तत्कालीन उद्धार र राहतको विषयमा मात्र सीमित नराखी जलवायु परिवर्तनका कारण नेपालले भोग्नुपरेको जोखिमका रूपमा लिनुपर्ने बताएका छन् । नेपालले भोगेको क्षतिबाट विश्व समुदायले पनि सिक्नुपर्ने र जलवायु संकटको दीर्घकालीन समाधानका लागि अन्तर्राष्ट्रिय सहकार्य आवश्यक रहेको उनको जोड छ ।