

भदाै १३,
काठमाडौँः रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि विभिन्न क्षेत्रमा फेला परेका शवको सङ्ख्या ६ सय ६९ पुगेको छ । नेपाल प्रहरीले शनिबार अपराह्न ४ बजेसम्मको अद्यावधिक विवरण सार्वजनिक गर्दै बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्य जारी रहेको जनाएको छ ।
प्रहरीका अनुसार सबैभन्दा धेरै चितवनमा २ सय ४८ वटा शव फेला परेका छन् । त्यसपछि नवलपरासी पूर्वमा १ सय ५८ र नवलपरासी पश्चिममा ७५ वटा शव फेला परेका छन् ।
यस्तै गोरखामा ५४, धादिङमा ४९, नुवाकोटमा ४१, तनहुँमा ३१ र रसुवामा १३ वटा शव फेला परेको नेपाल प्रहरीले जनाएको छ ।
बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धारका लागि हालसम्म ४ हजार ८ सय ५४ जना प्रहरी कर्मचारी परिचालन गरिएको छ । विपद्को घटनापछि २७ जना प्रहरी कर्मचारी भने अझै सम्पर्कविहीन रहेका छन् ।
बाढीबाट प्रभावित भई घाइते भएका तथा उद्धार गरिएका व्यक्तिको सङ्ख्या २ हजार ३ सय ७१ पुगेको छ । उद्धार गरिएकामध्ये रसुवाका ६ सय ७६, नुवाकोटका १ हजार ६ सय २२ र धादिङका ३ जना रहेका छन् ।
यसैबीच, काठमाडौँ उपत्यकाका विभिन्न अस्पतालमा उपचाररत तथा उपचारपछि डिस्चार्ज भएका घाइतेको सङ्ख्या १ सय ४० पुगेको नेपाल प्रहरीले जनाएको छ । बाढी प्रभावित क्षेत्रमा खोज, उद्धार र राहत व्यवस्थापनको काम निरन्तर भइरहेको प्रहरीले जनाएको छ ।