भोटेकोशी बाढीपीडितका लागि कर्णाली कांग्रेस सांसदले २ लाख २५ हजार दिने

साझा कर्णाली | २०८३ भाद्र ११ गते बिहिवार

भदौ ११,

सुर्खेत: नेपाली कांग्रेस संसदीय दल कर्णाली प्रदेशले रसुवाको भोटेकोशीमा आएको बाढीबाट प्रभावितका लागि राहत, उद्धार तथा पुनःस्थापनामा सहयोग गर्ने निर्णय गरेको छ ।

कांग्रेस संसदीय दलको बिहीबार बसेको बैठकले संसदीय दलका प्रत्येक सदस्यबाट जनही १५ हजार रुपैयाँका दरले जम्मा हुने २ लाख २५ हजार रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको हो ।

बैठकले भोटेकोशी बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै मृतकप्रति श्रद्धाञ्जली र घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ । बाढीमा परेर घाइते भएकाहरूको उपचारको व्यवस्था मिलाउन तथा बेपत्ताको खोजीलाई तीव्रता दिन सरकारसहित सम्बन्धित सबै निकायसँग कांग्रेस संसदीय दलले आग्रह गरेको छ ।

त्यस्तै, बाढीपीडितको राहत, उद्धार र पुनःस्थापनालाई विशेष प्राथमिकतामा राखेर काम गर्न पनि सरकार र सरोकारवाला निकायलाई अपिल गरेको छ ।

कांग्रेस संसदीय दल कर्णालीले भोटेकोशी बाढीपीडितको राहत, उद्धार तथा पुनःस्थापनाका लागि कर्णाली प्रदेश सरकारले समेत आर्थिक सहायता उपलब्ध गराउनुपर्ने माग गरेको छ ।

रसुवाको भोटेकोशीमा आएको बाढीका कारण ठूलो जनधनको क्षति भएको भन्दै कर्णाली कांग्रेस संसदीय दलले विपद्को समयमा राज्यका सबै तह र निकायबीच प्रभावकारी समन्वय आवश्यक रहेको जनाएको छ ।